पोखराको माटेपानीमा मानसिक अस्पताल सन्चालमा

पोखरा, १२ साउन/पोखराको माटेपानीमा शुक्रबारदेखि मानसिक रोगीको उपचारलाई लक्षित गरी बीजी (बुद्धिसागर–गंगादेवी) हस्पिटल एण्ड रिसर्च सेन्टरले सेवा शुभारम्भ गरेको छ ।
आधुनिक समयसँगै शहरी क्षेत्रका मानिसले तनाव व्यवस्थापन गर्न नसक्दा मानसिक रोगको शिकार हुने गरेको पाइएकाले त्यस्ता बिरामीको सही उपचार र काउन्सिलिङ् प्रदान गर्न सेवा शुरु गरेको हस्पिटलका प्रबन्ध निर्देशक एवं रेडियोलोजिष्ट डा. पुजन शर्मा लामिछानेले जानकारी दिइन् । उनले मानसिक उपचारसम्बन्धी स्तरीय सेवा प्रदान गर्ने बीजी एकमात्र अस्पताल भएको बताइन् । ‘मानसिक रोगको उपचारलाई मूल सेवा दिने उद्देश्यले हस्पिटल सञ्चालन गरेका हौं’ डा. लामिछानेले भनिन् ‘प्रायः अस्पतालहरुमा यस्तो सेवा उपलब्ध हुँदै आएपनि विशेषज्ञ सेवा उपलब्ध गराउँने पश्चिमाञ्चलमै बीजी हस्पिटल पहिलो हो ।
हस्पिटलमा हाल १५ शैय्या रहेको छ । बढ्दो मानसिक रोगीलाई लक्षित गरेको हस्पिटलले उपचारसँगै आवश्यक सल्लाह, सुझावकासाथै रोग अनुकुलको ‘डे केयर’ सेवा उपलब्ध गराउँने हस्पिटलका नशा, स्नायू तथा मानसिक चिकित्सक निर्मल लामिछानेले बताए । बिरामीलाई बिहान अस्पतालमा पु¥याएपछि उसको आफन्तले दिनभर हेरविचार गर्न बस्नुपर्ने झन्झट उनीहरुलाई नपर्ने हस्पिटलले जनाएको छ । हस्पिटलले बिरामीलाई योगासमेत गराउँने व्यवस्था गरेको छ । विशेष नर्सिङ सेवा उपलब्ध गराउँने दाबी गरेको जनाउँदै अस्पतालकी इञ्चार्ज नर्स चन्द्रावती गुरुङ्ले मानसिक बिरामीलाई आवश्यक पर्ने सेवा र सुविधा प्रदान गर्न विशेष समूह तयार रहेको जनाइन् ।
हस्पिटलमा मानसिक उपचारका अलावा अन्तरंग, आपतकालीन, अल्ट्रासोनोग्राफी, मेडिकल ल्याब, फार्मेसी, ईसीजीलगायतका सेवा उपलब्ध छन् । त्यस्तै, आगामी दिनमा हस्पिटलले आवश्यकता अनुसार शैय्या र विशेषज्ञ सेवा थप्दै लैजाने बताएको छ । अस्पतालमा हाल ९ जना चिकित्सक रहेका छन् । जसमा पुजन शर्मा लामिछाने, निर्मल लामिछाने, देवकुमार थापा, राजन शर्मा, लुमेश्वर आचार्य मनोरोग विशेषज्ञ रहेका छन् भने फिजिसियनमा सीबी पुन, कृष्ण थापा, रमेश आचार्य र अनकल डाक्टरमा स्त्रीरोग विशेषज्ञ अनु शेरचन रहेकी छिन् । बिरामीको रेखदेखमा स्तरीय सेवा प्रदान गर्ने उद्देश्य रहेको अस्पतालमा इन्डोर केयर यूनिटसमेत उपलब्ध रहेको छ ।

कमेन्टहरु
Loading...