समता साङ्गीतिकमा गुञ्जिए कलाकारहरु

पोखरा, २७ साउन/पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा सम्पन्न समता साङ्गीतिक कार्यक्रममा करीब दुई दर्जन कलाकारहरु सुगम सङ्गीतको धूनमा गुञ्जिए । कार्यक्रमका नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव आभासले जुनसुकै बाजाको तालमा गीत गाए पनि त्यसमा बिशुद्ध मौलिकपनको लागि नेपाली लोकधूनको गन्ध मिसिनु पर्ने बताए ।
कलाकारहरु रामभक्त जोजिजू , विनोद बानिया , श्रीमान थुलुङ , विनित जोजिजू , सोममाया रजक लगायतकाहरुको सांगीतिक प्रस्ततिमा दर्शक तथा स्रोताहरु मन्त्रमुग्ध भएका थिए । त्यसै गरि संयपत्री संगीत प्रशिक्षण केन्द्र, त्रिवेणी संगीतालय , संगीत प्रशिक्षण केन्द्र , जोजिजू म्यूजिक सेन्टर , शारदा संगीतालय र पोखरेली युवा साँस्कृतिक परिवारको तर्फबाट पनि एक–एक वटा सांगीतिक प्रस्तुति राखेका थिए ।
कार्यक्रममा वर्षभरिका समता सांगीतिक कार्यक्रमहरुमा उत्कृष्ट प्रस्तुति र निरन्तर सहभागिताका लागि समता सांगीतिक प्रतिभा सम्मानबाट जय चापागाई र ए.बी. संकल्पलाई आभासले खाँदा तथा सम्मानपत्रका साथमा सम्मान गरेका थिए । पोखरेली युवा साँस्कतिक परिवारकी अध्यक्ष सरस्वती प्रतीक्षाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम परिवारका संगीत संयोजक प्रसाद खप्तरी मगरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन परिवारका सचिव प्रकाश ज्ञवालीले गरेका थिए ।

कमेन्टहरु
Loading...