एकीकृत माओवादीद्वारा अभियानको समिक्षा

पोखरा, ३१ साउन/एकीकृत नेकपा (माओवादी) क्षेत्र नं. ४, कास्कीले अभियानको समिक्षा गरेको छ । बैठकले श्रावण १० देखि निर्वाचन क्षेत्रका सबै गाबिस र नगरका वडाहरुमा संचालित जनसम्बन्ध सुदृढीकरण अभियान प्रभावकारी रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । बैठकले आगामी निर्वाचनमा क्षेत्र नं. ४ मा एकीकृत माओवादी नै विजयी बन्ने निष्कर्ष पनि निकालेको छ ।
बैठकमा माओवादी कास्की कार्यालयका मूख्यसचिव लालमोहन तिवारी र क्षेत्र नं. ४ का संयोजक गुप्त हमाल ‘सन्देश” ले अभियान प्रभावकारी भएको भन्दै अब जनताको घरदैलोसम्म पुग्ने ठोस कार्यक्रम बउनु पर्ने बताए । यसैगरि माओवादी क्षेत्र नं. १ कास्कीले लेखनाथका वडा नं. १, २, ३ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) क्षेत्र नं. १ कास्कीको संयुक्त भेला लेखनाथमा सम्पन्न गरेको छ ।
भेलामा एकीकृत माओवादीका केन्द्रीय सदस्य सुकबहादुर रोकाले संविधान सभामार्फत बन्ने जनताको संविधानले बाँकी कार्यभार पुरा गर्ने बताए । कार्यक्रममा क्षेत्र नं. १ का संयोजक गंगा पोखरेल, चलचित्र निर्देशक शिबजी लामिछाने, नेताहरु शालिग्राम पौडेल, अर्जुन मल्ल, विनय थापा, कृष्णकुमारी घिमिरे, निर्मला सुवेदी लगायतले पार्टीका बारेमा जानकारी दिएका थिए । भेलाले बिमला पहारीको अध्यक्षतामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को निर्वाचन क्षेत्रीय समिति पनि गठन गरेको छ ।

कमेन्टहरु
Loading...