कहाँबाट आयो केही वर्षमै अर्बको सम्पत्ति?

खिलानाथ ढकाल विराटनगर,

केहि बर्षमा अर्ब भन्दा बढिको मालिक बनेका नोबेल अस्पताल विराटनगरका सञ्चालक सुनील शर्माको सम्पत्तिको स्रोत खोज्न सरकारले तदारूकता देखाएको छ।

बुधबार छापा मारेर आर्थिक कारोबारका कागजात जफत गरेपछि राजश्व अधिकारीले यतिधेरै सम्पत्ति कहाँबाट आयो र त्यसको कानुनी प्रक्रियाबारे अनुसन्धान सुरू गर्न थालेका हुन्। अख्तियारले पनि उनलाई छानबिन गरिरहेको छ। 
राजश्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय इटहरीका प्रमुख योगनाथ पौडेलका अनुसार शर्मा र उनीद्वारा सञ्चालित अस्पतालको आर्थिक कारोबारहरूले कानुनी दायित्व पूरा गरेको देखिँदैन। ‘यतिधेरै प्रोपर्टी कहाँबाट आयो यसैलाई अनुसन्धानको विषय बनाएका छौं, सबै डकुमेन्ट फेला पार्न सकिएको छैन,’ पौडेलले सेतोपाटीसँग भने, ‘यत्रो सम्पत्तिको स्रोत के हो? खोजी भइरहेको छ। विस्तारै बुझ्दै जानुहुनेछ।’
विभागका अनुसार चार महिनाअघि परेको उजुरीको आधारमा शर्मासँग वयान लिँदा उनले एक अर्बसम्मको कारोबार गरेको स्वीकारेका थिए। तर नोबेल अस्पताल र शर्माको चलअचल सम्पत्ति दुई अर्बभन्दा बढी रहेको स्रोतको दाबी छ। प्रारम्भमा नोबेल अस्पतालको एकल स्वामित्वबाहेक  अन्य सम्पत्ति देखिएको छैन । आफ्नै बाबु लोकनाथ न्यौपानेलाई अध्यक्ष र डा. भोगेन्द्र उपाध्यायलाई मुख्य कार्यकारी निर्देशक राखेर शर्माले अस्पताल चलाइरहेका छन्।
‘यत्रो मेडिकल अस्पताल सञ्चालन गर्ने सम्पत्ति उनले कहाँबाट ल्याए?,’ उनीसँगै पहिले काम गरेका एक सहकर्मी भन्छन्, ‘फुटपाथमा रहेका व्यक्तिलाई अर्बौं सम्पत्ति कहाँबाट आउँछ?’ उनको सम्पत्तिको स्रोत खोज्दा नेपाल र भारतबाट चीनका मेडिकल कलेजमा विद्यार्थी ओसारेको देखिन्छ। तर त्यहाँबाट कति सम्पत्ति आयो वा आएन र त्यसले कानुनी दायित्व पूरा गरेको छ छैन सरकारी अधिकारीलाई जानकारी छैन।
बेलबारी गाविसको एउटा साधारण परिवारका शर्मा राजनीतिक व्यक्तिकै आड लिएर मेडिकल क्षेत्रमा प्रवेश गरे। उनलाई मेडिकल क्षेत्रमा प्रवेश गराउनुमा कांग्रेस नेता डा. शेखर कोइरालाको हात रहेको ठान्नेहरुको कमी छैन। चीनमा विद्यार्थी पठाउँदा आएको कमिसन र कोइरालालाई ‘स्लिपीङ् पार्टनर’ बनाएर शर्माले मेडिकल कलेजमा लगानी गरेको विश्वास धेरैको छ।
स्रोतले दिएको जानकारी अनुसार नोबेलका त्यतिबेलाका सञ्चालक डा. ज्ञानेन्द्र गिरीले काठमाडौं विश्वविद्यालयबाट मेडिकल कलेजको सम्बन्धन लिन जाँदा कोइरालाले सेयर मागेको आरोप लगाउने गरेका छन्।
तर डा. कोइरालाले सेतोपाटीसँगको सम्पर्कमा भने, ‘मेरो सेयर छ भने खोज्नुस्, अख्तियारले खोज्छ, मैले भनिनरहनुपर्दैन, तर बदनाम गर्ने काम नगर्नुस्।’
२०६४ सालमा सम्बन्धन लिँदा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। ‘शेखर कोइरालाले बालुवाटारमै पुर्‍याएर हामीलाई त्यो सर्त राख्नुभयो, उहाँले सुनील शर्मालाई अघि सार्नुभयो,’ त्यतिबेलाको सञ्चालक समितिमा रहेका एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हामीले स्वीकार्नै पर्ने बाध्यता थियो, नत्र सम्बन्धन नदिने उहाँले बताइसक्नुभएको थियो।’
सम्बन्धन लिइसकेपछि ती पाँच जना सञ्चालकलाई माओवादी लगाएर अपहरण गराई नोबेलबाट शर्माले नै अलग गराए। डा. गिरीले अपहरण मुद्दा दायर गरेपछि हनुमानढोका प्रहरीमा शर्मालाई पुर्‍याए पनि उनी चार दिनमात्र हिरासत बसे।
माओवादी नेता वर्षमान पुनमार्फत फोन गरेर छलफल गर्न भन्दै काठमाडौं बोलाएपछि गिरीसहित नवराज पाण्डे, आदित्य खनाल, उमेश पाण्डे लगायतलाई काभ्रे कामीडाँडा पुर्‍याएर मरणासन्न हुनेगरी पिटाइएको थियो। नेता पुनले वाइसीएल लगाएर उनीहरूलाई काभ्रे पुर्‍याएको ती सञ्चालक स्मरण गर्छन्। त्यसयता शर्मा वर्षमानका ‘प्रिय’ बनेका छन्।
२०५९ सालमा स्थापना गर्दा डा. ज्ञानेन्द्र गिरी अध्यक्ष रहेको नोबेल अस्पताल २८ करोड थियो। सुनील त्यसमा १६ प्रतिशत सेयर लिएर छिरेका थिए। लगत्तै १६ बाट उनले २८ प्रतिशत सेयर पुर्‍याएका थिए। पहिलेको सञ्चालक समितिका सबै हटाएपछि डा. ज्ञानेन्द्र कार्की ५० प्रतिशत सेयर लिएर शर्माकहाँ पुगेका थिए। उनीसँग काम गर्न नसकेपछि कार्की पनि बाहिरिए।
‘हाम्रो अनुसन्धान यहाँ पनि छ कि सेयर हस्तान्तरण कसरी भयो,’ राजश्वका एक अधिकारीले भने, ‘यहाँ पनि गडबड बुझेका छौं।’
कार्की आफ्नो सेयर फिर्ता गराउन सफल भए पनि शर्माका विभिन्न हर्कतदेखि आजित भएको गुनासो अहिले पनि गर्छन्। ‘मैले बल्लबल्ल सेयर चाहिँ फिर्ता गराएँ,’ कार्की भन्छन्, ‘त्यतिबेला नोबेल डुबेको थियो, मेरो सेयरले गर्दै उक्सिएको हो।’
सुनील निकटस्थका अनुसार लेटाङमा माध्यमिक तह पढ्दा उनको नाम राजेन्द्र थियो। एसएलसी फेल गरेपछि कालीकोट गए। त्यहाँ उनका मामा बस्थे। उताबाट फेरि ९ कक्षादेखि अध्ययन गरेर एसएलसी प्रथम श्रेणीमा पास भएर आउँदा राजेन्द्रको नाम सुनील भइसकेको थियो।
आमोदप्रसाद उपाध्याय शिक्षामन्त्री भएको पाला उनकै जोडबलले शर्मा एमबिबिएस पढ्न भन्दै चीन गएका थिए। तर उनी त्यहाँ ६ महिना बस्दै मेडिकल कलेजका लागि विद्यार्थी ओसार्ने ‘गिरोह’ बनेर नेपाल आए। ‘उनले एमबिबिएस पढे वा पढेनन् थाहा भएन,’ उनी निकट एक सहकर्मीले भने, ‘तर अगाडि डा. लेख्छन।’
स्रोतहरूले जनाए अनुसार पुन अर्थमन्त्री हुँदा शर्माले काठमाडौंस्थित पिपुल डेन्टल मेडिकल कलेजमा पनि आफ्नो ५० प्रतिशत सेयर पुर्‍याएको आशंका छ।
जनयुद्धकालमा माओवादी निकट देखिने शर्मा छेपाराको रंगझैं आफ्नो रूप फेरिरहन्छन्। एमाओवादी, कांग्रेस र एमालेका प्रभावशाली नेतासँग शर्माको राम्रै हिमचिम छ। ‘गुन्डा नाइके’ पर्शुराम बस्नेतसँग पनि शर्मा निकट छन्। सम्पत्ति शुद्धिकरण मुद्दामा दुई करोड धरौटी बुझाएर छुट्दा बस्नेतलाई लिन शर्मा केन्द्रीय कारागारै पुगेका थिए।

– See more at: http://setopati.com/raajneeti/3002/#sthash.XbRhqfBf.dpuf

कमेन्टहरु
Loading...