घरजग्गाको कारोबारसँगै मुद्दा पनि बढे

घर जग्गाको कारोबार बढेसँगै यस सम्बन्धी मुद्दा समेत बढेका छन्। जिल्ला अदालत कैलालीमा घरजग्गा कारोवारका मुद्दा वर्षेनी बढेको पाईएको छ।  अदालतका अनुसार आर्थिक वर्ष २०६८/६९ मा ३ सय ५० रहेका घरजग्गा कारोबारका मुद्दा गत आर्थिक वर्षमा बढेर ४ सय ७० पुगेका छन्।  चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै यस सम्बन्धी ४० वटा मुद्दा दर्ता भएका जिल्ला अदालत कैलालीका श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिएका छन्। कतिपय विवाद आपसी सहमतिमै मिलापत्र भएपनि कतिपय भने अदालतसम्म पुग्ने गरेका छन्। सहमति र सम्झौता अनुसार काम हुन नसक्दा घरजग्गा कारोबारका घटना अदालतसम्म पुग्न थालेका छन्। ‘कति मुद्दा त आपसी सहमति मै मिलाउने गरिएको पाईन्छ’ उनले भने–’अन्त्यमा मात्रै विवाद अदालतसम्म पुग्ने गरेको छ।’

घरजग्गा कारोबारका मुद्दा बढेसँगै जिल्ल्ाा अदालत कैलालीले समयमा फैसला गर्न सकेको छैन। आर्थिक वर्ष २०६८/६९ मा ३ सय ५० वटा मुद्दा दर्ता भएकोमा १ सय ५४ र गत आर्थिक वर्षमा ४ सय ७० वटा मुद्दा दर्ता भएकोमा २ सय ५१ वटा मुद्दा मात्रै फैसला भएका छन्।
जिल्ला अदालत कैलालीले मुद्दा छिटो भन्दा छिटो फैसलाका लागि पहल गरिरहेको छ। जनशक्तिको अभावमा मुद्दा फैसला समयमा हुन नसकेको गुनासो आउन थालेपछि अदालतले यस बारेमा पहल गरेको हो।
मुद्दा बढेसँगै अदालतले छिटो छरितो सेवा दिन दरबन्दी थप गरेको छ। दुई जनाको दरबन्दी थप गरेर मुद्दा छिटो भन्दा छिटो फैसलाको व्यवस्था गरेको जिल्ला अदालत कैलालीका नायब सुब्बा भानुभक्त पाण्डेले जानकारी दिएका छन्।
‘जति सक्दो चाँडो फैसलाका लागि प्रयास भैरहेको छ’ उनले भने–’यसले केही राहत हुनसक्ने विश्वास गरिएको छ।’
घरजग्गा कारोबारमा भएका विवादका बारेमा राय सल्लाह लिन पीडितहरु कानून व्यवशायी कहाँ पुग्ने गरेका छन्। उनीहरु आफूलाई परेको समस्यालाई कसरी कानूनी रुपमा हल गर्न सकिन्छ भन्ने राय सुझाव लिन कानून व्यवशायी कहाँ पुग्न थालेका हुन्।
अधिवक्ता देवराज अवस्थी घरजग्गा कारोबारबाट पीडित बनेको भन्दै धेरै व्यक्ति आफू कहाँ आउने गरेको बताउँछन्।
‘घरजग्गाको कारोबारबाट ठगिएको भन्दै धेरै व्यक्ति राय सल्लाह लिन आउन थालेका छन्’ उनले भने–’यसरी आउने सर्वसाधारणको संख्या दिन प्रति दिन बढ्दो क्रममा छ।’
एउटा घरजग्गा धेरै व्यक्तिलाई बेच्ने र समस्या खडा हुने गरेको छ। यस्तो कार्यमा घरजग्गाको दलालीमा संलग्न व्यक्तिहरु सकृय हुने गरेका छन्। उनीहरुले मध्ये कतिले विवाद हुने जान्दा जान्दै पनि यस्तो कार्य गर्ने गरेको सर्वसाधारणको गुनासो छ।

– See more at: http://setopati.com/raajneeti/3028/#sthash.25H2bl1c.dpuf

कमेन्टहरु
Loading...