नक्कली सुनका गहना बनाएर करौडौ ठगी गर्ने गिरोह पक्राउ

नक्कली सुनका गहना बनाएर ग्राहक ठग्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। विहिबार इलाका प्रहरी कार्यालय बिर्तामोडले नक्कली सुनको गहना बनाएर ग्राहक ठग्ने गिरोहका नौ जनालाई अनारमनीबाट पक्राउ गरेको छ। प्रहरीले सो गिरोहबाट साढे तीन किलोभन्दा बढीका नक्कली गहना समेत बरामद गरेको छ। 

प्रहरीका अनुसार सो गिरोहले ठूलो परिमाणमा नक्कली गहना बनाएर बिक्री गर्दै आएको थियो। बाहिर सुनको लेपन लगाइ भित्र चाँदी वा तामा प्रयोग गरी गहना बिक्रि गरेको पाईएको छ।
बिक्रि गरेर बाँकी रहेका गहना अर्का ज्वेलर्समा धरौटी राख्ने क्रममा घटना सार्वजनिक भएको हो। प्रहरीले बुधबार गिरोहका नौ जनालाई झापाको बिभिन्न स्थानबाट पक्राउ गरी बरामद नक्कली गहनासहित बिहिबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा आयुष ज्वेलर्सका सञ्चालक घैलाडुब्बा १ का सन्तोष बराइली, पदम बराइली, लालबहादुर राई रहेका छन्। त्यसैगरी सुरुङ्गा १ का उर्मिला विक, अनारमनी ३ का ओमप्रकाश लुहागुन, मदन अग्रवाल, सन्दीप कुमार अग्रवाल, शनिश्चरे २ का राजन खाती र धादिङ्ग घर भएका अनिल बराइली पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीले छापा मार्ने क्रममा ओमप्रकाश लुहागुनको कारखानाबाट एक सय ९९ ग्राम नक्कली सुन बनाउन प्रयोग हुने सामग्री र उपकरण समेत बरामद गरेको छ। त्यसैगरी अनारमनी ३ कै मदन अग्रवालको गितादेवी ज्वेलर्सको कारखानाबाट नक्कली भनिएको दुई हजार आठ सय ७५ ग्राम र सक्कली भनिएको पाँच सय २३ ग्राम सुनका गहना बरामद गरेको हो।
घैलाडुब्बा १ का सन्तोष बराइलीको आयुश ज्वेलर्सबाट धरौटी राखी लिएको ८० हजार नगद सहित २६ ग्रामको १ थान नक्कली चुरा बरामद गरेको छ। घैलाडुब्बा १ कै पाथीभरा ज्वेलर्समा नक्कली ब्रासलेट धरौटी राखी रकम लिन खोजेेपछि ज्वेलर्सका सञ्चालक युवराज चिमरीयाले गहना नक्कली भएको पत्ता लगाई प्रहरीलाई खबर गरेका थिए।
उनको पसलमा २५ ग्रामको ब्रासलेट धरौटी राख्न गएका तीन युवालाई पक्राउ गरेपछि तिनको सुचनाको आधारमा थप ६ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रविन्द्र केसीले बताए।
केसीका अनुसार यदी सो परिमाणको गहना सक्कली हुँदा २ करोड बढी मुल्यको हुने छ। नक्कली गहनाको कारोवार गर्ने सो गिरोहले देशभरका बिभिन्न बैंक तथा बित्तिय संस्थामा समेत ठूलो परिमाणमा कारोबार गरेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ।
यस सम्बन्धमा सम्बन्धित कार्यालयलाई पत्राचार गरि कारोबार भए/नभएको सूचना लिइरहेको डिएसपी केसीले बताए। उनका अनुसार गिरोहले धेरै सर्वसाधारणलाई समेत यस्तो गहना बिक्रि गरेको हुनसक्ने अनुमान गरिएको छ। पक्राउ परेकामध्ये अग्रवालद्धय बिरामी परेको बहानामा अस्पताल भर्ना भएका छन्। पक्राउ परेकामध्ये अग्रवालसँग सबैभन्दा धेरै नक्कली गहना फेला परेको छ। उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्टहरु
Loading...