एकार्कामा कुरा राख्ने, सुन्ने र पुनः वार्तामा बस्ने सहमति

एकार्कामा कुरा राख्ने, सुन्ने र पुनः अर्को वार्तामा बस्ने सहमतिसहित उच्चस्तरीय राजनीतिक समिति र सङ्घीय समाजवादी पार्टीबीच भएको वार्ता सम्पन्न भएको छ । आगामी मङ्सिर ४ मा दोस्रो संविधानसभाको दोस्रो निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा रहेको समितिसँग आबद्ध दल र निर्वाचनका लागि आफ्नो पार्टीले राखेको माग पूरा हुुनुपर्छ भन्ने सर्त राखेको सो पार्टीबीच आज बिहान नयाँ बानेश्वरमा वार्ता भएको थियो । “वार्तामा समितिमा आबद्ध दलका नेतालाई आफ्नो पार्टीका माग राख्यौँ,  बुँदागतरुपमा व्याख्या तथा विश्लेषण ग¥याँै, उहाँहरुले गम्भीरतापूर्वक कुरा सुन्नुभयो र मागका सम्बोधनका बारेमा छिट्टै निर्णयमा पुगिने जानकारी दिनुभयो ।” वार्तामा सहभागी समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले वार्तापछि सञ्चारकर्मीलाई बताए ।

पार्टीले राखेका मागमा दलहरुबीचको ११ बुँदे  र बाधा अड्काउ फुकाउ आदेशको २५ बुँदे सहमति खारेज हुनुपर्ने, समिति  खारेज गरी सर्वदलीय राजनीतिक सम्मेलनबाट नयाँ समिति गठन गर्नुपर्ने, सभासद्को सङ्ख्या ६०१ घटाउन नहुने, निर्वाचन प्रक्रिया नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने, विदेशमा रहेका नेपाली मतादातालाई पनि  निर्वाचनमा मताधिकारको व्यवस्था गर्नुपर्ने लगायत छन् । ती माग पूरा गर्न पार्टीले राष्ट्रपतिलाई ज्ञापनपत्रसमेत दिइसकेको छ ।
सो पार्टीले राखेका मागलाई के कतिरुपमा सम्बोधन गर्न सकिन्छ भनेर समितिमा आबद्ध दलले आन्तरिक छलफल गरी साझा धारणा बनाएपछि शनिबार पुनः छलफलमा बस्ने वार्तामा सहभागी दलका नेताले जानकारी दिए । एकीकृत नेकपा (माओवादी)का नेता नारायणकाजी श्रेष्ठले समाजवादी पार्टीले राखेका मागका बारेमा अन्तरपार्टी छलफल गरी साझा धारणा बनाएपछि शनिबार निर्णायक वार्ता हुने बताए ।
“हामी निर्वाचनका विरोधी होइनौँ तर निर्वाचनमा भाग लिने वातावारणको सुनिश्चितताका लागि हाम्रा जायज माग सम्बोधन हुनु जरुरी छ ”– समाजवादी पार्टीका अध्यक्ष राईले भने ।
वार्तामा सहभागी नेकपा (एमाले)का नेता रघुजी पन्तले समाजवादी पार्टीले राखेका माग सुन्ने काम बैठकमा भएको जानकारी दिए । उनले निर्वाचनको मिति सार्ने तथा  ११ र २५ बुँदे सहमति खारेज गर्ने काम आफ्नो पार्टीलाई स्वीकार्य हुन सक्दैन भन्दै अन्य विषयमा पार्टी लचिलो हुन सक्ने बताए ।
निर्वाचमा सबै पार्टीको सहभागिता होस् भनेर निर्वाचनको विपक्षमा देखिएका नेकपा–माओवादी र  मधेसी जनअधिकार फोरम नेपालसँग मङ्गलबार शीर्ष तहमा कुराकानी भएको नेता पन्तले जानकारीसमेत दिए ।
वार्तामा उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र  नेता डा बाबुराम भट्टराई, नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेल र  नेता डा रामशरण महत तथा एमालेका उपाध्यक्ष वामदेव गौतमलगायतको सहभागिता थियो ।
यसैबीच समितिले निर्वाचनका विपक्षमा देखिएका नेकपा–माओवादीसहित ३३ दलसँग वार्ता गरी ती दलका माग सुन्ने काम सम्पन्न गरेको छ । “अबको वार्ता निर्णायक हुन्छ”– नेकाका कार्यवाहक सभापति पौडेलले भने । रासस

– See more at: http://setopati.com/raajneeti/3005/#sthash.5SUF3wDo.dpuf

कमेन्टहरु
Loading...