देशका विभिन्न भागमा पूर्ण र आंशिक रुपमा निषेधाज्ञा जारी

पोखरा ।

नेपालमा लकडाउन खुलेसंगै कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्येनजर गर्दै सरकारले १४ जिल्लामा आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको छ । संक्रमित बढी भेटिएका तथा जोखिम रहेका जिल्ला स्याङ्जा सहित बाँके, बारा, पर्सा, सर्लाही, सप्तरीमा पूर्ण रुपमा निषेधाज्ञा लागू गरिएको गृहमन्त्रालयले सूचना जारी गर्दै जानकारी दिएको हो । त्यस्तै मोरङ, दार्चुला, नुवाकोट, महोत्तरी, धनुषा, सुनसरी झापा र बझाङ जिल्लाका केही स्थानमा निषेधाज्ञा लगाइएको छ ।

स्याङ्जामा जिल्लाभरी साउन १३ गतेबाट सुरु भएर २३ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लगाइएको छ । सप्तरीमा हिजोबाट सुरु भएको निषेधाज्ञा साउन २६ गतेसम्म जारी रहने छ । त्यस्तै जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वर नगरपालिकाका केही क्षेत्रमा गत १९ गतेबाट लागू भएको निषेधाज्ञा साउन २५ गते सकिदै छ । त्यस्तै नुवाकोटको पूर्व बोहोरे भञ्ज्याङ, पश्चिम नयाँ चौतारा, उत्तरतर्फ बागेश्वरी भञ्ज्याङ, दक्षिण पोखरी डाँडा र हिलेटोलमा अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी रहने छ ।

यसैगरी कोरोना संक्रमितको संख्यामा वृद्धि भएसंगै साउन २४ गतेसम्म बाँके जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी रहने भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा समेत यही साउन १६ गतेबाट निषेधाज्ञा जारी छ । बारा र पर्सा जिल्लामा क्रमश साउन १८ र १९ गतेबाट अर्को आदेश जारी नभएसम्मका लागि निषधाज्ञा लगाइएको छ ।

महोत्तरीको सदरमुकाम वरीपरी, महोत्तरी गाउँपालिका तथा जलेश्वर नगरपालिकामा समेत आजबाट निषेधाज्ञा जारी गरिएको छ । यस्तै झापाको बिर्तामोड तथा अर्जुनधारा नगरपालिका क्षेत्रमा समेत गत १८ गतेबाट अर्को आदेश जारी नभएसम्मका लागि पूर्ण रुपमा निषेधाज्ञा लगाइएको छ । यस्तै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा १९ गते लगाइएको निषेधाज्ञा अर्को आदेश नआएसम्मका लागि कायम रहने छ । बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्यूँ गाउँपालिका वडा नम्बर ६ र ७ मा साउन ३२ गतेसम्मका लागि पूर्ण रुपमा निषेधाज्ञा लगाइएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका क्षेत्रमा यही साउन १७ गतेबाट लागू भएर अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा लगाइएको छ । त्यस्तै सर्लाहीमा जिल्लाभरी अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको मनलयले बुधबार सुचना निकालेर जानकारी दिएको छ । सरकारले लकडाउन खोलेको घोषणा गरेसंगै नेपालमा दिनप्रतिदिन कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको छ भने मृक्तको संख्या पनि बढेको छ ।

कमेन्टहरु
Loading...