पोखरा ।
पोखराको निरमायाँ दोहोरी साँझ रेस्टुरेण्टले पहिरो पीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग गरेको छ । निरमायाँमै कार्यरत प्रशान्तलाई लमजुङ पुगेर आर्थिक सहयोग गरिएको हो ।
लम्जुङको राइनास नगरपालिका ५ लोस्से गाउँमा साउन ५ गते गएको पहिरोका कारण प्रशान्तको घर पूर्ण रुपमा क्षति भएपछि उनको दुखमा साथ दिन दोहोरी साँझ पुगेको हो । दोहोरीका सञ्चालक सँगै कर्मचारीले समेत आर्थिक सहयोग गरेको जानकारी गराइएको छ ।
दोहोरीका सञ्चालक सीम गुरुङ, किसन घले, हिरा पुन, जिवन गुरुङ, इन्द्रा पुन र सुरेन्द्र गुरुङबाट एकमुष्ट नगद २५ हजार रुपैयाँ सञ्चालक मध्येका पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीम गुरुङले तामाङलाई हस्तान्तरण गरे ।
यसैगरी दोहोरी साँझका कलाकारको तर्फबाट ५ हजार र कर्मचारी माया पुनबाट २ हजार प्राप्त रकम दोहोरी साँझका कलाकार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष टेक क्षेत्रीले हस्तान्तरण गरे । प्रतिष्ठान कास्कीले समेत ५ हजार सहयोग गरेको छ ।
पहिरोका कारण मानविय क्षति नभएको तर भौतिक संरचना भने पूर्ण रुपमा क्षति भएको गायक तामाङले जानकारी गराए । पीडित परिवारलाई नगरपालिकाले सहयोगको आश्वासन दिएको छ भने राष्ट्रिय युवा संघ सुन्दर बजार एकाईबाट खाद्यन्न, तामाङ घेदुङ महिला संघबाट १५ हजार, लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशबाट १० हजार, प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङबाट व्यक्तिगत ५ हजार, लोकदोहोरी गीत प्रतिष्ठान लम्जुङ लगायतका संस्था एंव व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको उनले बताए ।