धनकुटाका आनन्दसन्तोषी राई ०२४ सालदेखि ०४८ सालसम्म कम्युनिष्ट थिए । ०४८ साल मंसिर १७ गतेदेखि नेपाली कांग्रेसमा लागेका उनी अहिलेसम्म कांग्रेसमै छन् । रामचन्द्र पौडेलको प्रशिक्षण प्रतिष्ठान एवं आदिवासी जनजाति संगठनमा आवद्ध उनी आगामी चुनावमा सूर्यबहादुर थापासँग जोरी खोज्ने पक्षमा छन् ।
जीवनको आधा उमेर कम्युनिष्टमा बिताएर आधा उमेर कांग्रेसमा खर्च गर्नुको कारण सोध्दा उनको जवाफ यस्तो छ-’ जीवनमा २५ वर्ष कम्युनिष्ट नबन्ने मान्छेको दिल हुँदैन, अनि २५ वर्षपछि पनि कम्युनिष्ट नै बनिरहने मान्छेको दिमाग हुँदैन ।’
कम्युनिष्टको अनुभव
धनकुटाको चुङमाङमा विसं. २००१ सालमा जन्मेका राई ०२४ सालबाट कम्युनिष्ट भएका हुन् । धनकुटाको खोकुमा माष्टरी गर्ने मोहनचन्द्र अधिकारीले उनलाई कम्युनिष्ट बनाएका हुन् । ‘अधिकारीले मलाई धनकुटा कन्भेनर भनेर लेखेर दिएका थिए ।’ राईको स्मरण छ, ‘मैले मनमोहन अधिकारी, भरतमोहन अधिकारी, कमला कोइराला, नरबहादुर कर्माचार्य, शम्भुराम श्रेष्ठ, मदन भण्डारी, बासु शाक्य र मोहनविक्रम सिंहलाई समेत भेट्ने र कतिपय नेताहरुसँग संगत गर्ने अवसर पाएँ । आफू रातो झण्डा समूहको जनरल सेक्रेटरी हुँदा बासु शाक्यलाई फौजी कमान्डर बनाएको राईको भनाइ छ ।
मनमोहन अधिकारी नेकपा माक्र्सवादीको महासचिव हुँदा केन्द्रीय सदस्य रहेका राई पोलिटब्युरोमा प्रस्तावित थिए । तर पूर्वमालेसँग अधिकारीले पार्टी एकता गरेपछि राई भने मनमोहनलाई छाडेर कांग्रेसतिर लागे ।
पूर्वकोशी प्रान्तीय कमिटीमा हुँदा भरतमोहन प्रमुख जिम्मेवारीमा रहे पनि निरश बनेर विराटनगरमा कोशी ल र्फम खोलेपछि राईले भरत मोहनलाई पाई पाई हिसाब चुक्ता गर्न भनेका थिए । ‘पूर्वकोशी प्रान्तीय कमिटी कोल्याप्स भयो त्यसैले क्रियाशील हुनुपर्यो भन्दै म भरतमोहनलाई भेट्न बिराटनगर गएँ, उहाँ कोशी ल र्फम खोलेर बस्नुभएको थियो ।’ राई भन्छन्- ‘मैले भरतमोहनजीलाई तपाई सक्रिय हुनुपर्यो हैनभने हामीलाई किन पार्टीमा लगाउनुभयो, त्यसको पाई-पाई हिसाब असुल गरिनेछ भनें । आठराईका देवी उप्रेतीले चुङबाङ आएर मलाई पनि यसै भनेका थिए ।’
त्यसबेला भरतमोहनले आठराईका सूर्य कन्दङ्वा र आफूसँग माफी माग्ने बताएको सन्तोषीको भनाइ छ । ‘हामी मध्यम वर्गीय बुर्जुवा हौं, हामी केही पाइन्छ कि भनेर पार्टीमा लागेका थियौं, नपाइपछि ब्याक भयौं, तर तपाईहरु दुईजना आधारभूत वर्गाबाट आउनुभएकाले म तपाईहरुसँग माफी माग्छु ।’- राईले भरतमोहनको भनाइ यसरी स्मरण गरे । राईको सम्झनामा भरतमोहन त्यसबेला एकदमै निराश थिए । त्यही भएर उनले कोशी ल र्फम दर्ता गरेर मालपोतमा लेखन्दासको काम थालेका थिए । राईको विश्लेषणमा भरतमोहन मगन्ते राजनीति गर्ने मान्छे हो, जसले जे दिन्छ उनी त्यही थाप्छन् ।
भरतमोहनले राजनीति छाडेपछि राईले आफ्नै घरमा साथीहरुलाई बोलाएर कम्युनष्टिको भेला गरे । १६ जिल्लाका योङ्ग कम्युनष्टिहरु आए । चित्र निरौला, कुमार राई, हिमाल राई, हरेन्द्रराज जोशी, भक्त बोलना, पदम चुडाल लगायत मिलेर ०३१ सालमा उनीहरुले रातोझण्डा समूह बनाए । राई त्यसको महासचिव भए । पुष्पलाल समूह छाडेर आएका मदन भण्डारीको मुक्ति मोर्चासँग एकता गर्ने सैद्धान्तिक सहमति भयो ।
रातोझण्डा समूहले ‘इमान्दार कम्युनिष्ट’हरुसँग सम्पर्क गर्ने नीति बनायो । त्यसपछि सीपी मैनालीको कोके (कोअर्डिनेशन केन्द्र) सँग भेट्ने जिम्मा मदन भण्डारीलाई दिइयो । ०३४ सालमा मोहनविक्रमलाई सर्लाहीमा आनन्द सन्तोषीले भेटे, तर सिंहले पार्टीमा आउन भनेपछि कुरा मिलेन । त्यसैक्रममा मदन भण्डारीले ०३४ असोज ६ गते राईलाई चिठी लेखेर क्रान्तिका लागि आफ्नो समूह कोकेमा आवद्ध भएको जानकारी दिए । राई भन्छन्- ‘मदन भण्डारीले राम्रा अक्षरमा लेखेको त्यो चिठी मसित अझै छँदैछ ।’
राई आफैं कोकेमा नलागे पनि ०३५ सालदेखि कोके नेकपा माले बन्न पुग्यो । रातो झण्डाका कार्यकर्ता धमाधम मालेमा प्रवेश गर्न थाले । त्यहीबेला कुमार राई र हिमाल राई कोके प्रवशे गरे । बासु शाक्य पनि उतै लागे । कोके प्रवेश नगर्नेमा सन्तोषी, बम देवान (धरान) र राजेन्द्र चेम्जोङ (मौनाबुधुक, धनकुटा) मात्रे थिए । धनकुटाका मोपाल गुरागाईहरु पनि क्रान्ति चाँडै चाहिएको छ भन्दै उतै लागेको राई बताउँछन् । ‘मलाई गोपाल गुरागाँईहरुले नाकको प्वालमा औंलो घुसार्न खोज्दै भन्थे, तिमी गद्यार हौ ।’ राईको स्मरण छ ।
यसैवीच मञ्जुलहरुको राल्फासँग प्रभावित केटो यमनाथ बराललाई मालेले छिन्ताङ पठाएको र उसले आनन्दसन्तोषी फटाहा हो, भनेर कार्यकर्ता भड्काएको राईको भनाइ छ । ‘बराल काजमा आएको थियो, काज पुरा गर्यो हिँड्यो । त्यो भाडाको मान्छे थियो, जस्तो पनि काम गथ्र्यो ।’ राई सम्झन्छन्- ‘यमनाथ बरालसँग मेरो पछिल्लो भेट ०३६ साल कात्तिकमा कडा भूमिगत अवस्थामा पनि धनकुटा सदरमुकाममै भयो । उसले मलाई तपाई किन छिन्ताङतिर जानुहुन्छ ? बहुदलको सभा गर्नुभयो भने मोसो दलेर टीन झन्ड्याएर डाँडो कटाउँछु भन्यो । मैले मेरै घरमा मलाई मोसो हाल्ने भनेर थर्काएपछि ऊसँग मेरो भेट भएन ।’
कांग्रेस बनेपछि पलाएको दिमाग
‘म यतिबेला कम्युनिष्ट पार्टी संसारमा देख्दिन । लेनिनको पार्टी सामाजिक जनवादी थियो । ०४८ मंसिर १७ गतेसम्म मेरो आँखा खुलेको थिएन ।’ राई भन्छन्-’कम्युनिष्टहरु पवित्र हुन्छन् भनेको त अपवित्र, फोहोरी र काला हुँदा रहेछन् त्यसैले कम्युनिष्टको ब्यानर बोकेर झुक्याउनु हुँदैन भन्ने लागेर मैले कांग्रेस रोजें ।’
तर, कांग्रेसलाई त धनीको पार्टी भन्छन् नि भन्ने प्रश्नमा राई भन्छन्- ‘धनी गरीबको गरिबको पार्टी हो । यसमा गणेशमान पनि थिए, किसुनजी पनि थिए । वीपी र कृष्णप्रसाद कोइरालालाई के भन्ने ? कृष्णप्रसाद भट्टराई मगन्ते हुन् । पहिले कांग्रेस गरिबको पार्टी थियो, फकिरहरुको पार्टी थियो । क्रान्ति गरेपछि उनीहरुसँग दरबार भयो ।’
अनि कांग्रेस जनजाति विरोधी पार्टी होइन ? यो प्रश्नमा राईको दिमागले यसो भन्छ- ‘चार जात ३६ वर्ण पृथ्वीनारायणका पालाको हो, अब १ जात १ वर्ण हुनुपर्छ । अब सुम्निमा, पारुहाङ, मनु सबैका पूर्खा एउटै हो । अब धार्मिक, जातिय विभाजन हटाउनुपर्छ । अहिलेको आइटीको जमानामा १५ औं शताब्दीको जस्तो नाक छामेर राजनीति गर्ने ?’
राईको विचारमा कांग्रेस संघीयता विरोधी पार्टी पनि हैन । ७५ जिल्लालाई नै प्रदेश बनाए पनि हुने उनको तर्क छ । ‘१४ अञ्चलको प्रान्त बनाए हुन्छ । पाँचवटा विकास क्षेत्रलाई मात्रै बनाए पनि हुन्छ । कोशी, गण्डकी कर्णालीको तीनवटा प्रान्त बनाए पनि हुन्छ । त्यहाँभित्रका जातजातिलाई अटोनोमीभित्रको अटोनोमी दिए हुन्छ ।’ राईको भनाइ छ ।
सूर्यबहादुरसँग फेरि चुनाव लड्ने इच्छा
०४३ सालमा जनपक्षीय उमेद्वार बनेर धनकुटामा सूर्यबहादुर थापासँग चुनाव लगेकाराईले फेरि यसपालि धनकुटामा सूर्यबहादुरसँग चुनाव लड्न मन लागेको बताएका छन् । ‘सूर्यबहादुरजीलाई दुईपल्ट हराइयो, दुईपल्ट जिताइयो, यसमा मेरो पनि भूमिमा छ ।’ राई भन्छन्- ‘०५१ र ०५६ मा सूर्यबहादुरलाई हामीले जिताएकै हो । हामी त्यस्तै भूमिकामा बस्यौं ।’
एमालेका गोपाल गुरागाई र एमाओवादीका हरि खेवाले कांग्रेसकै कारण चुनाव जितेको उनको दाबी छ । ‘कांग्रेसकै योगदानले जिताएको हो । सूर्यबहादुरलाई हराउने कष्टमा विगतमा कांग्रेसले टीका भण्डारीलाई उठाइएको हो ।’ राई भन्छन्- ‘अब सूर्यहादुरलाई आवश्यक पर्छ भने माधव नेपाललाई जसरी मनोनयन गरे हुन्छ । तर, के नेपाली कांग्रेस सधैं उहाँको दास हो र हामीले सधैं जिताइदिनुपर्ने ? हामीले विगतमा लगाएको गुन यसपालि उहाँल हारेर तिर्नुपर्छ ।’ cp. onlinekhabar.com
