लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

पोखरा, साउन १४: लकडाउन खुलेसँगै कोरोना भाइरस संक्रमणको दर बढेको छ । लकडाउन खोल्नुअघिको ८ दिन र लकडाउन खुलेपछिको ८ दिनपछि परीक्षण र संक्रमितको संख्या हेर्दा कोरोनाको संक्रमण दर बढेको पाइएको हो ।

लकडाउन खुल्नुअघिको ८ दिनको अवधिमा कूल ३४ हजार ४ सय ५७ नमूना परीक्षण गर्दा १ हजार ४९ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै लकडाउन खुलेको पछिल्ला ८ दिनमा ३४ हजार १ सय ९ नमूना परीक्षण गर्दा १ हजार २ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । लकडाउन खुल्नुअघिको ८ दिन ३ प्रतिशतमा सीमित कोरोना संक्रमण पछिल्ला ८ दिनको अवधिमा बढेर ३.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बन्दाबन्दी खुलेसँगै सबै नवसामान्यीकरणमा आएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले कोरोना भाइरसको अवस्था अगाडिको जस्तै सामान्य जीवनमा फर्किएका रुपमा नबुझ्न आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिमकैबीचमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध गरे । पछिल्लो केही दिनदेखि लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा विभिन्न २९ वटा प्रयोगशालामा ६ हजार ३७ नमूना परीक्षणमा २ सय १० जनामा कोभिड–१९ पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

बुधबार सबैभन्दा बढी डोटीमा ५२ संक्रमित फेला परेका छन् । त्यस्तै पर्सामा ३४, स्याङ्जामा २६, महोत्तरी र काठमाडौंमा १४/१४, धनुषामा १२, मोरङ, कैलाली र कञ्चनपुरमा ८/८, धादिङ र बागलुङमा ७/७, म्याग्दी, सप्तरी कपिलवस्तु र बैतडीमा २/२ तथा सुनसरी, सर्लाही, भक्तपुर, रौतहट, तनहुँ र सुर्खेतमा १/१ जना संक्रमित थपिएका छन् ।

मुलुकभर अहिले पनि सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ३ रहेको छ । प्रदेश नं १ मा २ सय २६, प्रदेश नं २ मा १ हजार ९ सय ८२, वाग्मती प्रदेशमा ४ सय ८३, गण्डकी प्रदेशमा २ सय ८८, प्रदेश नं ५ मा ४ सय १, कर्णाली प्रदेशमा ३ सय २ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ सक्रिय संक्रमित छन् । रौतहट र कैलालीमा अझै पनि ५ सय बढी सक्रिय संक्रमित उपचाररत छन् । क्वारेन्टिनमा रहनेको संख्या १४ हजार ४ सय ७१ छ ।

नेपालमा हालसम्म कूल संक्रमितको ७२.७ प्रतिशत कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १ सय ४६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म १४ हजार २१ जना कोरोनालाई जितेर घर फर्केका छन् । प्रदेश नं १ मा ७ सय ८९, प्रदेश नं २ मा ३ हजार १८, वाग्मती प्रदेशमा ५ सय १८, गण्डकी प्रदेशमा १ हजार २ सय २७, प्रदेश ५ मा ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् ।

प्रदेश नं १ को भोजपुर र संखुवासभा, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय संक्रमित छैनन् । नेपालमा प्रति १० लाखमा १२ हजार २ सय ८४ जनाको कोरोना परीक्षण गरिएको छ भने मृत्युदर प्रति १० लाखमा १.६ रहेको छ । हालसम्म विश्वभर १ करोड ६९ लाख १७ हजार ७ सय १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट ६ लाख ६३ हजार ९ सय ४२ जनाको ज्यान गएको छ भने कोरोना संक्रमणमुक्त भएर १ करोड ४ लाख ४२ हजार ३ सय ८३ ‘डिस्चार्ज’ भएका छन् । रासस

कमेन्टहरु
Loading...