पोखरा, ६ कार्तिक / कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरेको छ । साझा पार्टीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी केसीलाई उमेदवार बनाउने घोषणा गरेको हो ।
मंसिर १४ गते प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको साझा पाटीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले जानकारी दिए । दुई दिन सम्म पोखरामा चलेको केन्द्रीय समिति बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए ।
लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् । गएको वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टीमा संलग्न भएकी थिइन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र नम्बर २ मा सांसद पद रिक्त रहेको छ । कार्यक्रममा साझा पाटी संयोजक रवीन्द्र मिश्रले कास्कीको उपचुनावलाई जनमत सग्रह भएको बताए ।
गत चुनावमा विभिन्न पार्टी तथा स्वतन्त्र गरी १३ जना उम्मेदवारले भाग लिएका थिए । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार उपनिर्वाचनको लागि कास्की क्षेत्र २ मा ७१ हजार ८ सय ७१ जना मतदाता रहेका छन् । कास्की दुईमा ३२ मतदानस्थल र ८२ वटा मतदानकेन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जनाए ।
पोखराका विभिन्न ११ वटा वडा पर्ने कास्की २ मा यसअघि नेकपाएमालेका साझा उम्मेदवार रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत र प्रत्यासी देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । तत्कालीन विवेकशील साझा पार्टी तेश्रो भएको थियो । विवेकशीलका उम्मेदार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए ।