गोवाका पर्यटन व्यवसायीसँग पोखरेलीको छलफल

गोवा (भारत) साउन २२/पर्यटकीय नगर पोखराको प्रवद्र्धन गर्न ६ दिनअघि पोखराबाट हिडेको पोखरेली पर्यटन व्यवसायीको टोलीले भारतको मुख्य पर्यटकीय क्षेत्र गोवाका पर्यटन व्यवसायीसँग छलफल र अन्तरक्रिया गरेको छ । 
Goa interaction 1दुईदिनसम्म मुम्बई बसेर स्थानीय व्यवसायीसँगको छलफल एवं अन्तरक्रियाका साथै मुम्बइका विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गरेपछि भ्रमण टोली गोवा आईपुगेको थियो । मुम्बईमा रहँदा बलिउडका चर्चित कलाकारको निवास, समुन्द्री किनार, प्रसिद्ध धार्मिकस्थल सिद्धिबिनायक मन्दिर, ह्याङगिङ गार्डेन लगायतका आकर्षक गन्तव्यको अवलोकन गरेको थियो ।
मुम्बईमा जस्तै गोवामा पनि पोखरेली पर्यटन व्यवसायीहरुको टोलीले प्रचारात्मक अभियानलाई निरन्तर राखेको आयोजक नाटाका अध्यक्ष केदार शर्माले जानकारी दिए । गोवामा रहेको टोली मंगलबार मुम्बई फर्केको छ । अध्यक्ष शर्माले मुम्बईका व्यवसायीसँगको छलफलबाट आफुहरु उत्साहि भएको बताउँदै गोवाबाट पनि आफुहरुले सकारात्मक सन्देश पाएको बताए । गोवाको छलफलमा पनि करिब १ सय जना स्थानीय पर्यटन व्यवसायी सहभागि थिए ।
बि टु बि मिटिङ नाम दिइएको गोवाको छलफलमा पनि पोखरामा संचालनमा रहेका होटल, रेस्टुरेन्ट, टराभल एजेन्सी सहित विभिन्न साहसिक गतिविधिका बारेमा व्यवसायीलाई जानकारी दिइएको थियो । त्यस क्रममा पोखराका पर्यटन व्यवसायीहरुले भारतीय पर्यटकलाई पोखरा घुम्न आउन निम्तो दिनुका साथै विभिन्न पर्यटकीय गतिविधिको लागि प्याकेज साटासाट गरेको नाटाका द्धितीय उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
भारतका विभिन्न सहरका पर्यटन व्यवसायीसँग छलफल र अन्तरक्रिया चलाईरहेको बताउँदै नाट्टा पोखरा च्याप्टर उपाध्यक्ष श्रेष्ठले भारतीय पर्यटकलाई पोखरा आउन सबै व्यवसायीले निम्तो दिएको जानकारी दिए । उनले मुम्बईमा भएको व्यवसायीबिचको छलफल अत्यन्त उपयोगी भएको बताउँदै गोवाका व्यवसायीलाई पनि यसैगरि पोखरामा आउन आग्रह गरेको बताए ।  ‘पोखरामा बढि भन्दा बढि भारतीय पर्यटकको संख्या बढाउने उद्देश्यले हामी यहाँसम्म आएका हौ’ भ्रमण टोलीमा सहभागि नाटाका कोषाध्यक्ष झवि अधिकारीले भने, ‘प्रवद्र्धनात्मक कार्यक्रम मार्फत भारतीय पर्यटकलाई पोखरा भित्रयाउने हाम्रो चाहना हो ।’ भारतीय व्यवसायी मार्फत अन्य मुलुकका पर्यटकलाई पनि पोखरा पठाउन यस प्रवद्र्धनात्मक कार्यक्रमले सघाउने उनले बताए । टोलीले गोवाका विभिन्न पर्यटकीय क्षेत्रको समेत अवलोकन गरेका थिए ।
नाटाका पुर्व अध्यक्ष बोधराज भण्डारीले विभिन्न मुलुकमा प्रवद्र्धनात्मक कार्यक्रम गरिँदा पोखरामा पर्यटकको संख्या बढेको पाएको बताउँदै आगामी दिनमा भारतीय पर्यटकको संख्या पनि संख्या अझै बढ्ने विश्वास व्यक्त गरे । उनले यसअघि गरिएका कार्यक्रमले पोखरामा सकारात्मक प्रभाव पारेपछि उत्साहि भएर यो वर्ष पनि नियमितता दिएको बताए । आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर गरिने उनले सुनाए ।
नाट्टाले यसअघि भारतका विभिन्न सहर सहित मलेशिया, सिंगापुर, थाईल्याण्ड लगायतका मुलुकमा प्रवद्र्धनात्मक कार्यक्रम चलाईसकेको छ । टानका पुर्व अध्यक्ष सोम थापाले भारतीय व्यवसायीले उत्साहपुर्वक आफुहरुसँग पोखरा र आसपासका क्षेत्रको बारेमा जानकारी लिएको र आगामी दिनमा पोखरामा ब्यापार बिस्तार तथा प्रवद्र्धन गर्न चाहेको बताए । थापाका अनुसार पोखरा र आसपासमा हुने साहसिक पर्यटकीय गतिविधिमा भारतीय युवापुस्ता आकर्षित गर्न आफुहरुले छुट्टै प्याकेज बनाउनुपर्ने महसुस गरेको बताए ।
भ्रमण टोलीमा सहभागि नाटाका महासचिव दिलप्रसाद गौतमले पोखरा सबै मौसमका लागि र सबैका लागि भन्ने सन्देश दिन भारतका विभिन्न सहरमा चलाईएको कार्यक्रम सफल भएको बताउँदै भारतीय व्यवसायीले भारतीय पर्यटकलाई मात्र नभएर अन्य मुलुकका पर्यटकलाइ पनि पोखरा पठाउन सघाउनुपर्ने बताए ।

भारतीय पर्यटकलाई पोखरासम्म आउन निम्तो दिन आयोजना गरिएको यस किसिमको कार्यक्रम सफल हुने एगाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । यो बेला भारतमा चर्काे गर्मि हुने भएकोले पनि भारतीयलाई पोखरासम्म लैजान यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाई थियो । वर्षेनी ठुलो संख्यामा भारतीय पर्यटकहरु गर्मि छल्नका लागि पोखरा जाने भएकोले त्यो संख्यालाई बढाउन यस कार्यक्रमले सघाउने उनले बताए । राष्टिय र अन्तर्राष्टिय स्तरमा पर्यटकीय नगरको रुपमा परिचित पोखरामा वर्षेनी करिब १ लाख ५० हजार भारतीय पर्यटक जान्छन । व्यवसायीले आगामी दिनमा यो संख्यालाई अझै वृद्धि गर्ने चाहना राखेको व्यवसायीले बताए ।

कमेन्टहरु
Loading...