बाढी पहिरोको वितण्डा : दार्चुलामा २ जनाको ज्यान गयो, मोरङ तथा चितवनका केही परिवार विस्थापित

पोखरा, साउन ६ ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा पहिरोले घर पुरिदा २ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । पहिरोले पुरिएर अर्जुन दर्जी तथा मिलन दर्जीको ज्यान गएको हो भने सोही स्थानकी लक्ष्मी परियार गम्भीर घाइते भएकी छिन् । पहिरोबाट जागिएर लक्ष्मीका छोरा सुभमले छिमेकीलाई खबर गरेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । लक्ष्मीकी छोरी सोनियालाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो ।

यता अविरल वर्षापछि आएको बाढीले बाँध कटान गर्न थालेपछि मोरङको सुनवर्षी नगरपालिका ७ का ४ परिवार विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै चैता तथा मल्धैयाको बीचमा समेत बाढीले बाँध कटान गरेको छ । १५ मिटर बाँध कटान गरेपछि १ सय ५० परिवार उच्च जोखिममा परेका छन् । बाढीले विस्थापित भएका स्थानीय बासिन्दालाई विद्यालयमा राखिएको र जाखिमलाई ध्यानमा राख्दै नदी आसपासका क्षेत्रमा सतर्कता अनाइएको प्रहरीले बताएको छ ।

यस्तै चितवनका २ ठूला नदीमा समेत पानीको बहावले खतराको संकेत पार गरेपछि ३० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । नारायणी तथा राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो । अविरल वर्षासंगै नारायणी नदीको बहाव बढ्दा भरतपुर महानगरको वडा नम्बर २६ का विभिन्न स्थान डुबानमा पर्न थालेका छन् भने केही भाग कटानको जोखिममा परेको छ ।

नारायणी तथा राप्ती नदीको बहाव बढ्दा तटीय क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विभागले उक्त क्षेत्रका स्थानीय बासिन्दालाई मोबाइलमा म्यासेज पठाएर सर्तक रहन अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...