पोखरा ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउन सरकारले सबैलाई अपील गरेको छ । काठमाडौं उपत्यका लगायतका सहरमा लकडाउन खुलिसकेपछिको अवस्था दिनप्रतिदिन जोखिमयुक्त बनेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेर सरकारले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो । ‘सर्वसाधारण सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने, घरबाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कने र भीडभाड नगर्ने चाडपर्व घरमै बसरे मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपील गर्छ ।’ मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै सरकारले कोरोना प्रभावित जिल्लाबाट काठमाडौं प्रवेश गरेकाको विभिन्न १४ वटा अस्पतालमा निशुल्क पिसिआर परीक्षण गर्ने भएको छ । काठमाडौंको टेकु अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, स्टार अस्पताल, भक्तपुर अस्पताल, वीरेन्द्र अस्पताल, नेपाल कोरियामैत्री अस्पतालमा स्वाब संकलन गरी पिसिआर परीक्षण गरिने छ ।
त्यस्तै वीर अस्पताल, केएमसी अस्पताल, ह्याम्स अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुती गृह अस्पताल, सिभिल अस्पताल र नेपाल प्रहरी अस्पतालमा समेत परीक्षण गरिने भएको छ । यस्तै विभिन्न हब अस्पताल, कोभिड क्लिनिक अस्पताल र कोभिड अस्पताल लेभल १, २, ३ अस्पतालमा समेत स्वाब संकलन गरिने मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
जोखिमयुक्त रहेका विभिन्न जिल्लाबाट राजधानी काठमाडौं पुगेका तथा शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिले उल्लेखित अस्पतालमा गएर परीक्षण गर्न सक्ने सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।