रेमिट्यान्सले देशको विकास हुन सक्दैन ः सल्लाहकार नेपाल

सागर राज तिमिल्सिना
साउन २४, पोखरा/नेपाल सरकारका आर्थिक सल्लाहकार चिरन्जिवी नेपालले वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सले नेपालको विकास हुन नसक्ने बताएका छन् । १४औं अन्तराष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार पोखरामा आयोजित अन्तरक्रियामा बोल्दै उनले वर्षेनी लाखौं युवाले विदेश गएर रेमिट्यान्स बढाउने काम गरेपनि देश विकासमा योगदान पु¥याउन नसकेको जिकिर गरे ।
रेमिट्यान्सबाट देश भित्रिएको रकम अनुत्पादक क्षेत्रमा मात्र लगानी भइरहेको उनको भनाइ छ । अधिकांश रेमिट्यान्स खानेकुरा र विलाशितामा मात्र खर्च भएको उनले बताए । नेपालबाट दैनिक १५ सय युवाहरु रोजगारीको शिलशिलामा विदेशीने गरेको तथ्यांक सार्वजनिक गर्दै नेपालले देशमा श्रमशक्ति अभाव हुँदै गइरहेकोप्रति दुःख व्यक्त गरे । वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशत अदक्ष कामदार रहेको उनले बताए ।
रोट्रयाक क्लब अफ पोखरा अन्नपूर्णद्वारा आयोजित सो कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मूल्मीले सरकारले देशमा युवा स्वरोजगार बढाउन स्पष्ट नीति लिनुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष विन्दुकुमार थापाले वैदेशिक रोजगारीमा जानुपर्ने युवाहरुको बाध्यतालाई अन्त्य गर्न उद्यमशीलताको विकास गरिनुपर्ने भनाइ थियो ।

कमेन्टहरु
Loading...