माओवादीको पक्षमा जनलहर बढेको –‘नेता प्रभाकर

श्रावण २१, पोखरा /एकीकृत माओवादीका बरिष्ठ केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले देशव्यापी रुपमा माओवादीको पक्षमा जनलहर बढ्दै गएको दावी गरेको छ ।
एकीकृत माओवादी कास्कीको पोखरा वडा नं. १६ र लामाचौर गाबिसको भेलालाई सोमबार सम्बोधन गर्दै नेता प्रभाकरले उक्त कुरा बताउनुभएको हो । भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –‘विरोधीहरुले माओवादीले हार्छ र पुरानै तरिकाले राज्य चलाउन सकिन्छ भन्ने सोचेका होलान्, तर माओवादीको पक्षमा देशव्यापी लहर आइसकेको छ, यो लहर निर्वाचन भएर परिवर्तनको पक्षमा संविधान घोषणा नभएसम्म जारी रहन्छ ।”
अर्को एक प्रसङ्गमा संविधान सभाको निर्वाचन बहिस्कार गर्छौं भन्नु जनताप्रति अपमान भएको भन्दै त्यसले अन्ततः प्रतिक्रान्तिको सेवा गर्ने उहाँले बताउनुभयो । नेता शर्माले भन्नुभयो –‘केही साथीहरु संविधान सभा बहिस्कार गर्ने र पूर्वराजासँग सहकार्य गर्ने कुरा गरि रहनुभएको छ । तर उहाँहरुको बहिस्कारलाई जनताले बहिस्कार गर्नेछन् ।” कार्यक्रममा एकीकृत माओवादी कास्की क्षेत्र नं. २ का संयोजक बखानसिंह तमु, राज्य सदस्यहरु दीपक कोइराला, पूर्णकुमारी राना, खगेन्द्र काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
विनोद नेपालीको अध्यक्षतामा सम्पन्न भेलाको संचालन राजेन्द्र आचार्य र स्वागत गोविन्द थापाले गर्नुभएको थियो । त्यसै गरि पोखरा १४ र १८ को संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता जनार्दन शर्माले माओवादीको पूर्ण बहुमतबाट मात्र परिवर्तनको सम्बोधन हुने सम्बोधन निर्माण हुनसक्ने बताउनुभयो । राजनीति र विकासका बीच घनिष्ठ सम्बन्ध हुने भन्दै नेता शर्माले माओवादी नेतृत्वको सरकारले पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया थालनी गरेकाले त्यसलाई सफल पार्न आफूहरु क्रियाशील रहने बताउनुभयो । अबको निर्वाचनमा परिवर्तनका पक्षधर शक्तिहरुको दुइतिहाई बहुमत आउने भन्दै नकारात्मक प्रचारको पछि नलागी जनतालाई विश्वास गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । भेलामा नेता बखानसिंह तमु, दीपक कोइराला, विश्वप्रकाश लामिछाने, मणिचन्द्र कंडेल लगायतको उपस्थिति रहेको थियो । खड्क बहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत हरि अधिकारी र संचालन जगन्नाथ तिमिल्सिनाले गर्नुभएको थियो ।
जनसम्बन्ध सुदृढीकरण अभियानकै क्रममा कास्की क्षेत्र नं. १ को कालिका गाबिसमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणलाई सम्बोधन गर्दै माओवादी केन्द्रीय सदस्य सुकबहादुर रोकाले संविधान सभाको विरोध गरेर क्रान्तिको हित नहुने बताउनुभयो । प्रशिक्षणमा बोल्दै रोकाले भन्नुभयो –‘क्रान्तिको कुरा गर्ने अनि जनताले संविधान निर्माण गर्ने संविधान सभाको विरोध गर्नु क्रान्तिको हित विपरित छ ।” अर्को एक प्रसङ्गमा रोकाले कास्कीमा क्रान्तिको रातो झण्डा फहराउन आफूहरु सम्पूर्ण रुपले क्रियाशील हुने बताउनुभयो । कार्यक्रममा क्षेत्र नं. १ का संयोजक गंगा पोखरेल, गोपालमणि लाछिाने, रञ्जन गुरुङ, लगायतले बोल्नुभएको थियो । हरिप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भीमनाथ कुंइकेल र स्वागत बाबुराम रानाले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...