चोरीका घटना बढेपछि प्रहरीको नयाँ योजना

पोखरा, २३ साउन /पोखरामा पछिल्लो समय श्रृंखलाबद्ध रुपमा चोरीका घटना बढेको छ । यसले यो पुस्टी गर्छ कि पोखराको विभिन्न स्थानमा चोरी गर्नका लागि एउटा गिरोह नै सक्रिय छ । प्रहरीले समेत यो कुरालाई यसरी नै लिएको छ ।
हिजो राती मात्रै पोखराको व्यस्त बजार न्यूरोडका दुईवटा पसलमा चोरी भएको छ । चोरहरुले मजबुत तरिकाले बन्द गरेका सटरहरुबाट समेत चोरी गरेका छन् । हरपल प्रहरीको सिआरभी भ्यान गुडिरहने र प्रत्येक घरमा भएका बैंकमा बस्ने गार्डको सुरक्षा हुँदा हुँदै पनि चोरी भएपछि यतिबेला पुरै पोखरा त्रसित बनेको छ । गएराती न्यूरोडको शुभारम्भ मोबाईल्स र अश्लेशा मेडिकल हलमा चोरी भएको हो । दुई ठाउँमा गरेर लगभग ५ लाख बराबरको चोरी भएको सम्बन्धित सटरधनीहरुले बताएका छन् ।
शुभारम्भ मोबाईल्सबाट चोरले सटर फोडेर ८० वटा मोबाईल, पाँच हजार रुपैँया नगद र करिब ७ हजार रुपैँया बराबरको रिचार्ज कार्ड चोरेका छन् । ‘लाभा, स्पाईस, कार्बोन, माईक्रोम्याक्स र अन्य चाईनिज ब्राण्डका मोबाईलहरु शो केशबाट एउटै पनि नराखी चोरी भएको छ ।’ मोबाईल पसलका संचालक सुरज विश्वकर्माले भने–‘बलियो गरेर बाहिर भित्रैबाट ताला लगाएको थिएँ तर पनि चोरले सबै कुरा चोरेछन् ।’ उनका अनुसार करिब साढे तीन लाख रुपैँयाको क्षती भएको छ ।
मोबाईल पसलभन्दा करिब पचास मिटर तल पोखरा उपमहानगरपालिका कार्यालयको ठ्याक्कै अगाडी रहेको अश्लेशा मेडिकलमा समेत चोरहरुले सटर फोडेर एउटा कम्प्युटर सेट र दश हजार रुपैँया नगद चोरेका छन् । चोरहरुले मेडिकलमा रहेको नाक, कान, घाँटी जाँच गर्ने ईएनटी सेट समेत लगिदिएको संचालक सरिता बाँस्तोलाले जानकारी दिईन् । बाँस्तोलाका अनुसार चोरहरुले करिब १ लाख ५० हजार रुपैँया बराबरको क्षती पु¥याएका छन् ।
मुख्य बजारमा चोरीका घटना बढेपछि प्रहरीले विशेष योजना सहित चोरी न्यूनिकरणका लागि लाग्ने भएको छ । केहि समय यता पोखराका विभिन्न स्थान र ग्रामिण भेगहरुमा चोरीका घटना बढेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले ‘चोरी नियन्त्रण विशेष योजना’ लाई कार्यान्वयन गर्ने भएको छ ।
चाडपर्वहरु समेत नजिक आईरहेकोले चोरी, लुटपाटका घट्ना हुन गर्न नदिई सर्वसाधारणमा सुरक्षाको प्रत्याभुती प्रदान गर्न यस्तो योजना अगाडी सारिएको प्रहरीले जनाएको छ । योजना अन्र्तगत विगतमा भएका चोरीका घटनाहरुको प्रभावकारी अनुसन्धान तथा परिचालनको लागि छुट्टै विशेष टोली बनाई कार्यान्वयनमा ल्याईने प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...