गोरखा स्मारक नेपालीका लागि तिर्थस्थल, ब्रिटिसका लागि एटम बम, नौ बुँदे घोषणापत्र जारी, साल्मेडाँडा पवित्र तिर्थस्थल घोषणा

स्याङ्जा, १३ साल्मेडाँडा/भुतपुर्व सैनिक संघ गेसोले एक कार्यक्रम गरी स्याङ्जाको फेदीखोला गाँउ विकास समिती–८, साल्मेडाँडामा गोरखा स्मारकको शिलन्यास गरेको छ । विश्व शान्ति र ब्रिटिस साम्राज्यको सम्बृद्धिको पक्षको युद्धहरुमा मारिएका र बेपत्ता पारिएका ६० हजार भन्दाबढि पितृ गोरखाहरुको सम्मानमा गोरखा स्मारकको निमार्ण गर्न लागेको हो । स्मारकको शिलान्यास ब्रिटिसको पक्षमा युद्धमा होमिएर मारिएका, वेपत्ता भएका १८ जातिका धर्मगुरु तथा कन्याहरुले संयुक्त रुपमा गरेका हुन् । धर्मगुरुहरुले मन्त्रपाठका साथ दीप प्रज्वलन गर्नुभएको थियो भने कन्याहरुले समाधि निर्माणस्थलमा पुष्पाअर्पण गरी स्मारकको शिलान्यास गरिएको थियो ।
स्मारकको शिलान्यास कार्यक्रममा गेसोका सभापति पदमबहादुर गुरुङले साल्मेडाँडा ३ करोड नेपालीलको पवित्र तिर्थस्थल हो भने बेलायती साम्राज्यका लागि जापानको नागाशाकी र हिरोसिमामा खसालिएको एटम बम भन्दापनि ठुलो बम बनेको दावी गर्नुभयो । उहाँले गोरखा स्मारक निर्माणले उक्त क्षेत्रमा विकासको मुल फुटाउने बताउनुहुदै विश्वकै सम्पदा बनाउने योजनामा कसैसँग भिख नमाग्ने अठोट गर्नुभयो । सिंहदरबारमा बस्ने राज्यका ठेकेदारहरु गोरखा भर्तीका नाउँमा नेपाली युवा कति मारिए, कति वेपत्ता बनाइयो, हामीलाई जवाफ चाहिन्छ गेसोको सभापति गुरुङको माग थियो ।
हामी गोरखा विरुद्ध गरिएका अमावियताको विरोधको अभियान अगाडि बढाइरहदाँ बेलायती सेलिव्रेटी जोअन्ना लुम्लीले साथ दिइन, हामीले उनलाई नेपाली छोरीको उपमा दियौं र मट्टिखान क्षेत्रको विकासका लागि उनको सम्बन्ध जोड्ने काम गर्दा ठुलो षडयन्त्र गरियो लुम्लीलाई मट्टिखान आउन दिइएन, अझै पनि त्यस्ता षडयन्त्र भइरहे पनि हामी अभियानमा जुटीरहन्छौं सभापति गुरुङको प्रतिवद्धता थियो ।
नेपाल मानव विक्रेता, बेलायत मान खरिदकर्ता हो भन्नुहुदै गोरखा पितृहरुको तिनदिने किरिया सम्पन्न पश्चात गोरखा स्मारक निर्माणमा जुटेकाले सबैलाई साथ दिन आग्रह गर्नुभयो । साल्मेडाँडाको एकसय वर्ष अघिदेखिको चर्चा गर्नुहुदै पुर्व सभासद तथा स्थानिय हितकाजी गुरुङकै पहलमा साल्मेडाँडा, गोरखा स्मारक निर्माणका लागि प्राप्त भएकोमा हितकाजी गुरुङ लगायत स्थानियवासीप्रति आभार व्यक्त गर्नुभयो ।
गेसोका उपसभापति कृष्णकुमार राइले गोरखा स्मारक आफ्ना पितृहरुको सम्मान तथा स्मृतिका लागि हो भने बेलायती उत्पिडनका विरुद्धको प्रतीकको रुपमा निर्माण गरिने बताउनुभयो । स्मारकलाई ३ करोड नेपालीको स्वाभिमानको केन्द्रको रुपमा तत्कालै निर्माण थालनी गरिने बताउनुभयो ।
गोरखा स्मारकका डिजाइनर वरिष्ठ आर्किटेक्चर शंकरनाथ रिमालले स्मारकको डिजाइजिङको बारेमा चर्चा गर्नुहुदै स्मारक गोरखा पितृको तर्पणको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले गोरखा स्मारकलाई गोरखालीको श्रद्धाको प्रतीकको रुपले लिएकोछु भन्नुभयो ।
गेसो ललितपुर महिला समितिका अध्यक्ष इन्द्रकुमारी राइले आफ्ना पिता पुर्खा तथा समग्र गोरखामाथि नै बेलायतले गरेको अमानवीयताको विरुद्ध आक्रोश व्यक्त गर्नुहुदै नेपाल सरकारले भन्सार राखेर च्याङ्ग्रा बोकाको तथ्यांक राख्छ भने बेलायती सेनामा भर्ती भएका गोरखाहरुको किन तथ्यांक्क राख्न सक्दैन भन्दै प्रश्न गर्नुभयो । हामीलाई सरकारले भाडा बाख्रा जतिको नठान्नेहरुका विरुद्ध र आफ्नो अधिकारी प्राप्तीका लागि अनवरत संघर्ष आवाश्यक रहेको बताउनुभयो ।
स्थानीयवासी तथा क्षत्री समाजको केन्द्रीय सदस्य शेरजंग अधिकारीले साल्मेडाँडा आम नेपालीको पुण्य थलोको रुपमा स्थापित भएको र गोरखा स्मारक निर्माणमा सबैको साथ रहनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा गेसोका महासचिव महेन्द्रलाल श्रेष्ठ, पुर्व सभासद हितकाजी गुरुङ, डिवी नेपाली लगायतले बेलायतले गोरखामाथि गरेको अपराधका विरुद्ध र गोरखा स्मारक निर्माणका अभियानमा बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा चिउलेपार्चे तमु समाजले छ्याँडु, क्षत्री ब्राम्हाणले भजन चुट्का, तमु प्ये ल्हु संघ स्याङ्जाली समाज लेखनाथले नृत्य प्रस्तुति, लोकगायक मनसुधन थापा, स्थानिय कलाकारहरु राजेन्द्र गुरुङ, पर्वत गुरुङ लगायतको गीत प्रस्तुतिले कार्यक्रममा थप रौनक दिएको थियो ।
यसैविच १८ जातिका धर्मगुरु र कन्याहरुद्वारा नौबुँदे घोषणापत्र जारी गरेको छ । साल्मेडाँडालाई विश्वको पवित्र तीर्थस्थल घोषणा गर्दै विश्व सम्पदा सूचीमा राख्नका माग, साल्मेडाँडालाई नेपालीहरुको जातीय एकता र सद्भावको डाँडाको प्रतीक रुपमा विकास गरिने, ब्रिटिस र नेपाल सरकारले कुन सम्झौताबाट भर्ती गरेर युद्धमा होम्दै आएको हो जवाफको माग, साल्मेडाँडामा बनाउन लागिएको गोरखा स्मारक निर्माणप्रति ऐक्यबद्धता, विदेशी भूमिमा मारिएका आफ्नो नागरिकको बारेमा खोजबिन दुवै सरकारसँग माग, मारिएका सैनिकहरुको तथ्याङ्क सार्वजानिक गरेर उनीको परिवार र देशलाई उचित क्षर्तिपूर्ति दिनका लागि ब्रिटिस सरकारलाई दबाब दिन आग्रह, ब्रिटिस साम्राज्यको रक्षा र बिस्तारको क्रममा हाम्रा पुर्खाहरु विभिन्न देशको सार्वभौमसत्ता र त्यस देशका जनताको स्वतन्त्रता माथि हस्तक्षेप गर्न बाध्य भई अन्जानमा भएका गल्तीप्रति क्षमायाचना र गोरखा भर्तीले नेपालका आदिवासी जनजातिहरुको सांस्कृतिक, आर्थिक, सामाजिक, धार्मिक र भाषिक सम्पदा माथि पुगेको क्षतिको मूल्याङ्कन गर्दैै सम्बन्धित समुदायलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।

तीन सय रोपनी क्षेत्रफल रहेको साल्मेडाँडामा करिब तीन अरब रुपैँया लागतमा पाँच वर्षभित्र गोरखा स्मारक निमार्ण सम्पन्न गर्ने योजना गेसोको छ । स्मारकमा गोरखा समाधिस्थल, गोरखा संग्रहालय, जातिय सांस्कृतिक ग्राम, गोरखा टावर निमार्ण गरिनुका साथै पाँच डिब्बाको रेल संचालनमा ल्याइने गेसोले जनाएको छ ।
स्मारकको पहिलो चरणमा एक बर्षभित्र गोरखा समाधि निर्माण गर्ने योजना रहेको गेसोका सभापति पदमबहादुुर गुरुङ्ले जानकारी दिनुभयो । करिब तीन अरब लगानीमा पाँच बर्षमा निमार्ण गरिने गोरखा स्मारकको पहिलो चरणको समाधिको भुतपुर्व सैनिकहरुबाटै करिब १० करोड चन्दा संकलन गरी १ बर्षमा सम्पन्न गरिने बताइएकोछ।

गोरखा समाधीमा विश्वमा जहाँ जहाँ गोरखा सैनिकहरु मारिएरका थिए त्यहाबाट माटो ल्याएर राख्ने योजना रहेको छ । गोरखा म्यूजियममा ६० हजार सैनिकको नाम र कामहरुको इतिहास राखिनेछ । व्रिटिस साम्राज्यको पक्षमा लाग्दा नेपालका गुरुङ, मगर, राई, लिम्बू, तामाङ, शेर्पा, थकाली, नेवार क्षेत्री, ठकुरी, दुरा, भुजेल, याक्खा, पुन, ह्योल्मो, बाहुन, दलित लगाएतका जातजातिका मौलिक संस्कृतीको पहिचान युक्त सग्राहलय निर्माण गर्ने योजना छ । नेपालकै अग्लो गोरखा टावर निमार्ण गर्ने योजना समेत रहेको छ ।
यहि मसिंर ५ देखि ७ गतेसम्म विश्व शान्ति र ब्रिटिस साम्राज्यको सम्बृद्धिको पक्षको युद्धहरुमा मारिएका र बेपत्ता पारिएका ६० हजार भन्दाबढि पितृ गोरखाहरुको स्वस्ती शान्तिको लागि सामुहिक रुपमा काजकिरीया गरिएको थियो ।

कमेन्टहरु
Loading...