सिन्धुपाल्चोकमा पहिरोले पुरेर १० को ज्यान गयो, मेलम्ची पहिरोमा हराएका ८ को शव फेला

पोखरा, साउन १९ ।

मेलम्ची पहिरोमा पुरिएर हराएका सबै ८ जनाको शव फेला परेको छ । गएराति आएको पहिरोमा परेका ८ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन् ।

ज्यान गुमाउनेमा ७ जना वीरगञ्जका र १ जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र १ जना भारतीय नागरिक राजेन्द्र चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्का १ जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौं पठाइएको छ ।

बरुवामा घर पुर्दा २ को मृत्यु

अविरल वर्षासँगै आएको पहिराले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिराले १ घर पुर्दा २ जनाको ज्यान गएको छ । बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उनकी श्रीमती लक्ष्मी क्षेत्री बञ्जराको ज्यान गएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिएका छन् ।

गएराति गएको पहिराले उनीहरुलाई पुरेको थियो । स्थानीयवासीले उनीहरुको शव निकालेका हुन् । उनीहरुका २ छोरी र १ छोरा छन् । छोरा काठमाडौं आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् ।

गएरातिको पहिराले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिराले ठूलो क्षति पु¥याएको अध्यक्ष लामाले बताए । ‘कसैको आँगन छैन, कसैका चौपाया पुरिएका छन् ।‘ उनले भने, ‘गाउँपालिकाभरि पहिराले क्षतविक्षत बनाएको छ ।’ रासस

कमेन्टहरु
Loading...