आकाशेधारा चौरमा भेटिएको बच्चा बेवारिसे नभएको खुलासा

पोखरा ।

साउन १३ गते काठमाडौंको कपनको आकाशेधारा चौरमा भेटिएको बच्चा बेवारिसे नभएको खुलासा भएको छ ।

केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले आकाशेधारा चौरमा कार्टुनमा बेवारिसे बच्चा भेटिएको भन्दै विभिन्न मिडियासंग बताएकी थिइन् । तर सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेकालाई नेपाल फर्काउने क्रममा खाडी मुलुकबाट आएर १ महिलाले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएको भेटिएपछि बालगृहकी सञ्चालिका अधिकारी विवादमा तानिएकी छिन् ।

विदेशमा बलात्कृत भएर ती महिलाले आफूले शिशु राख्न नसकेपछि केयर बालगृहको जिम्मा लगाएकी थिइन् । बेवारिसे बच्चा भेटिएको हल्ला भएपछि पुष्पाले विभिन्न व्यक्ति तथा विदेशबाट समेत सहयोग लिएकी थिइन् । पुष्पाले सहयोग लिएपछि पैसा उठाउन झुटो प्रचार गरेको उनलाई आरोप लागेको छ ।

पुष्पाले आफ्नै या आफूले चलाइराखेको संस्थाका लागि सहयोग उठाएकी हुने भन्ने विषयमा छानविन भइरहेको प्रहरीले जानकारी दिएको छ । पुष्पाले भने पछि गएर आफूलाई कुनै किसिमको समस्या नपरोस् भन्ने उद्देश्यले शिशुलाई बेवारिसे अवस्थामा भेटिएको भनेर प्रचार गरेको बताएकी छिन् । घटना पछि शिशुकी आमा बालगृहमा पुगेर शिशु आफैलाई फिर्ता दिन माग गरेपछि उनकै जिम्मा लगाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...