मूल्यमा नयाँ रेकर्डसंगै सुन खरिद गर्नेभन्दा बेच्ने बढ्दै

पोखरा ।

सुखको गहना दुखको खजाना भनेर सुनलाई बुझिन्छ । अहिलेको समय सुन अधिकांश व्यक्तिको लागि खजाना बनिरहेको छ । यति बेला बजारमा सुनचादिको व्यवसायमा खरिद गर्नेभन्दा सुन बेच्नेको संख्या बढी छ । कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र प्रभावित हुँदा र अन्तर्राष्ट्रिय स्तरमा चीन र अमेरिकाको दबाबका कारण सुनको मुल्य निरन्तर उकालो लाग्दै गएको छ ।

बुधबार बजारमा छापावाला सुनको मूल्य प्रतितोलामा १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भयो । कोरोना संक्रमणको त्रासले उपभोक्ता बजारसम्म नपुग्दा र मूल्य आकाशिंदा सुनको कारोबार भने प्रत्यक्ष प्रभावित बनेको छ ।

प्राय जसो सुन चाँदी पसल अहिले खाली देखिएका छन् । अमेरिका र चीनको सम्बन्धले पनि सुनको मूल्य दिनप्रतिदिन उकालो लागिरहेको सुनचादी व्यवसायी संघ कास्कीका उपाध्यक्ष राजेशमान बुद्धाचार्य बताउँछन् । यसरी दिनप्रतिदिन सुनको भाउ बढिरहँदा व्यवसायमा नै समस्या आउने बुद्धाचार्यको भनाइ छ । ‘यतिबेला ग्राहकको लागि सुन खजना बनेको छ, लकडाउनको समयमा कारोबार र पैसाको चलखेल नहुँदा आफ्नो आर्थिक स्थिति सहज पार्न सुन बेच्न आउनुहुन्छ, तर यसरी बेच्न मात्र आउने बढी भयो भने हामी व्यवसायीलाई निकट भविष्यमा समस्या पर्ने सम्भावना देखिन्छ ।’ उनले भने ।

सुनको मुल्यमा यसरी नै वृद्धि हुने हो भने कति सुन व्यवसायी र यस व्यवसायमा आश्रित पलायन हुने सम्भावना रहेको उनी बताउँछन् ।
विश्व बजारको अवस्था र कोरोना कै कारण सुन्यको मुल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ । लकडाउनका कारण मान्छेको आवतजावत कम हुँदा पनि सुनको खरिद बिक्री प्रभाव परेको व्यवसायीको बताउँछन् । अन्य समय जस्तो तीज अगावै हुने चहलपहल बजारमा देखिएको छैन । सुन खरिद गर्नेभन्दा बिक्री गर्ने बढी भएको सुन व्यवसायी पुस्पमान बुद्धाचार्य बताउँछन् ।

‘सवारीसाधन राम्रोसँग चलेको छैन । बजारमा मान्छेको चहलपहल कम छ । आउने पनि बिक्री गर्न आउनुहुन्छ । तीजको रौनक अगावै हुने चहलपहल पनि कम छ ।’ उनले भने, ‘ तर यतिबेला सुन खरिद बिक्रीको सिजन भने अलि होइन आशा छ, बिहे र तीजको सिजन लागेलगत्तै ग्राहक किन्न आउनुहुन्छ ।’

लकडाउन खुलेपछि बजारमा सुनको मुल्य १० हजारले बढेको थियो । त्यसपछि बजारमा सुन खरिद भन्दा बिक्री गर्न आउनेको संख्या बढी छ । मुल्य बढेकै कारण कारोबार हुने समयमा समेत न्यून कारोबार भइहेको छ । यो समयमा सुनको मुल्य वृद्धि हुँदा बैकमा भएको सुन समेत प्रयोगमा आउन नसकि थुपरिएर बसेको र उपभोग समेत घटेको व्यवसायी बताउँछन् ।

कोरोनाको प्रभाव अन्तर्राष्ट्रिय बजारमा परेसँगै यसको प्रभाव नेपाली स्थानीय सुनचाँदीमा पनि परेको छ । स्थानीय बजारमा सुनको भाउ उकालो लागिरहेको छ । जसका कारण सुनचाँदीको खरिद बिक्रीमा उतारचढाव आएको व्यवसायी बताउँछन् ।

कमेन्टहरु
Loading...