अन्तिम राजा र नयाँ राजाहरू

मनोज दाहाल काठमाडौं
वर्तमानको आधार इतिहास हो । हामी बाँचिरहेको समयको निर्माण इतिहासका अनेकौं घटनाले गरेका हुन्छन् । सम्भवतः इतिहासको ज्ञानबिना वर्तमानलाई राम्ररी चिन्न सकिँदैन । हामी नेपाली भने विस्मृतिमा बाँच्छौं । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेयता आधुनिक नेपालको २ सय ४५ वर्षको इतिहास कण्ठाग्र गर्नु आवश्यक नहोला तर यसको मोटामोटी ज्ञानले अहिलेको राजनीति र समाज बुझ्न सजिलो हुन्छ ।
हामी भने २०६५ जेठ १५ नै भुलिदिन्छौं । वा, मधुरोमात्र सम्झन्छौं त्यो दिन पनि ।
२०६१ माघ १९, २०५८ जेठ १९, २०५२ फागुन १, २०४६ चैत २६, २०३७ जेठ २० वा २०१७ पुस १ पछिल्लो ५० वर्षयता नेपाली इतिहासका कोसेढुंगा हुन् तर यी तिथिमितिमा के भएका थिए भनेर सम्झन दिमागमा विशेष जोड नै लगाउनुपर्छ । पर्दैन त ?
सात सालभन्दा अगाडिको इतिहास त राम्ररी लेखिएकै छैन । इतिहास इतिहासजसरी लेखियो भने इतिहास हुन्छ तर पृथ्वीनारायण शाहले उपत्यका जितेयता झन्डै अढाइ सय वर्षको इतिहास इतिहासजसरी होइन, उपन्यासजसरी लेखेका छन्, धेरैजसो कथित इतिहासकारहरूले । स्कुलकलेजमा पढाइ हुने इतिहासका किताब अतिरञ्जनापूर्ण छन् ।
राजा वीरेन्द्र, राजा महेन्द्र र राजा त्रिभुवनमात्र होइन, पाठ्यक्रमका इतिहासका पुस्तकहरूमा जंगबहादुर, भीमसेन थापा वा दामोदर पाण्डेलाई पनि झुटो रूपमा चित्रण गरिएको छ । अथवा भनौं, ती चित्रणहरूमा आंशिक सत्यतामात्र छ ।
राजाहरूको गुणगान गाइएको छ, भारदारहरूलाई साखुल्लेमात्र बनाइएको छ र चौतरियाहरूको धुस्नो काढिएको छ ।
हिन्दी वा अंग्रेजी सिनेमामात्र चल्ने राजधानीका केही हलहरूमा अहिले चलिरहेको डकुमेन्ट्री ‘द लास्ट मोनार्क’ले शाहवंशका पछिल्ला राजा ज्ञानेन्द्रको पतनको कारण केही इतिहासकार, राजनीतिकर्मी र  विश्लेषकका मुखबाट खुलाएको छ, छयालीस सालयताका धेरै अतिरञ्जित भइनसकेका घटनाहरूका फुटेजको सहारा लिँदै । पत्रकार रमेश खड्काले निर्देशन गरेको ८० मिनेट लामो यो डकुमेन्ट्रीले प्राप्य तस्बिर, भिडियो र दस्तावेजका आधारमा शाहवंशीय राजतन्त्रलाई सरल रूपमा पस्केको छ । जालझेल, काटमार र सत्तासुखका लागि गरिने सयौं हथ्कण्डाहरूको नेपाली राजनीतिक परम्परा यो डकुमेन्ट्रीबाट बुझ्न सकिन्छ।
आधुनिक नेपालको अढाइ सय वर्षको इतिहास नै रगतले लेखिएको छ, विशेषगरी सुरुका १ सय ३० वर्ष । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेयता विं. सं. १८२५ देखि राणाशाहीको मध्यसम्म नै नेपालको राजनीतिलाई षड्यन्त्र, काटमार र सत्तालोभको दुष्चर्कले घेरिरह्यो । त्यसपछि पनि राजनीतिक अवस्थामा उल्लेख्य सुधार आएको त होइन तर सत्ताका लागि हुने काटमार भने कम भयो । षड्यन्त्र र सत्ताका लागि गरिने निम्नस्तरीय चालहरू त नेपाली राजनीतिका अविभाज्य पक्ष रहँदै आएका छन् ।
चन्द्रशमशेरको पालादेखि, अझ खासगरी सात सालयता राजनीतिक सुधारका सामान्य संकेत भने देखिन थाले तर राजा त्रिभुवन, राजा महेन्द्र, राजा वीरेन्द्र वा राजा ज्ञानेन्द्रले पनि आफ्नो नजरमा अरुलाई प्रजा नै देखे, रैती नै ठाने, जनता मानेनन्  । अरूको बोली सुनिरहनु जरुरी ठानेनन् । दल वा समाजका विभिन्न तप्काका आवाजलाई सम्बोधन गर्नु आवश्यक ठानेनन् ।
यी चार जना राजाको मनमा गहिरोसँग गढेको एक्लै हिँड्ने सोच नै सम्भवतः राजतन्त्र उन्मूलनको मूल कारण हो ।
निर्देशक खड्काका अनुसार नेपाल आधुनिक इतिहासमा विश्वको २१ औं राज्य हो भन्ने तथ्य डकुमेन्ट्रीमा खुलाउन उनले विदेशी लेखकहरूले गरेका अनुसन्धानको सहारा लिएका छन् । डकुमेन्ट्रीमा पस्किएको नेपालको इतिहास भने, २०४६ सालअघिको, धेरै विस्तृत र गहिराइपूर्ण छैनन् । मोटामोटी जानकारीमात्र दिनेखालका छन् । छयालीस सालको केही फुटेजपछि डकुमेन्ट्रीमा दरबार हत्याकाण्डताकाको फुटेज भने प्रचुरमात्रामा देखिन्छ । कारण, त्यसयताका कतिपय फुटेज टिभी पत्रकार खड्काले आफैं खिचेका वा बटुलेका हुन् ।
सर्वसाधारण भएको पाँच वर्षपछि पूर्वराजा ज्ञानेन्द्र देशाटन गर्दै सक्रिय राजनीतिको ख्वाहिस बाँधिरहेका बेला रिलिज भएको यो डकुमेन्ट्रीको अन्तिम विन्दू २०६५ जेठ १५ गते हो जुन दिन आकस्मिकताले सिंहासनमा आइपुगेका राजा महेन्द्रका यी माइला छोराले नारायणहिटी छाडेका थिए । उनका दाजु राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड राजतन्त्र पतनको प्रमुख कारणका रूपमा डकुमेन्ट्रीमा चित्रण गरिएको छ भने राजा ज्ञानेन्द्रका महत्वाकांक्षी र सक्रिय शासनको लुब्धोपनाले निम्त्याइएका कतिपय घटनालाई शाहवंशको पतनका थप कारण मानिएको छ ।
ज्ञानेन्द्रले नारायणहिटी छाडेपछिका पाँच वर्षमा संविधान बनेन । धर्म निरपेक्षता, गणतन्त्र र संघीयता घोषणाको विधि र प्रक्रिया आलोचनाको विषय बने । माओवादी, कांग्रेस र एमालेका आवाज कमजोर हुँदै गए वा आमजनताले सुन्न छाडे। भनौं, पत्याउन छाडे ।
संवैधानिक राजतन्त्रको खुला वकालत गर्ने एक्लो व्यक्ति कमल थापाको आवाज मुखर हुँदै गएको छ । यही बेला ज्ञानेन्द्र जनताको मन बुझ्न विभिन्न बहानामा गाउँ पसिरहेका छन् । उनका गतिविधिले ‘नयाँ राजाहरू’लाई चुनौती दिइरहेको छ ।
पत्रकार खड्काले डकुमेन्ट्रीमा व्याख्या गरेजस्तै ज्ञानेन्द्र निश्चय नै नेपालका अन्तिम राजा हुन्– द लास्ट मोनार्क । तर, दलहरूको लुरेपना यही गतिमा बढ्दै गए र दुई दिनअघि प्रचण्डले गणतन्त्र घोषणापछिका आफ्ना गल्ती स्वीकार गरेजसरी नेताहरूले आत्मालोचना गर्ने क्रम तीव्र रूपमा सुरु नभए ज्ञानेन्द्र कुनै न कुनै रूपमा फेरि सत्तामा आउन सक्ने सम्भावना, झिनो नै सही, लाई भने अस्वीकार गर्न सकिँदैन ।
वर्तमानको आधार इतिहास हो । विस्मृतिमा आनन्दित हुने बानी परेका नेपाली जनताले गणतन्त्र घोषणापछि दलहरूले खेलेको कमजोर भूमिकाको इतिहासमात्र सम्झिदिए र त्योभन्दा अघि एक्लै हिँड्ने बानी परेका राजाहरूलाई भुलिदिए भने नेपालको राजनीतिले फेरि अर्को मोड लिनसक्छ । ‘द लास्ट मोनार्क’ले कमसेकम दर्शकहरूलाई यो मनन गर्न प्रेरित गर्छ ।
– See more at: http://setopati.com/raajneeti/3032/#sthash.ODJamqlK.dpuf

कमेन्टहरु
Loading...