राजालाई कसैले रोक्न सक्दैन, इण्डियाले नै फर्काउँछ : कोइराला

१८ साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रबारे विभिन्न क्रिया-प्रतिक्रिया आइरहेका बेला पूर्वमन्त्री एवं वीपीपुत्र प्रकाश कोइरालाले नेपालमा अब राजतन्त्रलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ । अब राजतन्त्रलाई भारतले नै फर्काउने कोइरालाको दाबी छ । ‘राजा त यो मुलुकमा आए-आए, अब कसैले रोक्न सक्दैन ।’ अनलाइनखबरसँगको विशेष कुराकानीका क्रममा कोइरालाले भन्नुभयो- ‘हिन्दुस्तानले नचाहेर होइन कि अब राजा हिन्दुस्तानकै लागि बाध्यता भएका छन् ।’
गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विदेशीको एजेन्डा भएको दाबी गर्दै कोइरालाले भन्नुभयो- ‘जुन तत्वले राजालाई फ्याँक्यो, त्यही तत्व र तिनै विदेशीले अब राजालाई लिएर आउँछन् । मुख्यतः इण्डियाले नै लिएर आउँछ, चीनले ठाडै भनिसकेको छ कि नेपालमा मलाई पनि चासो छ ।’
prakash-koirala1
अहिलेका नेताहरुमा भन्दा ज्ञानेन्द्रमा मुलुकप्रतिको प्रतिवद्धता बढी देखेको बताउँदै कोइरालाले अब राजतन्त्र फर्कने कुरालाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । आफूलाई नेपाली कांग्रेसले विनाकारण पार्टीबाट हटाए पनि आफू अहिले पनि कांग्रेस नै रहेको कोइरालाको भनाइ छ ।
एकसाता अघि एमाओवादी नेता डा. बाबुराम भट्टराईले वीपीको राष्ट्रिय मेलमिलापको नीति असफल भएको वीपी बताउनुभएको स्मरण गराउँदा वीपीपुत्र कोइरालाले भट्टराईप्रति असहमति जनाउँदै नेपालमा लोकतन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएकाले यी मध्ये कुनै एउटालाई छुट्यायो भने मुलुक दुर्घटनामा पर्ने बताउनुभयो । ‘वीपी लोकतन्त्रका प्रतीक हुनुहुन्थ्यो, राजा राष्ट्रियताका प्रतीक ।’ उहाँले भन्नुभयो, ‘अहिले लोकतन्त्रलाई मात्रै जोड दिएर राष्ट्रियलाई उपेक्षा गरिएको छ । तर, वीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिकै कारण ०४६ सालमा वीरेन्द्रले लोकतन्त्र दिएका हुन् ।’ अहिले पनि राजा र लोकतन्त्र सँगसँगै अघि बढेमात्रै मुलुकको सार्वभौमिकता जोगिने उहाँको तर्क छ ।
नेपालमा यतिबेला विदेशी हस्तक्षेप बढेको हुनाले परराष्ट्र मन्त्रालयले विदेशी हस्तक्षेप रोक्न विभिन्न दूतावासलाई तत्काल पत्र लेख्नुपर्ने कोइरालाको सुझाव छ । काठमाडौंमा खोलिएको अमेरिकी दूतावास दक्षिण एशियाकै महंगो भएको बताउँदै नेपालमा त्यस्तो शक्तिशाली दूतावास यहाँको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नकै लागि बनाइएको कोइरालाको दाबी छ ।
‘विदेशी हस्तक्षेपलाई रोक्न तत्काल कदम चाल्नुपर्छ । यसका लागि परराष्ट्र मन्त्रालयले दूतावासहरुलाई पत्र लेखेर भन्नुपर्छ कि नेपालको आन्तरिक मामिलामा तिमीहरु हस्तक्षेप नगर ।’ कोइरालाले भन्नुभयो, ‘यो कार्य नेताहरुबाट सम्भव छैन, किनभने यिनीहरुलाई खल्ती भर्ने र दललाई पैसा दिने को हो ? तिनै विदेशी हुन् ।’
तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गठित शाही मन्त्रिमण्डलमा सामेल हुनुभएका पूर्वमन्त्री कोइरालाले त्यसबेला क-कसले प्रधानमन्त्रीका लागि कसरत गरेका थिए भन्ने रहस्यसमेत खोल्नुभएको छ । आफूलाई त्यसबेला तत्कालीन सभामुख तारानाथ रानाभाटले गाडीमा हालेर एमाले नेता केपी ओलीको घरमा पुर्याएको कोइरालाले स्मरण गर्नुभएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...