सञ्चार माध्यमहरु आवाज विहिनहरुको आवाज बन्नुपर्ने

पोखरा, २४ साउन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीले फोनिजको १४ औं स्थापना दिवस र १९ औं विश्व आदिवासी दिवसको सन्दर्भमा आज पोखरामा शुभकामना र चियापान कार्यक्रम सम्पन्न गरेको छ । 
शुभकामना व्यक्त गर्नेहरुले सञ्चार माध्यमहरु साँचो अर्थमा आवाज विहिनहरुको आवाज बन्न नसकेको र पत्रकारहरुको क्षमता अभिवृद्धि आवाश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्ती भुजेलले फोनिजको स्थापना र विश्व आदिवासी दिवस दुवै आदिवासी जनजातिका पहिचानसँग जोडिएको छ भन्नुहुदै राज्यले अझै पनि विभेदकारी बनिरहेको छ भन्नुहुदै पहिचानलाई जातियतासँग जोडेर षडयन्त्र गरिरहेको बताउनुभयो ।
तमु धिं नेपालका अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्नुहुदै सञ्चारमाध्यमहरु अझै पनि आवाजविहिनको आवाज बन्न नसकेको बताउनुहुदै यही साउन १७ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लापारवाहीका कारण मृत्यु भएकी ममता गुरुङको घटनामा समेत केही सञ्चार माध्यमहरु बाहेक पोखराका अधिकांश सञ्चार माध्यमहरुले उक्त समाचारलाई स्थान नदिनु दुख लाग्दो हो भन्नु भयो । उहाँले मौलिक भाषा, कला, सँस्कृति संरक्षणका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुहुदै फोनिजले गर्ने हरेक गतिविधीमा आफुहरुको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीविनोद प्रतीकले सञ्चारमा प्रविधीको विकास तिव्रत्तर हुदै गएको र दक्ष जनशक्तिमा विशेष जोडदिनुपर्ने बताउनुहुदै भाषाभाषीको विकासका लागि जातिय संस्थाहरुको पनि दायित्व हुनुपर्ने बताउनुभयो । फोनिज कास्कीका सल्लाहकार अधिवक्ता सुरेन्द्र थापामगरले सञ्चार माध्यम सबैको हुन सकेको छैन, सत्ता र शक्तिमा रहेकाहरुलाई प्राथमिकता दिनु नै मुलधारको पत्रकारिता भईरहेको आरोप लगाउनुहुदै सञ्चार आवाज विहिनको आवाज हुनुपर्नेमा जोड दिनुभयो ।
फोनिज कास्कीका संस्थापक अध्यक्ष रुद्रबहादुर थापामगरले विभेदमा पारिएका महसुस गरेका आदिवासी जनजातिका समस्या र विषयलाई सञ्चार माध्यम मार्फत प्रचार प्रसार गर्न उद्धेश्यले निकै कठिनाईका विचमा फोनिजको स्थापना गरेको बताउनुहुदै अहिले फोनिजले राम्रो काम गर्दै गएको छ, अब दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।
क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य माधव पनेरुले मुलुकमा धेरै परिवर्तन भए पनि सञ्चार क्षेत्रमा परिवर्तन हुन सकेन, श्रमजिवीको अधिकार सुनिश्चित हुन नसकेको गुनासो गर्नुभयो ।
प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम नाथ कुँवरले शुभकामना व्यक्त गर्नुहुदै अरुको समस्यामा चिन्तित हुने पत्रकारहरु आफ्नै समस्यामा कहिल्यै चिन्तित नवनेको बताउनुहुदै अब पत्रकारको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष क्या.रुपबहादुर तमुले दिवसको बेलामा मात्रै अधिकारका कुरा उठाउने अरु बेलामा सुस्ताउने गर्नुहुदैन भन्नुहुदै सबैको समान अधिकारका लागि पत्रकारहरुले विशेष कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
फोनिज कास्कीका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रुद्र श्रीसमगरले स्वागत र सचिव रोशनी तमुले सञ्चालन गर्नुभएको थियो । पत्रकार, अदिवासी जनजाति संघ संस्था, तमु समाजहरुको अगुवाहरुको बृहत उपस्थिती रहेको कार्यक्रममा शुभकामना आदानप्रदानका साथै चियापान गराइएको थियो ।

कमेन्टहरु
Loading...