सैनिक बढुवामा आयोगको सहमति

सरोजराज अधिकारी
काठमाडौ, श्रावण २१ – निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको नेपाली सेनाका उच्च अधिकृतलगायतको बढुवा प्रक्रिया अघि बढ्ने भएको छ । आयोगले बढुवा प्रक्रिया अघि बढाउन सहमति दिएपछि सेनाले रिक्त पद पूर्तिको तयारी थालेको छ ।
रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव द्वारिका आचार्यले आयोगले बढुवा प्रक्रिया अघि बढाउन सहमति दिएको बताए । ‘रिक्त पद पूर्ति गर्नुपर्ने भएकाले यो नियमित बढुवाअन्तर्गत पर्छ । तर आचारसंहिता लागू भइसकेकाले आयोगसँग सहमति मागिएको हो । सहमति आइसकेको छ, अब प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
आचारसंहिताका कारण सैनिक अधिकृतको विदेशमा हुने तालिममा पठाउनै समस्या परेको रक्षाले जनायो । आयोगको सहमतिपछि अब ती अवरोध फुकेको छ । सेनामा प्रधानसेनापतिपछिको दुई रथी पदमध्ये एक रिक्त छ । रथी नेपालभूषण चन्दले गत असार २८ गते दुई वर्षे सेवाअवधि पूरा गरी अवकाश पाएपछि एक रथी पद रिक्त भएको हो ।
विशिष्ठ श्रेणीको दुई उपरथी पद पनि रिक्त छन् । महेशविक्रम कार्कीले असार १५ र रमेश बिष्टले असार १८ मा अवकाश पाएपछि यी पद रिक्त भएका हुन् । एक रथीमा बढुवापछि थप एक उपरथी पद रिक्त हुनेछ । सैनिक मुख्यालय जंगीअड्डाले रथीमा वरिष्ठ उपरथी पवनबहादुर पाँडेलाई बढुवा गर्ने तयारी अघि बढाएको स्रोतले बतायो । पाँडे हाल सेनामा महत्त्वपूर्ण मानिने युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयका प्रमुख छन् । उनको बढुवापछि तीन उपरथी पद रिक्त हुनेछन् ।
उपरथीमा भने वरिष्ठता मिचिने अवस्था रहेको उच्च सैनिकस्रोतले बतायो । वरीयताक्रममा रमिन्द्र छेत्री, प्रदीपबहादुर सिंह, धनिदास कार्की, अजितसिंह ठकुरी, हेम खत्री, पदमविलास कार्की, विजय मोक्तान, हिमालय थापा, हेमन्तराज कुँवर छन् । तर यीमध्ये रमिन्द्रले स्वास्थ्यका कारण, प्रदीपबहादुर, धनिदास र अजितसिंहले विभिन्न कारणले वार कलेज वा नेसनल डिफेन्स कोर्स -एनडीसी) गरेका छैनन् । छेत्रीमाथि युद्धकालमा माओवादीबाट गम्भीर आक्रमण भएको थियो ।
सेनामा प्राविधिकबाहेक उपरथी तहमा बढुवाका लागि वार कलेज वा एनडीसी अनिवार्य छ । एनडीसी र वार कलेज गर्नेमा वरीयताक्रमअनुसार हेम खत्री, पदमविलाश कार्की, विजय मोक्तान, हिमालय थापा, हेमन्तराज कुँवर छन् । खत्री २०६४ भदौ ३० मा, कार्की र मोक्तान २०६५ साउन ४ मा सहायकरथी बनेका हुन् । थापा र कुँवर भने २०६५ असोज ३० मा सहायकरथी बनेका हुन् । थापा र कार्कीसँगै सहायकरथी बनेका राजेन्द्रबहादुर कार्की र अर्नुजबहादुर बस्न्यात पनि उपरथीको प्रतिस्पर्धामा छन् ।
खत्रीमाथि एनडीसी गर्दा मिति सच्याएर किर्ते गरेको अभियोगमा सेनाले छानबिन गरिरहेको छ । सेनामा ५३ वर्षभित्रै एनडीसी वा वार कलेज सकिसकेको हुनुपर्ने व्यवस्था छ । तर उमेर हदभन्दा १५/२० दिन ढिला सकेर खत्रीले समय सच्याएको उजुरी परेपछि छानबिन भइरहेको स्रोतले बतायो । खत्रीले पाकिस्तानबाट एनडीसी गरेका हुन् ।
त्यसबाहेक पहुँचका आधारमा केही अधिकृत तानिन र केही छुट्न सक्ने अवस्थासमेत रहेको अर्का एक अधिकृतले बताए । उपरथीमा बढुवापछि क्रमशः सहायकरथी, महासेनानी, प्रमुख सेनानीमा बढुवाको प्रक्रिया अघि बढाइनेछ । सेनामा प्रमुख सेनानीसम्मको बढुवा प्रधानसेनापतिले र त्यसदेखि माथिको बढुवाका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।
– See more at: http://ekantipur.com/np/2070/4/21/full-story/373435.html#sthash.rZYd3PCr.dpuf

कमेन्टहरु
Loading...