द्वन्द्वपीडितको लाखौं रकम दलका कार्यकर्ताले बाँडीचुडी खाए

२१ साउन, बाँके । सरकारले बाँकेका द्वन्द्वपीडितका लागि छुट्टयाएको झन्डै ४१ लाख रुपैयाँ स्थानीय राजनीीतक दलका कार्यकर्ताले बाँडेर खाएका छन् ।शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले कृषि विकास कार्यक्रमअन्तर्गत द्वन्द्वपीडित विशेष कार्यक्रम सञ्चालन गर्न २०६८ सालमा उक्त रकम उपलब्ध गराएको थियो । उक्त रकम वास्तविक द्वन्द्वपीडितका हातमा नपुगी दलका कार्यकर्ताले हिनामिना गरेका हुन् ।
खासगरी निर्वाचन क्षेत्र नम्बर १ र ४ मा एमाओवादी निकट नेताकार्यकर्ताले उक्त रकम लिएको पाइएको छ भने क्षेत्र नम्बर २ र ३ मा मधेसवादी तथा अन्य दलका कार्यकर्ताले रकम दुरुपयोग गरेको पाइएको छ । स्थानीय द्वन्द्वपीडित समितिमा रहेका पदाधिकारी र केही पहुँचवाल कार्यकर्ताले आफ्ना घर तथा छिमेकमा भएका गाइभैंसी तथा अन्य पशु चौपाया खरिद गरेको नक्कली कागज बनाएर रकम असुलेका हुन् ।
न्यायका लागि द्वन्द्वपीडित समाजकी अध्यक्ष चन्द्रकला उप्रेतीले भनिन्,’द्वन्द्वपीडितका नाममा आएको रकम हातमा नपर्नु दुभाग्र्य हो ।’ उप्रेतीका पति द्वन्द्वका क्रममा मारिएका थिए । ‘मलाई यो रक दिएको छैन्,’ उनले भनिन् ।
द्वन्द्वपीडित तथा एक महिला समूह बाँकेकी सचिव एकमाया विकले क्षेत्र नम्बर ४ मा एमाओवादी कार्यकर्ताले मात्र रकम बाँडेर खाएको बताइन् । उनले भनिन्,’खै त वास्तविक द्वन्द्वपीडितले पाएको ? माओवादीका पहुँचवालाले बाँडेर खाए । त्यो पनि कसैले खोरको बाख्रा देखाएर त कसैले गोठका गाइभैंसी देखाएर ।’
बाँकेको शान्ति समितिका सचिव ताराबहादुर खत्रीले धेरै द्वन्द्वपीडितले रकम नपाएको गुनासो गरेको बताए । उनले भने,’कतिपय त रुदैँ पनि आए । यो कार्यक्रम हामीमार्फत आएको होइन, कृषिबाट आएको भनेर हामीले सम्झाउने कोसिस पनि गर्‍यौं ।’
 

कमेन्टहरु
Loading...