श्रीकृष्ण माविमा महायज्ञ शुरु, पहिलो दिनमा नै २० लाख संकलन

पोखरा, २७ भदौ। पोखरा – ७ मासबार स्थित श्रीकृष्ण माविमा बिहीबारदेखि श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ शुरु भएको छ। उच्च मावि संचालन, विद्यालयको शैक्षिक एवं भौतिक विकास गर्ने उदेश्यले आयोजना गरिएको महायज्ञ असोज ३ गतेसम्म चल्ने छ। महायज्ञबाट तीन करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको छ। महायज्ञमा युवा पण्डित कमलनयन गौतम प्रमुख वाचक रहेका छन्।

महायज्ञमा सहभागि भई भागवत् श्रवण गर्न तथा आफ्ना पितृहरुको मुक्तिका लागि सक्दो आर्थिक तथा जिन्सि सहयोग गरी विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहभागि हुन महायज्ञ मुल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष तेजनारायण अधिकारीले आव्हान गरेका छन्। विहीबार आयोजित कार्यक्रमवीच महायज्ञको उद्घाटनगर्दै पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लोकदर्शन रेग्मीले जीवनलाई सार्थक र मोक्षतर्फ उन्मुख गराउन भागवत्को निकै ठुलो महत्व रहेको बताए।school

मौका पाएपछि भागवत् सुनिहाल्नु पर्छ भन्ने मान्यता आफ्नो रहेको बताउँदै उनले भने – भागवत्ले श्रेष्ठ मानव बनाउन र मोक्षप्राप्तीका लागि बाटो देखाउछ। उनले भागवत्ले जीवनलाई कस्तो बनाउने भन्ने शिक्षा दिने भएकाले सानै उमेरका बालबालिकालाई पनि समयमा नै भागवत्को ज्ञान दिन आवश्यक रहेको औल्याए। क्षेत्रीय प्रशासक रेग्मीले विद्यालयको विकासका लागि आफ्नोतर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्वता पनि व्यत्त गरे। प्रमुख वाचक युवा पण्डित कमलनयन गौतमले भागवत्ले मानिसको भावनालाई बदल्न सक्ने भएकाले जस्तो सुकै कठोर मनलाई पनि परिवर्तन गर्न सक्ने बताए।

उनले समाजमा शिक्षाको ज्योती फैल्याउने उदेश्यले आयोजना गरिएको महायज्ञलाई सफल बनाउनु सवैको कर्तव्य भएको औल्याए। पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले शिक्षा क्षेत्रको विकासका लागि सवै पक्षले सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिए। समाजसेवी लिलाभक्त आचार्यले सामुहिक प्रयासबाट मात्रै महायज्ञको लक्ष्य पुरा हुन सक्ने बताए।

त्यसअवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष एवं महायज्ञ मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष विष्णुहरि बराल, बरिष्ठ उपाध्यक्ष तेजनारायण अधिकारी, जनप्रिय उच्च माविका प्राचार्य नारायण पराजुली, स्टेप बाई स्टेप उच्च माविका निर्देशक रमाकान्त बराल, व्रम्हकुमारी ईश्वरीय विद्यालयकी ब्रम्हकुमारी अप्सरा, नेपाल सेकोर्स अफ बेल्जियमका संयोजक रामप्रसाद तिमिल्सिना, समाजसेवी प्रेमनारायण बराल, मातृशक्ति परिचालन उपसमितिका संयोजक शशिकला बराल, आमा समुहको तर्फबाट मनमाया बराल, युवाहरुको तर्फबाट किशोर बरालले बोलेका थिए। कार्यक्रममा समाजसेवी लोकनाथ काफ्लेले कविता वाचन गरेका थिए।

महायज्ञको पहिलो दिनमा नै २० लाख रुपैया संकलन भएको प्रचार प्रसार समितिका संयोजक राममोहन आचार्यले जानकारी दिए। दानवीरको नाम भने शुक्रबार घोषणा गरिने बताइएको छ। महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डण्डराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शोभाचन्द्र बरालले स्वागत, अर्का बरिष्ठ उपाध्यक्ष युवराज पराजुलीले धन्यवाद ज्ञापन र महासचिव डा उमानाथ बरालले कार्यक्रम संचालन गरेका थिए। महायज्ञको उद्घाटनपुर्व विहीबार शोभायात्रा र कलश यात्रा समेत निकालिएको थियो। विद्यालय परिषरबाट शुरु भएको शोभायात्रा र कलश यात्राले पोखरा – ७ का मुख्य स्थान र छिमेकी वडाका केहि स्थानको परीक्रमा गरी पुनः विद्यालय परिषरमा पुगेको उपाध्यक्ष पुरुषोत्तम रेग्मीले बताए।

कमेन्टहरु
Loading...