चारदल गम्भीर नभए चुनाव हुँदैन : यादव

२२ साउन, काठमाडौं । मधेसी जनआधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले चार दलसँगको वार्तामा आफूहरुले छ बुँदे माग राखेको भन्दै ती मागप्रति चार दल गम्भीर नभए निर्वाचन नहुने बताउनुभएको छ ।
चारदलसँग मंगलबार नयाँ बानेश्वरमा भएको वार्तामा यादव नेतृत्वको मोर्चाले चार दलीय उच्चस्तरीय समितिको खारेजी, प्रधानन्याधीशबाट खिलराज रेग्मीको राजीनामा, समानुपातिकमा पुरानै सीट संख्या कायम गरिनुपर्ने, निर्वाचन क्षेत्र जनसंख्याका आधारमा निर्धारण गरिनुपर्ने, मतदाता नामावली पुन संकलन गरिनुपर्ने र बाधा अड्काऊमा भएका केही त्रुटीहरु सच्याउनुपर्ने छ वटा बटमलाइन पेश गरेको छ ।
‘यी हाम्रा अन्तिम बटमलाइन हुन्, यी मागहरुप्रति चार दल गम्भीर भयो भने चुनाव हुन्छ, नभए हुँदैन ।’ वार्तापछि यादवले पत्रकारहरुसँग भन्नुभयो, ‘हाम्रा मागहरुबारे गम्भीरतापूर्वक छलफल भएन ।’
चचारदलका तर्फबाट वार्तामा सहभागी एमाले नेता रघुजी पन्तले यादवको मोर्चासँगको छलफल सकारात्मक भएको बताउनुभयो । ‘ हामीले उहाँहरुको कुरा गम्भीरतापूर्वक सुन्यौं, अरु दलका पनि कुरा सुन्छौं र बैठक बसेर उचित निर्णय लिन्छौं ।’ पन्तले भन्नुभयो ।
मधेसमा ९ सीट थप्न माग
चार दल नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले असन्तुष्ट दलहरुँग वार्ता गर्ने क्रममा सबैभन्दा पहिले उपेन्द्र यादव नेतृत्वको मोर्चासँग वार्ता गरेको हो । छलफलका क्रममा मोर्चाले मधेसमा प्रत्यक्षतर्फको सीट संख्या ५० प्रतिशत बनाइनुपर्ने अडान राखेको छ । मनोनिततर्फको संख्या घटाएर मधेसमा सीट थप्न मोर्चाको माग छ । त्यसैगरी समानुपातिकतर्फ पनि सीट संख्या बढाउन मोर्चाले माग गर्दै आएको छ ।
चार दलको बैठमा उपेन्द्र यादवको मोर्चाले संविधानसभालाई ६ सय १ सदस्यीय बनाउनुपर्ने तर मनोनय गर्ने प्रावधान हटाइनुपर्ने माग राखेको छ । प्रच्यक्षतर्फको २ सय ४० सीट संख्यालाई २ सय ५० बनाउनुपर्ने मोर्चाको माग छ । पहाडमा १ सीट र तराईमा ९ सीट थपेर १२५/१२५ सीट बनाइनुपर्ने र समानुपातिकमा ३ सय ५ सीटमा १६ थपेर कूल ६ सय १ बनाउन मोर्चाले चार दलसँग माग गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

कमेन्टहरु
Loading...