सङ्घीय अभियान, संगठन निर्माण र घरदैलो एवं भेटघाट

पोखरा, ३० असोज/पहिचानसहितको सङ्घीयता, सङ्घीयता सहितको संविधान निर्माणका नाराका साथ दोश्रो संविधानसभाको निर्वाचनमा पहिलो पटक सहभागी सङ्घीय समाजवादी पार्टीले चुनावी प्रचार अभियानसँगै पोखरा वडा नं. ३ मा कर्णबहादुर पुनको अध्यक्षतामा वडा समिति गठन गरेको छ ।

गोर्खा मेजर चन्द्रबहादुर पहरे पुनको अध्यक्षतामा सम्पन्न भेलाले आज गठित वडा समितिको उपाध्यक्षमा क्याप्टेन रणसिंह गर्वुजा पुन, सचिवमा दिपक पहरे पुन, सहसचिवमा हरिहर पराजुली, कोषाध्यक्षमा यामवीर पुन र सदस्यहरुमा विनोद परियार, रेनु गुरुङ, कृष्णबहादुर तामाङ र क्याप्टेन देउबहादुर गुरुङ चयन हुनुभएको छ । भेलाले समितिको सल्लाहकारमा गोर्खा मेजर चन्द्रबहादुर पहरे पुन र बमबहादुर गुरुङलाई चयन गरेको छ ।

भेलामा संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नं. २ का उमेदवार देवीराज तमुले विभेदमुक्त समाज, सबैको अस्तित्व र पहिचानको सम्मान हुने समाज निर्माणका लागि संघीय समाजवादी पार्टी गठन भएको र संविधानसभा निर्वाचनमा पहिचान सहितको संघीयता तथा आम नेपाली सम्मानित हुने संविधान निर्माणका लागि आफुलाई गोलाकारभित्रको छाता चिन्हमा मतदान गर्न र गराउन आग्रह गर्नुभयो ।

यसैगरी आजै उमेदवार गुरुङले पोखरा वडा नं. १६को सुन्दरफिडदेखि सेतीमार्ग क्षेत्रमा मतदाताका घरदैलो एवं भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ । यसरी नै कास्की क्षेत्र नं. १ का उमेदवार मनबहादुर गुरुङले लेखनाथ नगरपालिका वडा नं २ को लामातारा क्षेत्रमा घरदैलौ र भेटघाट, क्षेत्र नं. ३ का उमेदवार पानबहादुर घर्ती भुजेलले पोखरा १७ को घारीपाटन छोरेपाटन क्षेत्रमा घरदैलो र भटघाटलाई तिव्रता दिनुभएको छ भने क्षेत्र नं. ४ का उमेदवार गणेशमान गुरुङले आज ढिकुरपोखरी गाविसको वडा नं. ५,७ र ८, धम्पुस गाविसको वडा नं. १,२,३,४ र ५ मा मतदाताको घरदैलो र भेटघाट कार्यक्रम गर्नुभएको छ ।

कमेन्टहरु
Loading...