नेकपा-माओवादीद्वारा वार्ता स्वीकार

काठमाडौ, श्रावण २१ – उच्च स्तरीय राजनीतिक समितिले असन्तुष्ट गठबन्धनलाई वार्ताका लागि तेस्रो पटक आइतबार पत्र पठाएको छ । पत्र पाएलगत्तै बसेको नेकपा-माओवादी नेतृत्वको ३३ दल बैठकले ‘पत्र सकारात्मक’ भएको ठहर गर्दै ‘वार्ताका लागि तयार’ रहेको निर्णय गरेको छ ।
‘वार्ताका लागि आइतबार लेखिएको पत्रलाई सकारात्मक रूपमा लिने मोर्चाको निर्णय छ,’ माओवादी प्रवक्ता पम्फा भुसालले कान्तिपुरसँग भनिन्, ‘अब छिट्टै वार्तामा बस्न आवश्यक तयारी हुनेछ ।’ कार्यदलले समितिको पत्रलाई सकारात्मक ठानेपछि एजेन्डा तय गर्न सोमबार बैठक राखिएको जानकारी पनि उनले दिइन् ।
समिति संयोजकका हैसियतले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार तेस्रो पत्र पठाएका थिए । यसअघि वार्ताका लागि गरिएको सम्बोधन, एजेन्डा र टोलीबारे गठबन्धनभित्रका साना दलले आ-आफ्नै अडान राख्दा प्रक्रिया अघि बढ्न सकेको थिएन । समितिले यसअघि लेखेका पत्रको भाषामा पनि उनीहरूले आपत्ति जनाएका थिए ।
पछिल्लो पत्रमा समसामयिक राजनीतिक समस्यालाई छलफल र संवादबाट टुंग्याउन वार्तामा बस्न आग्रह गरिएको छ । यसअघि ‘मंसिर ४ गतेका लागि घोषित संविधानसभा निर्वाचन सम्पन गर्न’ भन्ने वाक्यांश परेकाले सर्तसहित वार्तामा नबस्ने निर्णय असन्तुष्टले गरेका थिए ।
३३ दल बैठकले वार्तामा बस्न टोलीसमेत पुनर्गठन गर्ने भएको छ । यसअघि मोर्चाको नेतृत्व गरेको माओवादीले अन्य दललाई जानकारी नै नदिई आफ्नै अध्यक्ष मोहन वैद्यसहित पदाधिकारी रहेको ५ सदस्यीय टोली गठन गरेको थियो । त्यसपछि आठवटा दल/समूहको प्रतिनिधित्व गर्ने संघीय गणतान्त्रिक मोर्चा एकलौटी ढंगले टोली गठन गरेको भन्दै बाहिरिएको थियो ।
त्यसलाई नदोहोर्‍याउन पहिले गठन भएकै वार्ता टोलीलाई पुनर्गठन गरी थप्ने गृहकार्यमा मोर्चा छ । वार्तामा कस्ता एजेन्डा लाने भन्नेबारे गठबन्धनभित्र एकमत छैन । साना कम्युनिस्ट घटकहरू, राष्ट्रवादी धारका समूह र माओवादीबीच खासगरी राष्ट्रियता र गणतन्त्रका मुद्दामा आपसी बहस चल्दै आएको छ । त्यसबाहेक मंसिर ४ कै चुनावमा जाने वा संविधानसभाको चुनावतिरै नजाने भन्ने बीचमा पनि विवाद रहेको मोर्चाका एक नेताले जानकारी दिए ।
यसअघि मोर्चाभित्र माओवादीले राजतन्त्रवादीसँग सहकार्यका लागि गरेको प्रस्तावप्रति गम्भीर विवाद उठेको थियो । ‘त्यसरी राजावादीसँग सहकार्यको प्रस्ताव गर्नु गणतन्त्रकै विपक्षमा हुन्छ, त्यसैले हामीले विरोध गरेका हौं,’ ती नेताले भने ।
वैद्यको राजनीतिक भेटवार्ता तीव्र वार्ता र विद्रोह दुवै कार्यनीति अघि बढाएका नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले पछिल्ला दिन शीर्ष नेताहरूसँग वार्ता तीव्र बनाएका छन् । उनले आइतबार कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवासँग भेट गरी आफ्ना एजेन्डा राखे । शुक्रबार कांग्रेस अध्यक्ष सुशील कोइरालासँग भेटेका थिए ।
यसबीचमा एमाओवादी र एमालेका नेताहरूसँग पनि बारम्बार सम्पर्क भइरहेको जानकारी प्रवक्ता पम्फा भुसालले दिइन् । ‘वार्ताका लागि सबैतिरबाट दबाब आइरहेका बेला अध्यक्षज्यूले समसामयिक अवस्था बुझाउन भेटघाट गर्नु स्वाभाविक हो,’ उनले भनिन् ।
भेटमा देउवाले मंसिर ४ कै चुनावमा आउन आग्रह गरेका छन् ।  वैद्यले त्यसअघि राजनीतिक मागको सम्बोधन हुनुपर्ने बताएका थिए ।
– See more at: http://ekantipur.com/np/2070/4/21/full-story/373415.html#sthash.nGRi3FUd.dpuf

कमेन्टहरु
Loading...