लेखनाथ अव देखी एकिकृत संपत्ति कर प्रणालीमा

साउन १५÷लेखनाथ/लेखनाथ नगरपालिकाले आर्थिक बर्षको शुरुवातसँगै एकिकृत संपत्तिकर लागु गरेको छ । साउन १ गते देखी अग्रिम संपत्तिकर कार्यान्वयनमा ल्याएको नगरपालिकाले त्यसलाई १५ गते देखी व्यवस्थित गरेको हो । पहिलो करदाता लेखनाथ नगरपालिका वडा नं. १४ सातमुहानेका टिकाराम पंगेनीलाई नगरपालिकाका कार्यकारी अधिृकत जिवन ज्ञवालीले सम्मान समेत गरेका थिए । पंगेनीलाई विहान कार्यालय समय लगत्तै एकिकृत संपत्तिकर वुझाउने पहिलो सेवाग्राहीका रुपमा नगरपालिकाका कार्यकारी अधिकृत ज्ञवालीले सम्मान गरेका हुन । उनले पंगेनीलाई नगरपालिकाले लगाएको एकिकृत सम्पत्तिकर तिरेर नगरविकासका लागि नागरिकको तर्फवाट योगदान दिएको भन्दै सम्मान गरिएको वताए ।
कार्यकारी अधिकृत ज्ञवालीले यसै बर्ष देखी नगरपालिकाले सो कर प्रणाली लागु गरेर नगरबासीहरुमा न्याय भएको समेत उल्लेख गरे । उनले भने—वैज्ञानिक करका रुपमा लिइएको एकिकृत संपत्तिकर प्रणालीलाई देशैभरका ४८ नगरपालिकाले लागु गरीसके हामी ढिलो भयौं ।” तर पनि सफल भएका छौं ।
नगरपालिकामा पहिलो करदाताको रुपमा सम्मान पाएपछि पंगेनीले आफु पनि स्थानीय निकायमा पाँच बर्ष गाविस अध्यक्ष भएर काम गरेको स्मरण गर्दै, स्थानीय निकायहरुले राज्यले निर्दिष्ट गरेको ऐन कानून अनुसार कर लिएर नागरिकलाई सेवा दिनु पर्नेमा जोड दिएका थिए ।

लेखनाथ नगरपालिकामा २०६३ साल देखी एकिकृत सम्पत्तिकरका विषयमा बहस र लागु गर्ने प्रयास भएपनि अहिले नगरवासीहरु सकारात्मक देखिए पछि सफल भएको हो । म आएको ३६ दिन भयो कार्यकारी अधिकृत ज्ञवालीले भने — “यो विचमा धेरैजना सँग सरसल्लाह र सुझाव लियौं कोही पनि करका विरोधी देखिएनन्, त्यसैले सहज भयो ।” ज्ञवालीले नागरिक सरोकार समिति, राजनितिक दल, उद्योगी व्यवसायी र कर्मचारी समेत सकरात्मक देखिएपछि एकिकृत संपत्तिकर प्रणाली लागु गर्न सहज भएको वताए ।

उनले भने —“हामीले २० हजार करदातालाई दायरामा ल्याउँछौं त्यसबाट कम्तीमा पनि एक देखी डेढ करोड राजश्व संकलन हुनसक्छ, त्यो रकम नगरबासीको चाहना अनुसार विकासमा लगाउँछौं ।” साथै ज्ञवालीले कृर्षिमा आश्रीत नगरबासी धेरै भएको उल्लेख गर्दै ८० प्रतिशत जनताले न्यूनतम २५ रुपैया देखी ३ हजार, १० प्रतिशतले तीन हजार देखी १० हजार र बाँकी रहेकाले त्यो भन्दा वढी कर तिर्ने अनुमान रहेको उल्लेख गरे ।


१५ गते मंगलबार मात्रै झण्डै सय जनाले एकिकृत संपत्तिकर तिरेका छन् । दोश्रो दिन संख्या झन बढ्न सक्ने नगरपालिकाले जनाएको छ । करका लागि नगरपालिकाले राजश्व शाखा र जनशक्तिलाई समेत व्यवस्थापन गरेको छ । करदाताको फारम भरिदिने, मुल्यांकन गरिदिने, नागरिकता, लालपुर्जा, नक्सा लगायतको फोटोकपीको सुविधा समेत नगरपालिकाले उपलब्ध गराएको छ ।

कमेन्टहरु
Loading...