पोखरा, साउन ५ ।
अविरल वर्षापछि सोमबार दिउँसो करिब २ बजेको समयमा आएको बाढीले चितवन तथा धादिङ जोड्ने मौवाखोला पुलको एकतर्फी भाग बगाउँदा काठमाडौंसंग पृथ्वी राजमार्गको सम्पर्क टुटेको छ । बाढीले धादिङतर्फ ५ किलोमिटर सडक कटान गरेको जिल्लाका प्रमुख जिल्ला अधिकाररु अस्मान तामाङले जानकारी दिएका छन् ।
‘उक्त खोलामा पुग्ने अन्य ९ स्थानमा पहिरो गएको छ, त्यहाँ एकतर्फी सडक कटान गरेको हो ।’ उनले भने, ‘ठाउँ–ठाउँमा पहिरो जाँदा अहिले नै पुल मर्मतको सम्भावना छैन, मंगलबारसम्ममा मौवाखोलाको पुल मर्मत भएपछि मात्र पृथ्वी राजमार्ग सञ्चालनमा आउँछ ।’ प्रजिअ तामाङका अनुसार धादिङतर्फ फसेका केही सवारीसाधन तथा १ सय जनालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
यता चिवतनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मुग्लिन–नारायणगढ सडकखण्डका अन्य स्थानमा खसेको पहिरो हटाउने कार्य भइरहेको जानकारी दिएका छन् ।
मौवाखोलाका साथमा कोलीखोला लगायतमा समेत सडक अवरुद्ध भएको उनको भनाई छ । वर्षासंगै आएको बाढीले नारायणी नदीको बहाव बढ्दा खतरा हुन सक्ने भन्दै नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको समेत भट्टराईले जानकारी दिएका छन् ।