सरकारले दुइतिहाइ दम्भमा लुटतन्त्र मच्चाएको छः नेता पौडेल

पोखरा, २४ भदौ/ नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको भरमा सरकारले अदालत र अख्तियारलाई तर्साएर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रमको पोखरामा मंगलबार उद्घाटन गर्दै नेता पौडेलले अदालतले गरेका फैसलाहरु बाँझिनु भनेको दुइतिहाईकै हस्तक्षेप भएको बताए ।

उनले भने, दुइतिहाई देखाएर अदालतलाई तर्साउने, दुइतिहाइ देखाएर अख्तियारलाई तर्साउने काम भएको । एनसेलबारे अदालतले गरेको निर्णयमा सरकार किन बोल्दैन ? उनले प्रश्न गरे, सरकार किन ठूला माछा समाउन सक्दैन ? एनसेल र वाईडबडीमा भएको भ्रष्टाचारमा अख्तियार परेको छ । साना माछा समाउँछन् । ठूला शासकलाई कारबाही गर्न सक्दैन ।

सरकारको काम कारबाहीबाट जनता असन्तुष्टि छन् । यसैले पनि सरकार पूर्ण रुपमा असफल भएको उनले आरोप लगाए । उनले भने, सत्तामा पुग्ने बेला सपना बाँडे, तर सपना अनुसारको काम नगरेको हुँदा जनतामा निराशा छाएको छ ।

उनले वीपीले देखाएको बाटो अंगिकार गरेमात्र काँग्रेसका सपना पूरा हुने बताए । उनले वीपीभन्दा ठूलो समाजवादी हुँ भन्ने कम्युनिष्ट देशको शासन गरे पनि उनीहरुले पक्षपातको शासन गरिरहेको बताए । उनले भने, आफ्नै कार्यकर्तालाई पोस्न मनी र मसलको प्रयोग गररहेकेका छन् ।

कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीले दिएको उम्मेदवारलाई भोट हाल्न काँग्रेसलाई निर्देशन दिए । उनले काँग्रेस हुँ भन्नेले रुखमा भोट दिए जित सुनिश्चित हुने बताए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य वृन्दादेवी रानाले जागरण अभियानबाट काँग्रेस एक ढिक्का भएको सन्देश जाने बताइन् ।

काँग्रेस कास्कीले जिल्लाका विभिन्न क्षेत्रमा पनि जागरण अभियान सुरु गरेको जनाएको छ । यो सँगै बुधबार देखि वडा इकाइसम्म जागरण अभियान जारी रहने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कमेन्टहरु
Loading...