काठमाडौं, ११ माघ / जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक वृद्धालाई आज लु१ख ९८३९ नम्बरको टिपरले ठक्कर दिएपछि बुटवलमा आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।
घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दै गर्दा तीव्र गतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी ८९ वर्षीय वृद्धा विष्णुकुमारी भट्टराईलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट सख्त घाइते भएकी भट्टराईको उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
टिपरले ठक्कर दिएपछि आक्रोशित समूहले सोही स्थानमै रोकेर आगजनी गरिदिएका थिए ।
आगजनीबाट टिपर पूर्णरुपले क्षति भएको प्रहरीले जनाएको छ ।
सोही क्रममा आक्रोशित समूहले अन्य दुई वटा टिपरसमेत तोडफोड गरी क्षति पुयाइदिएका छन् ।