सिद्धबराह मन्दिरमा १०८ फिटको हनुमान मूर्ति स्थापना गर्न शिलान्यास

फेवाताल संरक्षण गर्न राष्ट्रिय योजनामा राख्नुपर्छ–मुख्यमन्त्री

पोखरा, ९ फागुन/ पोखरा महानगरपालिकाभित्रका उचाईका डाडाँमा ठूला आकारका मूर्ति स्थापना गरिदैं छ । सराङकोटमा शिवमूर्ति, पुम्दीकोटमा शिवमूर्ति, काँहुडाडाँमा बुद्धको विशाल मूर्ति स्थापना गरिदैं छ । पोखरा महानगरपालिका–२३ ठुलाखेत माझथुम विशाल हनुमान मूर्ति स्थापना गरिने छ । मूर्ति स्थापनाको लागि गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार शिलान्यास गरे ।

मूर्ति १०८ फिट उचाईको हुने छ । मूर्ति स्थापनापछि ठुलाखेत माझथुम धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने विश्वास छ । सिद्धबराह मन्दिरको थुम्को(माझथुम)मा मूर्ति स्थापना गरिने छ । सिद्ध बराह तपोबन सन्यास आश्रमले मूर्ति स्थापना गर्ने दायित्वबोध गरेको छ । आगामी वर्षको रामनवमीको दिनमा उदघाटन गर्ने गरी मूर्तिलाई प्रतिस्थापन गर्ने लक्ष्य रहेको तपोबन सन्यास आश्रमका अध्यक्ष हरि भण्डारीले सुनाए ।

उनका अनुसार मूर्ति निर्माणको जिम्मा भने भक्तपुरस्थित सागाँमा शिव मूर्ति बनाएका कालिगढले नै बनाउन छन् । सिद्धबराह मन्दिर रामनवमीमा अखण्ड किर्तन, बालाचतुर्दशी तथा शिवरामीमा मेला लाग्ने गरेको छ । मूर्ति स्थापना गर्न ३ करोड ६० लाखको लागत अनुमान गरिएको छ । केही समय अघि मात्रै लगाईएको महायज्ञबाट आश्रमले ४० लाख रुपैयाँ संकलन गरेको छ ।

संकलित रकमबाटै मूर्ति स्थापनाको काम शुरु गरिने उनको भनाई थियो । स्थानीय चन्दा दाता एवं विभिन्न संघसंस्थासँग आर्थिक सहयोग जुटाईने छ । सिद्धबराह आफैंमा तपोभूमी समेत हो । ‘१२ हजार टुक्रा (कोठा) जोडेर मूर्ति तयार गरिने छ । एउटा टुक्राको मूल्य ३ हजार तोकिएको छ ।’ उनले भने–‘१२ हजार टुक्रा व्यक्ति विशेषलाई विक्री गरिने छ ।’

५२ रोपनी क्षेत्रफलमार रहेको सिद्धबराह ऐतिहासिक एवं प्राचीन धार्मिक स्थलको रुपमा चिनिदैं आएको छ । सिद्धबराह मन्दिरको पश्चिम तर्फ हुनमान मूर्ति स्थापना गरिने छ । मूर्तिसँगै योगा ध्यान केन्द्र निर्माण गर्ने लक्ष्य छ । मूर्ति सिमेन्ट र रड प्रयोग गरेर तयार गरिने छ । मूर्ति स्थापनाको लागि प्राविधिकहरुले माटोको परीक्षण गरिसकेका छन् । फेवातालको सिरानमा सिद्धबराहको मन्दिर छ ।

पौराणिक महत्वको मन्दिरसँगै हनुमानको मूर्ति स्थापनाले धामिर्क पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उपाध्यक्ष ओम सुवेदीले बताए । तालको बीचमा रहेको बाराही मन्दिर तत्कालिन समयमा सिद्धबराहसँगै रहेको किंवदन्ती छ । सिद्धबराहमा राम नवमीको समयमा मेला लाग्छ । राम नवमीमा रामका भक्त हनुमानको मूर्ति स्थापनाले हनुमानका भक्तजनलाई सहज हुने मात्रै नभई धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ ।

मूर्तिको स्थापनाको लागि शिलान्यास गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धर्म र सँस्कृतिलाई संरक्षण एवं रक्षा गरेर नै हामीले समृद्धिको कल्पना गर्न सकिने स्पष्ट पारे । कास्की ऐतिहासिक धरोहर जिल्ला भएको बताउँदै उनले शाहबंशिय उदगम थलोलाई संरक्षण र सम्बद्र्धन गर्नुपर्ने जोड दिए । कास्कीको कास्कीकोट दरबार धार्मिक एवं ऐतिहासिक दरबार भएको उनको भनाई थियो ।

मन्त्री गुरुङले धर्म सँस्कृतिसँगै पोखराको पर्यटनसँग जोडिएको फेवाताल संरक्षण गर्ने तर्फ विशेष पहलकदमी गर्नुपर्ने बताए । ‘जथाभावी डोजर चलाउँदा फेवाताल पुरिदैं गएको छ’ उनले भने–‘फेवाताल संरक्षणको लागि राष्ट्रिय योजना बनाउनुपर्छ ।’ राष्ट्रिय योजनामा राख्न सकिए ताल संरक्षणको लागि बजेट निकासा हुने उनको धारणा थियो ।

तालको संरक्षणको लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको प्रयासले मात्रै नहुने उनको भनाई थियो । ताल संरक्षण गर्न राष्ट्रिय योजनामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले तालको सीमांकन भएपछि संरक्षणको लागि संघीय सरकारबाटै बजेट निकासा हुने स्पष्ट पारे । महानगरपालिका र प्रदेश सरकारले तालमा मिसिने खोलाहरुमा सिल्टेसन ड्याम निर्माण गर्दै संरक्षणको प्रयास गरेको समेत प्रष्टयाए । मन्त्री गुरुङले मूर्ति स्थापनाको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।

मन्त्री गुरुङले राजपरिवारले प्रयोग गर्दै आएको तालकिनारको रत्न मन्दिर दरबारलाई आम्दानीको स्रोतको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए । उनले दरबारभित्र केही भौतिक संरचना निर्माण गरेर दैनिक दुई लाख रुपैयाँ आम्दानी गर्ने योजना प्रदेश सरकारको रहेको उल्लेख गरे । ‘नेपाल ट्रष्ट र केन्द्र सरकारसबाट दरबार उपयोग गर्न मागिसकेका छौं ।’ उनको भनाई थियो ।

शिलान्यास समारोहमा गण्डकी प्रदेश सदस्य राजीव पहारीले पनि फेवाताल संरक्षण गर्न आफनो प्रयास निरन्तर भईरहेको जिकिर गरे । उनले फेवाताल संरक्षण विना पोखराको पर्यटन प्रवद्र्धन नहुने भन्दै ताल संरक्षण सबैको दायित्व र जिम्मेवार रहेको बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २३ का वडाध्यक्ष विष्णु पराजुली र पोखरा महानगरपालिका वडा नं २४ का वडाध्यक्ष ओम सुवेदीले महानगरपालिकाको वडा भएपनि सडक कालोपत्रे नहुदाँ स्थानीयले समस्या झेल्नुपरेको प्रष्टयाए ।

कमेन्टहरु
Loading...