पोखरा, ७ चैत/प्रदेश ४ कोे प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०७४ सर्वसम्मत पारित गरेको छ । मगलबार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी पाएका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रामशरण बस्नेतले प्रदेश सरकार प्रदेश नं ४ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०७४ लाई पारित गरियोस् भन्दै गरेको प्रस्ताव केही सम्सोधन गर्दै बैठकले सर्वसम्मत पारित गरेको हो ।
त्यस्तै बैठकले प्रदेश सभा अन्तर्गत रहने विभिन्न समितिका सदस्य चयन गरेको छ । बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यस अघि पाँच सदस्य चयन भएको विधायन समितिमा सदस्य थपका साथै सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति र अर्थ तथा विकास समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गरेको बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो ।
बैठकले अनुमोदन गरेका सदस्यहरूमा विधायन समितिमा ललितकला गुरुङ, कृष्णचन्द्र नेपाली पोखरेल र चन्द्रबहादुर बुढालाई थप गरिएको छ । सार्वजनिक लेखा समितिमा ओमकला गौतम, विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ, रामबहादुर गुरुङ, पियारी थापा, गायत्री गुरुङ, दीलमाया रोका र प्रकाशचन्द्र्र दवाडी रहेका छन् ।
प्रदेश मामिला समितिमा चिन्तबहादुर घले, मनकुमारी गुरुङ, कोपिला बोहोरा, मधु अधिकारी, दीपक थापा र मीत्रकुमारी गुरुङ सुवेदी रहेका छन् । त्यस्तै अर्थ तथा विकास समितिमा दीपक कोइराला, विनोद के.सी., दोबाटे विश्वकर्मा, सरिता गुरुङ, भगवत प्रकाश मल्ल, कृष्ण थापा, जनकलाल श्रेष्ठ र हरिशरण आचार्य रहेका छन् ।