बाघ बढ्यो भनेर दंग पर्नु पर्दैन

नवराज चापागाईं
यस हप्ता नेपाल सरकारले ‘विश्व बाघ दिवस’ को अवसरमा नेपालमा वयस्क बाघको संख्या (चिडियाखाना बाहेक) १ सय ९८ पुगेको तथ्यांक सार्वजनिक गर्‍यो । सन् २००८/२००९ मा गरिएको गणनामा नेपालमा बाघको संख्या १ सय २१ थियो ।

‘विश्व बाघ पुनर्स्थापना कार्यक्रम’ अन्तर्गत सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या ‘कम्तीमा पनि २५० पुर्‍याउने’ प्रतिबद्दता नेपालले गरेको सन्दर्भमा ४ वर्षमा ७७ वटा बाघ बढ्नु निकै उत्साहप्रद मान्नुपर्छ । विभिन्न निकुन्ज तथा आरक्षमा समयसमयमा बाघको गणना गरिने भए पनि बाघ भेटिने सम्भावना भएका नेपालका सम्पूर्ण क्षेत्रमा एकैपटक गणना गरिएको यो पहिलो पटक हो । यसअघि गरिएका बाघ गणनामा या बाघ भेटिनसक्ने सम्पूर्ण क्षेत्र समेटिएका थिएनन् या फरकफरक वर्षमा गणना गरिएको थियो,जसले गर्दा नेपालमा पाइने बाघको एकमुष्ठ राष्ट्रिय स्तरको तथ्यांक वैज्ञानिक हिसाबले यदाकदा विवादमा आउने समेत गरेको थियो । यसपटकको गणनाले नेपालमा बाघ पाउने सम्भावित जिल्ला रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर तथा मकवानपुर र पाल्पाका दक्षिणी भेगभित्र रहेका सबै राष्ट्रिय निकुन्ज, वन्यजन्तु आरक्ष, मध्यवर्ती क्षेत्र, संरक्षित वन र अन्य वन क्षेत्र समेटेको छ ।
बाघको संख्या कसरी निकालियो ?
बाघ भेटिनसक्ने सम्भाब्य स्थानमा प्रत्येक ४ वर्ग किलोमिटर क्षेत्रमा १ जोडी स्वचालित क्यामेरा लगातार १५ दिनसम्म राखेर सो क्यामेरामा खिचिएका फोटोहरुको विश्लेषण गरी संख्या पत्ता लगाइएको हो ।यस बिधिअनुसार बाघ हिँड्ने बाटोमा बाघको देब्रे र दाहिने दुवैतर्फबाट फोटो खिचिने गरी २ वटा क्यामेरा राखिन्छ । जब बाघ (वा अन्य कुनै जनावर) त्यस ठाउँबाट हिंड्छ, क्यामेरामा भएको सेन्सरले यो पत्ता लगाउँछ र तुरुन्त स्वचालित रुपमै फोटो खिच्छ। यसरी खिचिएका सबै फोटो जम्मा गरिसकेपछि प्रत्येक बाघको शरीरमा हुने पाटाहरु अर्को बाघसँग नमिल्ने हुनाले बाघको शरीरमा भएका पाटाहरुको आधारमा प्रत्येक बाघको फोटो छुट्याइन्छ र कुन बाघ कतिपटक क्यामेरामा पर्‍यो त्यो हिसाब निकालिन्छ; जसको आधारमा वैज्ञानिक सुत्र प्रयोग गरेर त्यो क्षेत्रमा रहेका बाघको संख्या निकालिन्छ । यसरी निकालिएको संख्यामा क्यामेरामा फोटो खिचिएका बाघको अलावा त्यो क्षेत्रमा रहेका तर क्यामेरामा पर्न छुटेका बाघहरुको संख्यासमेत वैज्ञानिक अनुमान गरेर जोडिएको हुन्छ । बाघको बच्चाहरुको मृत्युदर अत्यधिक हुने हुँदा संख्या निकाल्दा बच्चा गणना गरिएको हुदैन । बाघगणना २०१३ को प्रतिबेदनका अनुसार उपरोक्त बिधि प्रयोग गरी यो पटकको गणनामा खिचिएका बाघका ७,६९९ फोटोहरुको विश्लेषणबाट १४२ वटा बाघ पहिचान गरि बाघको लागि उपयुक्त बासस्थान र उक्त १४२ बाघहरुको फोटो खिचेको स्थानको आधारमा बैज्ञानिक सुत्र प्रयोग गरी नेपालमा पाइने बाघको कुल संख्या १९८ निकालिएको हो ।
नेपालमा पाइने बाघको कुल संख्या बढ्नु निश्चय नै उत्साहप्रद छ । तर यही नतिजामा नै दङ्ग परेर बस्ने अवस्था छैन ।
बाघको संख्या किन बढ्यो त ?
सशस्त्र द्वन्द्वको अवस्थामा सुरक्षाको कमीले गर्दा बढेको चोरीशिकारीले गर्दा स्वात्तै घटेको बाघको संख्यामा द्वन्द्वपश्चात पुन: सुरक्षा व्यवस्था सुध्रिएकाले उल्लेख्य सुधार आउन सकेको हो । यसमा बढ्दो जनचेतना र संरक्षण कार्यक्रममा बढ्दो जनसहभागिता अनि नयाँ राष्ट्रिय निकुन्ज स्थापनाको पनि योगदान छ ।
नेपालमा सबैभन्दा धेरै बाघ पाइने क्षेत्र चितवनमा सन् २००९ मा ९१ बाघ थिए तर त्यति बेलाको गणनामा चुरे क्षेत्र समेटिएको थिएन। अर्को बर्ष सन् २०१० मा चुरेसहित गणना गर्दा चितवनमा बाघ को संख्या १२५ थियो भने अहिले १२० भेटिएका छन्। सन् २००९ को तुलनामा बाघको संख्या बढेको देखिए पनि सन् २०१० को तुलनामा संख्या बढेको नभई सन्तुलनमा रहेको मान्नुपर्छ।
बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा सन् २००० मा ४० वटा बाघ थिए, जुन संख्या घटेर सन् २००९ मा १८ पुगेकोमा अहिले बढेर ५० पुगेको छ । शुक्लाफाँटामा सन् २००९ मा ८ बाघ रहेकोमा हाल १७ पुगेका छन्, जबकि सन् २००० मा त्यहाँ २३ वटा बाघ थिए । शुक्लाफाँटामा सन् २००० मा भए बराबरको संख्यामा पुग्न अझै ६ वटा बाघ थपिनु जरुरी छ ।

संरक्षित बन क्षेत्रमा बाघ भेटिएनन्
जैविक बिबिधता संरक्षणका हिसाबले अति महत्वपुर्ण भनि नेपाल सरकारले घोषणा गरेका संरक्षित वन मध्ये बाघको सम्भाब्य क्षेत्रमा ४ वटा संरक्षित वन रहेकामा बर्दियाको खाता संरक्षित वनमा मात्र बाघ भेटिएको छ भने बसन्ता, लालझाडी र बरन्डाभारसंरक्षित वनमा बाघ भेटिएनन्। सरकार लगायत विभिन्न आयोजना र दातृसंस्थाहरुले समेत बाघ लगायतका वन्यजन्तुको जैविक मार्गको रुपमा प्रचार गरी संरक्षणका विभिन्न कार्यक्रमहरु समेत संचालन गरेका अधिकांश संरक्षित वनहरुमा बाघ नभेटिनु सोचनीय छ ।
बाघ त बढे, जनतालाई परेको/पर्नसक्ने मार नि ?
आर्थिक बर्ष २०६८/६९ मा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भएको थियो र २ जना सख्त घाइते भएको सरकारी तथ्यांक छ । मानव-वन्यजन्तु द्वन्द्व कम गर्ने प्रभावकारी कार्यक्रम अभावमा बढ्दो बाघको संख्याले भविष्यमा जंगल वरपर बसोबास गर्ने जनताहरुमा बाघको आक्रमणका घटना बढ्न सक्ने देखिन्छ ।
विगत केही वर्षहरुमा चितवन निकुन्ज बाहिर निस्केका बाघहरुमध्ये अधिकांश अर्ध-वयस्क बाघ हुनुले र सन् २०१० र अहिलेको बाघको संख्या लगभग बराबर हुनुले पनि चितवनमा बाघको संख्या उच्चतम तहमा पुगेको आभास हुन्छ । बाघले जंगलमा आफ्नो क्षेत्र निर्धारण गरी उक्त क्षेत्रभित्र अर्को बाघ बस्न नदिई बाहिर लखेट्ने गर्छन्, तसर्थ जंगलको क्षमताभन्दा बाघ को संख्या धेरै भएमा जंगलमा अफ्नो क्षेत्र ओगट्न नसक्ने बुढा, कमजोर र अर्ध-वयस्क बाघहरु जंगल बाहिर निस्कन बाध्य हुन्छन् र शिकारको लागि घरपालुवा जनावर र मानिसलाई समेत आक्रमण गर्छन् । यस परिप्रेक्ष्यमा बाघको संख्या बढ्दै गएमा विषेशत: चितवनमा बाघको आक्रमणका घटनाहरु बढ्ने निश्चित नै छ । तसर्थ, अबको बाघ संरक्षण रणनीतिले बाघ-मानव बिचको द्वन्द्व न्युनीकरण गर्ने प्रभावकारी उपायमा समेत ध्यान दिनु अत्यावश्यक भैसकेको छ ।
बाघ दोब्बर गर्ने योजना
बाघको संख्या दोब्बर गर्ने भनिए पनि सन् २०२२ मा पुर्‍याउनुपर्ने बाघको संख्याको हकमा आधिकारिक दस्तावेजमा नै कतै ‘कम्तीमा २५०’ भनिएको छ भने कतै ‘लगभग ३१०’ – आफ्नै प्रतिबध्दताप्रति सरकारी गाम्भिर्यको कमीको नमूना । पर्याप्त वैज्ञानिक गृहकार्यबिना नै संख्या तोकिएको भए पनि अहिलेको अवस्थामा हेर्दा चोरीशिकारी नियन्त्रण अझै प्रभावकारी बनाउने र बासस्थानको वैज्ञानिक  ब्यबस्थापन गर्नेतर्फ लाग्ने हो भने २ सय ५० को लक्ष्य पूरा गर्नसक्ने सम्भावना छ ।
चितवनको बाघको संख्या लगभग उच्चतम तहमा पुगेको हुँदा अब चितवनमा बाघको संख्या बढाउन त्यति सजिलो छैन। पर्सा र बाँकेमा बाघको घनत्व निकै कम छ, बासस्थान सुधार (बिशेष गरी सुख्खा क्षेत्रमा पानीको व्यवस्था) गरेर त्यहाँ बाघको आहारा प्रजाति र बाघको संख्या बढाउन सकिने सम्भावना छ । बर्दिया र शुक्लाफाँटाको बाघको घनत्व पनि चितवनको जति पुग्न लागेको हुँदा बर्दिया र शुक्लाफाँटाले चितवनको भन्दा बढी घनत्वमा बाघ थेग्न सक्छ कि सक्दैन भन्ने लेखाजोखा हुनु जरुरी छ ।
बाघको संख्या दोब्बर गर्ने प्रतिबध्दता ब्यक्त गरे लगत्तै नेपाल सरकारले यसका लागि सरकारी कोषबाट नै खर्च व्यहोरेर ‘बाघ संरक्षण बिशेष कार्यक्रम’ सुरु गरेको थियो । तर हाल सो कार्यक्रमलाई विशेष कार्यक्रम नभई सरकारी नियमित कार्यक्रमको ढाँचामा नै पुर्‍याइएको छ, जसले गर्दा सो कार्यक्रमको प्रभावकारिता घटिसकेको छ । त्यस्तै बाघ संरक्षणमा बिशेष उपलब्धि हासिल गर्ने उद्देश्यका साथ बिश्व बैंकको सहयोगमा संचालित ‘वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग अभिबृध्दि’ परियोजना पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन ।
अब के गर्ने ?

चोरीशिकारी को समस्या अझै पनि प्रमुख समस्या हो । बाघको बासस्थान क्षेत्रमा माइकेनिया लगायतका मिचाहा प्रजाति बढ्दै जानु, बाघको आहारा प्रजातिको लागि उपयुक्त घाँसे मैदान घट्दै जानु, पानीका श्रोतहरु सुक्दै जानु अबका दिनका प्रमुख चुनौतीहरु हुन् । संरक्षित वन क्षेत्रमा बाघको अनुपस्थिति गम्भीर बिषय हो, तसर्थ संरक्षित बन क्षेत्रमा संचालित संरक्षण कार्यक्रमहरुको पुनराबलोकन जरुरी छ । यी चुनौती मध्यनजर गर्दै यस बर्षको गणनाको नतिजालाई आधार बनाएर‘बाघ संरक्षण बिशेष कार्यक्रम’ लाई प्रभाबकारी बनाई बाघ संरक्षणमा जुटेका सबै संस्थाहरुको कार्यक्रम र प्राबिधिक तथा आर्थिक स्रोत समुचित उपयोग हुनेगरी एकीकृत रणनीति तथा कार्ययोजना बनाइ लागू गर्नु जरुरी छ ।
– See more at: http://setopati.com/blog/2878/#sthash.yKN1MCo0.dpuf

कमेन्टहरु
Loading...