एसएलसी पूरक परीक्षामा ६८ सालको प्रश्नपत्र बाँडियो, नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं — परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले लिने एसएलसी पूरक परीक्षा आजदेखि सुरु भएको छ। परीक्षामा मुलुकभरबाट एक लाख ११ हजार परीक्षार्थी सहभागी छन्। दैलेखस्थित नागरिकन्युज संवाददाता गोविन्द केसीका अनुसार एसएलसी पुरक परिक्षाको नारायण क्याम्पस केन्द्रमा ०६८ सालको पूरक परिक्षाको प्रश्नपत्र बाँडिएको छ।

५० प्रश्नपत्र पुरानो प्याक भएर आएको बाँडिसकेपछि मात्र सो कुराको जानकारी भएको थियो। परीक्षा नियन्त्रण कार्यालयबाट बाहिर खाममा ०६९ सालको पूरक परिक्षाको अनिवार्य अंग्रेजी लेखीए पनि भित्र पुरानो प्रश्न पत्र रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दियो।

प्रश्नपत्र २० विद्यार्थीले पाइसकेपछि ०६८ सालको पुरक परिक्षाको भएको थाहा भएको जिल्ला शिक्षा कार्यालयका नायव सुब्वा झलक कोइरालाले बताए। पुरानो प्रश्नपत्र हातमा परेपछि आधा घण्टासम्म विद्यार्थीलाई तनाव भएको थियो।

त्रिभुवन उमावि केन्द्रबाट प्रश्न पत्र झिकाएपछि डेढ घण्टा ढिलो गरी परिक्षा सुरु गरिएको जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यले बताए। ‘प्रश्नपत्र प्याक गर्दा कमजोरी भएकाले पुरानो प्रश्नपत्र आएको छ’ जिल्ला शिक्षा अधिकारी आचार्यले भने। गोरखास्थित नागरिकन्युजकर्मी नरहरि सापकोटाका अनुसार अंग्रेजी विषयको पूरक परीक्षा अरुलाई दिन लागाउने र परीक्षा दिने नक्कली परीक्षार्थी दुबै जना पक्राउ परेका छन्। गोरखा सदरमुकामको शक्ति उच्च मावि केन्द्रबाट बारपाक ७ का धनराज घलेको परीक्षा दिँदै गरेका ताङ्लिचोक ५ का कृष्ण थापा मगर पक्राउ परेका हुन्। केन्द्राध्यक्ष राजेन्द्रप्रसाद अधिकारीले प्रवेश पत्रमा टाँसिएको नक्कली परीक्षार्थीको फोटोका आधारमा छानविन गर्दा अरुको नाममा परीक्षा दिन आएको भेटिएको हो। प्रवेशिका परीक्षामा दुई वर्ष फेल भएपछि घलेले मगरलाई अंग्रेजी विषयको परीक्षा दिईदिन भनेको बताउँछन्। घले बारपाकको हिमालय उच्च माविबाट एसएलसी परीक्षामा सहभागी भएका हुन्। मगरले अघिल्लो वर्ष काठमाणडौँको एक वोर्डिङ स्कुलबाट एसएलसी दिएको र अंग्रेजी विषयमा दख्खल रहेकाले परीक्षा दिइदिन अनुरोध गरेको घलेले स्विकार गरेका छन्।
मगर आजको अंग्रेजी विषयको परीक्षा दिन हिजो काठमाडौंबाट गोरखा आएको बताउँछन्। पुर्व योजना बनाएर दुबै जनाले प्रवेश पत्रमा फोटा परीवर्तन गराएर परीक्षा दिने योजना बनाएका थिए। प्रहरीले परीक्षा केन्द्रबाट मगरलाई पक्राउ गरेर परीक्षा दिन लगाउने घलेलाई सदरमुकामको एक होटलबाट नियन्त्रणमा लिएको हो।
नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएर आवस्यक कारवाहीका लागि जिल्ला प्रशासन बुझाईएको जिल्ला शिक्षा अधिकारी लिलामणि पोखरेलले बताए । उनले भने ‘हामीले कारवाहीका लागि प्रशासनमा सिफरीस गरेका छौँ, प्रशासनले अवस्यक कारवाही गर्नेछ ।’ती परीक्षर्थीको परीक्षा स्थगित हुने उनले बताए ।

– See more at: http://www.nagariknews.com/main-story/story/5284#sthash.y8XQh50G.dpuf

कमेन्टहरु
Loading...