कास्की जिल्ला फुटवल संघको अध्यक्षमा गोपीबहादुर भट्राई

साउन १४,पोखरा/कास्की जिल्ला फुटवल संघको अध्यक्षमा गोपीबहादुर भट्टराई निर्विरोध निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न पाँचौ अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा धरमसिंह लामिछाने, कुमार गुरुङ्ग र मिलन गुरुङ्ग निर्वाचित भएका छन् । त्यसैगरि महासचिवमा राजन पौडेल, सचिवमा ओम बस्नेत तथा कोषाध्यक्षमा सुक गुरुङ्ग चयन भएका छन् ।
समितिको सदस्यहरुमा दिपकबहादुर गोदार, रमेश कार्की, महेन्द्र गुरुङ्ग,हिटलर घले,हरि खड्का,सुरेश गुरुङ्ग, रामकृष्ण वाँस्तोला‘गोर्खाली’ र मिलन केसी निर्वाचित भएका छन् । समितिको अध्यक्ष र सदस्य पद निर्विरोध निर्वाचित भएका हुन् भने उपाध्यक्ष पदमा चुनाव भएको थियो । तीन सदस्यका लागि पाँचजनाको नाम परेपछि चुनावबाट निर्णय भएको हो । उपाध्यक्ष पदमा कुमार गुरुङ्ग र मिलन गुरुङ्गले समान १८ मत प्राप्त गरे भने धरमसिंह लामिछानेले १४ मत प्राप्त गरि विजयी भएका हुन् । पराजित केशव थापाले ८ र खेमबहादुर गुरुङ्गले ७ मत प्राप्त गरेका थिए ।
९ जना सदस्यका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेको भएपनि अन्तिम समयमा आएर सैङदल गुरुङ्ग र कुमार सुनारले उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचनमा कास्की जिल्ला फुटवल संघमा आवद्ध विभिन्न २२ क्लवले मतदान गरेका थिए भने निवर्तमान अध्यक्ष समेत रहेका सत्प्रेरणा क्लवका अध्यक्ष खेम गुरुङ्गले मतदान गरेनन् ।
एन्फाको विधान अनुसार नयाँ अध्यक्षले महासचिव र कोषाध्यक्षलाई मनोनित गरेका हुन् भने सोमबारनै बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले कार्यसमिति सदस्य ओम बस्नेतलाई सचिवमा मनोनयन गर्ने निर्णय गरेको हो । वननिर्वाचित अध्यक्ष भट्टराईले संघले सञ्चालन गर्दै आएका राम्रा कार्यलाई निरन्तरता दिने बताउँदै युवाहरुलाई लक्षित गरि नयाँ कार्यक्रमहरु ल्याइने प्रतिवद्धता जाहेर गरेका थिए । साथै उनले अघिल्लो कार्यसमितिलाई धन्यवाद ज्ञापन समेत गरे । साथै उनले सफलताका लागि नयाँ कार्यसमिति विच एकता र विश्वासको खाँचो रहेको औल्याए ।
यसअघि एन्फा केन्द्रिय उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले अधिवेशनको उद्घाटन गर्दै एन्फाले देशैभरिका शाखा मध्ये पनि कास्कीलाई उत्कृष्ट शाखाको रुपमा लिएको बताएका थिए । साथै उनले नयाँ कार्यसमितिले एन्फाको गरिमालाई अझै माथि पु¥याउनमा जोड दिएका थिए । त्यस्तै एन्फाका केन्द्रिय सदस्य गणेशबहादुर भट्टराईले संघले खेलाडी भलाई कोषलाई बृद्धि गर्न, सफल कपलाई अझै सशक्त पार्दै लैजान, महिला फुटवल संघलाई पनि संगसंगै अगाडी लैजान पनि समितिलाई सुझाएका थिए । केन्द्रले पनि मोफसललाई सहयोग गर्नुपर्ने उनको जोड थियो । उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषदका सदस्य खड्कबहादुर रानाभाट, पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्यबहादुर भुजेल, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जिवबहादुर कोइराला, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बद्रिविनोद प्रतिक, महिला फुटवल संघ कास्कीका अध्यक्ष भक्ति गुरुङ्ग लगाएतले अगाडीको कार्यसमितिलाईको योगदानको चर्चा गर्दै नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।
निवर्तमान अध्यक्ष खेम गुरुङ्गले आफ्नों आठ वर्षिया कार्यकालको प्रगति तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । आफ्नों कार्यकालमा विभिन्न आरोह अवरोह आएपनि धैर्यताका साथ निरन्तर काममा लागिरहेको बताउँदै अव आउने कार्यसमितिले एन्फाको गरिमालाई कायमै राख्न सफल हुने विश्वास प्रकट गरेका थिए । अधिवेशन सम्पन्न गर्न एन्फाले यसअघि बरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा तीन सदस्यिय समिति गठन गरेको थियो । समितिको सदस्यमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने र कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकास बराल रहेका थिए ।

कमेन्टहरु
Loading...