कास्कीमा चुनावको रनक चम्कीदै, उम्मेदवार बन्न कार्यकर्ता फकाउदै नेताहरु

पोखरा, १५ भाद्र /नेताहरु आफ्नो पक्षमा भएर मात्र आगामी संविधान सभा निर्बाचनको टिकट नपाउने डरका कारण कांग्रेस एमालेका उम्मेद्वारका आकांक्षीहरु क्षेत्रीय कमिटीका सदस्यहरुलाई आफ्नो पक्षमा पार्न दौडधुप गरेका छन् । दुवै दलका क्षेत्रीय समितिले १८ गते भित्रै सम्भावित उम्मेद्वारको नामावली छनौट गरिसक्नु पर्ने आज प्रकाशित समाधान राष्ट्रिय दैनिकमा समाचार छ । कांग्रेसमा ठुला नेताहरुबीच गोप्य गठबन्धन भएको हल्लाले उम्मेद्वारका आकांक्षीहरुमा हल्ली खल्ली मच्चिएको छ । तारानाथ रानाभाट, शुक्रराज शर्मा र महादेव गुरुङबीच एकले अर्कोलाई सघाउने गरी गोप्य गठबन्धन भएको कास्की कांग्रेस श्रोतले बताएको छ ।त्यसैले क्षेत्र नम्बर ४ बाट निर्बाचन उठ्ने भनिएका महादेव गुरुङ २ बाट निर्बाचन लड्ने तयारी गर्दैछन । उनले ४ मा शुक्रराजलाई ठाउ खाली गरिदिएको चर्चा छ भने रानाभाट १ बाट चुनाव लड्ने आकांक्षा लिएर ४ दिन देखि पोखरा नै आएर बसेका छन् । होटल आनन्दमा बसेका रानाभाटले कार्यकर्तालाई फोन गर्दै सहयोग माग्दै गरेका छन् ।यस अघि तीन तिर फर्केका तीन अनुहार शर्मा, रानाभाट र गुरुङ एकले अर्कोलाई सहयोग गर्ने गरी एकै ठाउमा उभिए पछि उम्मेद्वारका आकांक्षी युवा पुस्ता र हाल निस्कृय रहेका केही पुराना कांग्रेस नेताहरु गठबन्धनको विरुद्धमा लागेका छन् । उनीहरुले केन्द्रसम्म नै आफ्नो कुरा पुर्याउन एउटा टिम नै राजधानी पठाएका छन् । श्रोतका अनुसार टिमको नेतृत्व पोखरा उपमहानगर पालिकाका पूर्व मेयर भोला थापाले गरेका छन् ।
उता एमाले कास्कीमा पनि टिकटका लागि माथापच्ची चर्किदै गएको छ । क्षेत्र नम्बर १ र ३ मा धेरै विवाद नभए पनि २ र ४ मा आकांक्षी धेरै छन् । १ मा जिल्ला अध्यक्ष मानबहादुर जिसी र ३ मा पूर्व सभासद रविन्द्र अधिकारीले टिकट पाउने प्राय निश्चित भए पनि केन्द्रिय सदस्य तुलबहादुर गुरुङले ३ नम्बर क्षेत्रबाटै निर्बाचन लडने आकांक्षा राखेका छन् ।
एमालेले क्षेत्र नम्बर १ र ३ मा १७ गते तथा २ र ४ मा १८ गते क्षेत्रीय कमिटी मार्फत सम्भावित उम्मेद्वार चयन गर्दैछ । क्षेत्रले ३ जना सम्भावित उम्मेद्वारको नाम शिफारिस गर्नु पर्ने भएकाले एमालेले १ बाट मानबहादुर जिसी, बेदबहादुर गुरुङ र उमा परियारको नाम प्रत्यक्षमा र बैकल्पिक पोलिटब्यूरो सदस्य खगराज अधिकारीलाई समानुपातिमा शिफारिस गर्ने चर्चा छ ।
२ मा आकाँक्षी बढेका छन् । सोमनाथ प्यासी, कृष्ण थापा, श्रीनाथ बराल, गजकुमारी गुरुङ र बसन्त बरालको चर्चा चले पनि प्यासी केन्द्रिय कमिटीको बैठकमा भाग लिन काठमाण्डौं तर्फ गएका छन् । तीन जना मध्ये एक जना महिलाको नाम पठाउनै पर्ने भएकाले गजकुमारीको नाम क्षेत्रीय समितिले सिफारिस गर्ने पक्का छ भने प्यासी, थापा, श्रीनाथ र बसन्त मध्येबाट २ को नाम सिफारिस गर्नु पर्नेछ । प्यासीलाई समानुपातिकमा मनाएर प्रत्यक्षमा थापा, श्रीनाथ र गुरुङको नाम सिफारिस गरिने श्रोतले बतायो । त्यस्तै क्षेत्र नम्बर ३ मा अधिकारीका अलावा तुलबहादुर गुरुङ र राजीव पहारीको चर्चा छ । महिलामा सृजना शर्मा र देवका पहारी मध्ये एकको नाम सिफारिस गरिने श्रोतले बतायो । “सृजनाको नाम समानुपातिकमा र देवकाको नाम प्रत्यक्षमा सिफारिस हुनेछ ।’ श्रोतले दावी गरेको छ ।
४ मा एमालेका आकाँक्षी धेरैछन् । पछिल्लो समयमा मित्रकुमारी सुवेदी र क्षेत्रीय अध्यक्ष विष्णु केसीले आकांक्षा राखे पछि संख्या ७ पुगेको छ । सिता गिरी, पुण्य पौडेल, दामोदार बैरागी, देवी सुवेदी र जगन्नाथ बाँस्तोलाको यस अघि नै चर्चा चलेको थियो । “साथीहरुले काम र मिहिनेत गरेको हिसावले तपाई पनि जानु पर्छ भनेका छन्, अहिलेसम्म निर्णय त गरेको छैन, क्षेत्रबाट उम्मेद्वार छनौट गर्न मतदान नै गर्नु पर्ने स्थिति आयो भने म पनि उठ्छु ।’ क्षेत्रीय कमिटी अध्यक्ष केसीले भने । सिता गिरी समानुपातिक तर्फ जान राजी भएमा प्रत्यक्षमा महिलाको कोटामा मित्रकुमारी सुदेवीको नाम सिफारिस गरिने श्रोतले बतायो । अन्यथा ठुलो उथल पुथल नभएमा प्रत्यक्षमा दामोदर बैरागी, पुण्य पौडल र सिता गिरीको नाम सिफारिस हुने दावी श्रोतको छ ।
कांग्रेसमा रानाभाटले इच्छा नराखेको भए सभापति यज्ञ थापा क्षेत्र नम्बर १ का निर्बिकल्प उम्मेद्वार थिए । राजा ज्ञानेन्द्रको शासनकालका बेलामा जनआन्दोलनलाई साथ नदिएर आलोचित भएका रानाभाट त्यस पछि पार्टीको जिम्मेबारीमा छैनन् । चुनावका बेलामा बल्ल पोखरा आएर टिकटका लागि लबिङ गरेका रानाभाट प्रति थापा असन्तुष्ट छन् । रानाभाटले पार्टी सभापति थापालाई नभेटी अन्यलाई भेटेर तथा फोन गरेर सहयोगको आग्रह गरिरहेका छन् । क्षेत्र नम्बर २ बाट महादेव गुरुङको नाम सिफारिस भए आफुहरुले टिकट नपाउने बुझेका प्रबल दावेदार शारदा पौडेल र गुरु बराल महादेवको नाम ४ नम्बर बाटै पठाउन पर्छ भन्ने पक्षमा छन् । यो क्षेत्रबाट विश्व घिमिरे, निर्मल कर्माचार्य लगायत पनि आकांक्षी छन् ।
क्षेत्र नम्बर ३ बाट शोभियतबहादुर अधिकारी, नरेश शंकर पालिखे, देवराज चालिसे र शोभाचन्द्र बराल उम्मेद्वारको आकांक्षी रहे पनि पछिल्लो समयमा सुनयना पालिखेको नाम समेत चर्चामा छ । १, २ र ४ बाट महिला उम्मेद्वार बन्ने सम्भावना निकै कम भएको र कास्कीमा एक जना महिलालाई टिकट दिनै पर्ने भएकाले सुनयनाले टिकट पाउने सम्भावना बढेको श्रोतको दावी छ । ४ मा शुक्रराजका अलावा रामचन्द्र त्रिपाठी, देवेन्द्र शेरचन, मनोज गुरुङ, दुर्गा तिमिल्सिना आकांक्षी छन् महादेव गुरुङले छोडे पछि यो क्षेत्रमा शर्मालाई टिकट पाउन सजिलो भएको श्रोतको दावी छ । उता तीन जना ठुला नेता मिलेर पार्टी सभापति यज्ञबहादुर थापा सहित युवा नेताहरुलाई पाखा लगाउन थालिएको भन्दै केन्द्रलाई दवाव दिने रणनीति बनाइएको छ । यसका लागि पुराना नेताहरु शंकर देवकोटा, भोला थापा, अशोक पालिखे, यज्ञ थापा, शारदा पौडेल, गुरु बराल, देवेन्द्र शेरचन, मनोज गुरुङ लगायतबीच छलफल चलिरहेको श्रोतले दावी गरेको छ ।

कमेन्टहरु
Loading...