गोकुल बानियाँ÷ पोखरा १५ भदौ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले आफ्नो समुदायको लागि छुट्टै सार्बजनिक सौचालय हुनुपर्ने बताएका छन् । पुरुष र महिलाको लागि छुट्टा छुट्टै शौचालय बनेपनि तेस्रो लिंगीको लागि नभएको भन्दै उनिहरुले आफ्नो समुदायको लागि प्रत्येक सेवा प्रदायक सरकारी कार्यालय संगै टोलटोलमा बन्ने सार्बजनिक शौचालय छुट्टै हुनुपर्ने बताए ।समलिंगी तेस्रोलिंगीको क्षेत्रमा काम गर्ने संस्था नौलो बिहानी पोखराले शुक्रबार गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनिहरुले समलिंगी तेस्रोलिंगीको अधिकारलाई पनि ख्याल गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । नौलो बिहानीका कार्यक्रम संयोजक राजु थकालीले यौनिक तथा लैंगिक अल्पसंख्यकको लागि अन्तरष्ट्रिय स्तरमा बिभिन्न देशल छुट्टै कानुन पनि बनाईसकेको अबस्थामा नेपालमा त्यति ध्यान नपुगेको बताए । कानुनी ब्यबस्थाको लागि अझैपनि संघर्ष गरिरहनुपरेको उनले बताएका छन् ।
२०६४ पुष ६ गते सर्बोच्च अदालतले तेस्रोलिंगी समलिंगीलाई पहिचानको आधारमा नागरिकता दिन आदेश दिएपनि अहिलेसम्म पूर्ण कार्यन्वयनमा आउन नसकेको उनले बताए । कानुनी अड्चनको कारण महिलाको भेषमा पुरुषको नागरिकता बोकेर हिड्नुपर्ने बाध्यता उनले सुनाए । त्यस्तै सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको लागि स्थानिय स्तरमा छुट्याएको बजेट जिल्ला बिकास समिति कास्कीले नदिएको गुनासो गरेका छन् । ‘ जिल्ला बिकास समिति मार्फत आउने रकम अहिलेसम्म एक पैसा पनि हातमा परेको छैन ’ थकालीले भने ।
पोखरा उपमहानगरपालिकाले भने बार्षिक २५÷२५ हजार नौलो बिहानी र परिवर्तन नेपालको लागि दिने गरेको छ । सो रकम जनचेतनामुलक कार्यक्रम संचालनमा खर्च गर्दै आएको संस्थाले जनाएको छ । दातृसंस्थाको सहयोगको अभाबमा ९ महिना संस्था संचालन गर्न समस्या भैरहेका बेला पनि संस्थाले गत बर्षको बैशाखमा आएको सेति बाढी पिडितलाई २० हजार दुई सय सहयोग गरेको थियो । कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै प्रस चौतारी कास्कीका अध्यक्ष श्यामनाथ कुवर, रेडक्रमस कास्कीका गणेश कोईराला र नौलो घुम्ती नेपालका रामशरण सेडाईले समलिंगी तथा तेस्रोलंगी समुदायको समस्या समाधानको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा समुदायको हितको लागि उत्कृष्ठ काम गर्ने चार जना तेस्रोलिंगीलाई सम्मान गरिएको थियो । उत्कृष्ठ काम गरेबापत तेस्रोलिंगी महिला मिना गुरुङ, सञ्जिब चौधरी , गौरी गुरुङ र प्रभात सुबेदीलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नौलो बिहानीका सचिब बर्षा राना, सदस्य श्रीया थापा लगायतले बोलेका थिए । पोखरामा ४१ जना समलिंगी तेस्रोलिंगी मात्र खुलेका छन् भने खुल्न नचाहनेको संख्या झण्डै ४ हजार रहेको संस्थाका अध्यक्ष रोशनी राईले बताईन् ।
२०८२ पुष १५ गते मंगलवार
यौनिक तथा लैङ्गिक अल्पसंख्यकको लागि छुट्टै शौचालय चाहियो
कमेन्टहरु