देखिएको रेमिट्यान्स, नदेखिएको पीडा

रामेश्वर अधिकारी
विषयको सुरुवात गर्न चाहन्छु, बैशाख १५ आइतवारको बिबिसी साझा सवालको प्रसंगबाट ।
नारायण श्रेष्ठ , “तपाईंलाई आफ्नो जीवन कस्तो लाग्छ ?”
वीरबहादुर बुढामगर, “मेरो जीवन त कुकुरको जस्तो लाग्छ ।”
यो कार्यक्रम हेर्दै या सुन्दै गर्दा कुन नेपालीको मन भाबुक नहोला ! सँगै जब कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माको प्रतिकृया सुनेँ, मेरो अनुमान तत्कालै गलत साबित भयो । उनको नाम मात्र मायाकुमारी, उनीमा माया कम रहेछ। उनीलाई आफ्ना नेपाली दाजुभाइ दिदीबहिनीके माया लाग्दो रहेनछ । वीरबहादुर दाइ पनि नाम मात्रको ‘वीर’अनि ‘बहादुर’ हुन बाध्य हुनुपर्ने रहेछ !
वीरबहादुर दाइ र मायाकुमारी दुई जना प्रतिनिधि पात्र हुन् । वीरबहादुर आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्ने ब्यक्ति हुन् भने मायाकुमारी गैह्रजिम्मेवार ।
कतारलगायत बिदेशी भूमिमा काम गर्ने दाजुभाइहरुको दु:ख पासपोर्ट बनाउन लाइनलाग्दादेखि सुरु हुन्छ । अनाबश्यक रूपमा यो मिलेन र त्यो मिलेन अनि बिभिन्न ब्यहोरा सच्याउने नाममा बिभिन्न झन्झट । बिदेश जान उनीहरुले लुगा र पासपोर्टमात्र सुट्केसमा पोको पार्दैनन्,  दु:ख र पीडा पनि सँगै पोको पार्छन् । म्यानपावरको जालसाजी र ठगीहोस् या विदेशी एयरपोर्टमा कयौं दिनसम्मको पर्खाइ।
कम्पनी मालिकले ‘कमोडिटी’ सम्झेर आफ्नो अनुकुल प्रयोग गर्छ । नेपालको प्राकृतिक एसी चटक्कै छोडेर खाडीको ५० डिग्रीको तापक्रममा काम गर्नुपर्छ । आत्मसम्मान रेमिट्यान्ससँग साट्नु पर्ने! सँगै आफ्नै हित र सहयोगको खातिर काम गर्न खटाइएको राजदुतको कुराले घाउमा मल्हम हैन कि झन पीडा दिने !
यसो हुनुमा मायाकुमारी शर्माको मात्र पनि दोष छैन, उनी त प्रतिनिधि हुन् । राजनीति बिग्रिएको देशमा दक्षता र क्षमताभन्दा आफ्नालाई नै प्रश्रय दिइन्छ । ती १२ वर्षदेखि कतारमा काम गर्दै गरेका वीरबहादुर दाइलाई के थाहा, राजा वीरेन्द्रको समूल नाश भएको ? के थाहा देशमा गणतन्त्र आएको?
 
नेताहरुको गर्जन हुन्छ,  स्विजरल्यान्ड र सिङ्गापुर बनाउने ! हामीलाई न त सिङ्गापुर चाहिएको हो,  न स्विजरल्यान्ड । केवल शान्त नेपाल चाहिएको छ जहाँ हजारौं वीरबहादुर दाइहरु नेपाल फर्केर परिवारका सदस्यसँग दु:खसुखका कुरा गर्दै काम गर्न पाइन्छ । आज थुप्रै नेपालीहरु जहाँ ३ डी (डर्टी , डिफिकल्ट र डेन्जर) काम गर्न बाध्य छन्, त्यहाँ नेपालीदाजुभाइ दिदीबहिनीह १-२ महिनाको भ्रमण गर्न जान पाए कस्तो हुँदो हो ! यो असम्भब हैन,  खालि ब्यवस्था र शैलीको कमजोरीले मात्र असम्भब लागेको हो ।
बैदेशिक रोजगार महत्वपूर्ण रोजगारी र अर्थ उपार्जनको माध्यम हो। समस्याको सही समाधान हुन नसक्नु, नीतिको सही कार्यान्वयन नहुनुले समस्या सिर्जना गरेको छ । देश कमजोर भएपछि रोजगारदाताले हेप्ने परम्परा स्थापित छ । कुरा यतिमा मात्र सीमित छैन । तर,  आज जति यो बिषयलाई आर्थिक उपार्जनसँग जोडेर हेरिएको छ,  पारिवारिकमायामोह र आत्मसम्मानको बिषय बेवास्ता भएका छन् । नीतिनिर्माताहरु रेमिट्यान्सलाई आधार बनाएर यो र त्यो बिषयमा बहश गर्दैछन् तर मानवीय संवेदनाको बिषय अलिकति पनि वास्ता गरिएको छैन। विश्वका मुलुकहरु कुल आम्दानी हैन, कुल खुशीको मापनमा छन्। कसले कति कमायोभन्दा को कती खुशी छ भन्ने प्राथमिकतामा छ तरहाम्रो मुलुक रेमिट्यान्सलाई नै आधार बनाएर बजेट निर्माण गर्ने र त्यो बजेटलाई पनि बिभिन्न संयन्त्रको नाममा दुरुपयोग गर्नमै ब्यस्त छ ।  दु:ख गर्ने एउटा वर्ग छ त्यस्को स्वाद चाख्ने अर्को वर्ग ।
रेमिट्यान्सभित्रको पीडा झन धेरै छ । जो दु:ख गरी रगत र पसिना बगाउँछन्, उनीहरुले त्यसको प्रयोग गर्न पाउँदैनन् । कमाउन गर्नुपर्ने पीडा एकातिर छ त्यो भन्दा अझ धेरै पीडा छ त्यसको सही सदुपयोग नहुँदा । आफ्नो श्रम गरेर पठाएको पैसा बीचमै लुटिँदा , महिला दिदीबहिनीको अस्मितासँगै धन लुटिँदाको पीडा त झन भनी साध्य छैन ।भर्खर बिहे गरेर श्रीमतीसँग छुटिनुपर्दाको पीडा, पाको उमेरका बाआमालाई छाडी जाने पीडा तथा भर्खरका मुनाजस्ता छोराछोरी छाडी जानुपर्ने सबै पीडालाई रेमिट्यान्सरुपी पर्दाले ढाक्नु परेको छ। रेमिट्यान्सको हिसाबकिताब धेरै भएको छ ,पीडाको हिसाबकिताब नगण्य भएको छ । त्यसैले अब रेमिट्यान्ससँगै पीडाको पनि मूल्याङ्कन गर्न ढिला भएन? एकातिरमात्र देख्ने रेमिट्यान्सरुपी पर्दा कहिले उघ्रेला?
पक्कै एउटा दृष्टिकोणको खाँचो छ , एउटा यस्तो चस्मा चाहिएको छ जस्को माध्यमबाट रेमिट्यान्समा मात्र ध्यान नखिची हजारौं वीरबहादुरहरुलाई साँच्चिकै वीर बनाउनु छ। अरु देशमा करोडको श्रम गरेर लाख भित्र्याएर होइन कि अरु देशकालाई समेत उल्टै आफ्नो देशमा रोजगारीको सिर्जना गर्नु छ। रामराज्य सम्भब नभए पनि कम्तीमा सबैले दु:ख गर्दाआफ्नै देशको लागि हुने दु:ख, अनि १२ -१२ बर्ष सम्म आफ्नो घर परिवारबाट टाढा हुनुपर्ने कुराको अन्त्य हुनु आवश्यक छ ।
[email protected]
– See more at: http://setopati.com/blog/2962/#sthash.SVtu5BR7.dpuf

कमेन्टहरु
Loading...