राष्ट्रिय बुद्धिजीवी संगठनको अध्यक्षमा डा. अधिकारी

भाद्र २३, पोखरा/नेपाल राष्ट्रिय प्रगतिशील बुद्धिजीवी संगठन, कास्कीको छैठौं जिल्ला सम्मेलन शनिबार पोखरामा सम्पन्न भएको छ । सम्मेलनले डा. कृष्णराज अधिकारीको अध्यक्षतामा ३१ सदस्यीय नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन जिल्ला समिति, कास्की निर्वाचित गरेको छ । समितिको उपाध्यक्षहरुमा अग्नीधर पौडेल, मिना थापा (तमु), मोतिश्वर थापा, सचिव रामजी लामिछाने, सह–सचिव पूर्णबहादुर खांड र कोषाध्यक्षमा सुमिता बस्नेत निर्वाचित हुनुभएको छ ।
कार्यसमितिका अन्य सदस्यहरुमा विष्णुराज दाहाल, संगम सुवेदी, लक्ष्मी भण्डारी, योगेन्द्र कुंवर, नरबहादुर अम्गाइँ, नविन अधिकारी, नारदकुमार राई, जीवनाथ पाण्डेय, होमनाथ तिवारी, हरिराज पोखरेल, शालिकराम देवकोटा, सरिता गुरुङ, कृष्ण ज्ञवाली, खुवबहादुर बराल लगायत रहनुभएको छ । यसैगरि सम्मेलनले प्रा.डा. खेमराज कैनी, प्रा.डा. मानबहादुर केसी, डा. बुद्धिबहादुर थापा, पूर्ण गिरी, रामचन्द्र अधिकारी, इश्वरराज पौडेल, प्रतापबाबु तिवारी, एकबहादुर बस्नेत, हुतराज शर्मा, गिताकुमारी पौडेल, डा. गोबिन्द लामिछानेलाई सल्लाहकारमा निर्वाचित गरेको छ । त्यसैगरि सम्मेलनले १२ जना सदस्यहरुलाई भाद्र २८ र २९ गते काठमाडौंमा हुने नेपाल राष्ट्रिय प्रगतिशील बुद्धिजीवी संगठनको राष्ट्रिय सम्मेलनका लागि सम्मेलन प्रतिनिधि पनि चयन गरेको छ ।
सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल राष्ट्रिय प्रगतिशील बुद्धिजीवी संगठनका निवर्तमान केन्द्रीय उपाध्यक्ष एवम् एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य झलकपाणि तिवारीले समाजलाई अग्रगतिमा लैजान भूमिका खेल्नेहरु नै असली अर्थमा बुद्धिजीवी हुने बताउनुभयो । प्रगतिवादी बुद्धिजीवीको न्यूनतम् योग्यताबारे चर्चा गर्दै नेता तिवारीले भन्नुभयो –‘माक्र्सवादी तथा प्रगतिवादी बुद्धिजीवी हुन कुनै खास विषयको विज्ञता र माक्र्सवादी दर्शनको आधारभूत ज्ञान अनिवार्य हुन्छ ।’ कुनै पनि बुद्धिजीवीको बौद्विकता नाप्ने आधार उसले राष्ट्र र जनताको पक्षमा राख्ने चिन्तन र गर्ने व्यवहारमा निर्भर रहने तिवारीको भनाई थियो ।

कमेन्टहरु
Loading...