पोखरा, साउन १६ ।
काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ । ‘पछिल्ला दिनमा कामपासँगै उपत्यका नै कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ । जात्रा र पर्वको समय पनि सुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो ।’ कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘सुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो, लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेको संख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।’ बिहीबार सम्पन्न कामपाको ५० औं कार्यपालिका बैठकले विभिन्न प्रस्ताव माथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।
उनले गृह प्रशासनले असुरक्षितरूपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था झन् जोखिम हुने बताए । कामपा उपप्रमुख हरिप्रभा खड्गीले जात्रा पर्व मनाउने सन्दर्भमा उपत्यका नगरपालिका फोरमको एउटै आवाज हुनुपर्ने धारणा राखिन् । बैठकले कामपा विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि २०७७ र स्वास्थ्य संस्था दर्ता नवीकरण तथा स्तरोन्नति सम्बन्धी कार्यविधि–२०७७ पनि पारित गरेको छ ।
त्यसैगरी बैठकले भवन निर्माणको भेरियसन स्वीकृत गरेको छ भने चालू आर्थिक वर्षका लागि निर्माण सामग्रीको दररेट स्वीकृत गरेको छ । जिल्ला दररेट निर्धारण समितिले स्वीकृत गरेको निर्माण सामग्री, ज्याला, ढुवानी, भाडाको दररेट नै महानगरले स्वीकृत गरेको हो ।
काठमाडौं उपत्यकामा हालसम्म ५ सय ७३ जनामा कोरोना भाइरसको पुष्टि भएकोे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले भने, ‘काठमाडौँ उपत्यका जस्तो उच्च जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलिएमा जटिल समस्या आउन सक्छ । सबैले सचेत हुनुपर्छ ।’ पछिल्लो समय भारतबाट कामका सिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा संक्रमणको जोखिम उच्च देखिएको जनाइएको छ ।
मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरिकाले प्रयोग नगर्ने प्रवृत्तिले संक्रमणको जोखिम बढेको छ । मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशत बढी संक्रमणको जोखिमबाट बच्न सकिन्छ । निर्देशक डा पाण्डेका अनुसार उपत्यकामा देखिएका कोरोनाका संक्रमितमध्ये ३ सय ५० स्थानीयवासी छन् । उनीहरुमध्ये २ सय १० पुरुष र बाँकी महिला छन् । संक्रमितमध्ये केहीलाई जटिलता देखिएको पनि जानकारी गराइएको छ । रासस