केटाको हत्या प्रयास असफल भए पछि आत्म हत्या !

रामकृष्ण ज्ञवाली/पोखरा, १२ साउन /विहीबार दिउसोको करिब १२.३० बजेको थियो । पोखराको ड्याम साइड स्थित अशोक गेष्ट हाउसको कोठा नम्बर १०३ बाट एउटा युवा रगताम्य हुँदै निस्कियो । टाउको भरी चोटै चोट, शरिर रगतले मुछिएको । भन्दै थियो–मलाई अस्पताल लैजानुस, मलाई अस्पताल लैजानुस । 
untitledगेष्ट हाउस सञ्चालक अत्तालिए, उनले प्रहरीलाई फोन गर्न थाले । युवा छटपटाइरहेका थिए, ट्याक्सी ट्याक्सी भन्दै थिए । गेष्ट हाउस सञ्चालक भने –प्रहरी केस हो, पहिले प्रहरी आउनु पर्छ भन्दै थिए । प्रहरी आयो पनि, घाइतेलाई तत्कालै अस्पताल पुर्यायो । प्रहरीको अर्को टोलीले युवा घाइते भएर निस्केको कोठा नम्बर १०३ छापा मार्ने प्रयत्न गर्यो ।
कोठा भित्रैबाट बन्द थियो । जति ढक ढक्याउदा पनि खुलेन । अनि प्रहरीले घरको पछिल्तिरको झ्यालमा गएर कोठा भित्र हेर्दा त एउटी युवती सिलिङ्ग पंखामा झुण्डिरहेको देख्यो । तत्काल ढोका फोरेर कोठा भित्र प्रहरी पुग्दा युवतीको ज्यान गैसकेको थियो ।
घटनास्थलबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ, रगतले लत्पतिएको । यसबाट के देखिन्छ भने युवा माथि त्यही खुकुरी प्रहार गरिएको थियो । कोठामा युवा युवती बाहेक अरु कोही थिएन । युवतीको शरिरमा चोट छैन, यसले पुष्टी गर्छ युवा माथि तिनै युवतीले खुकुरी प्रहार गरिन, तर पनि युवा कोठाबाट भाग्न सफल भए । प्रहरीको प्रारम्भिक अनुमान अनुसार त्यसपछि युवतीले कोठाको चुक्कुल लगाइन र झुण्डिएर आत्म हत्या गरिन् ।
मृतक युवती जम्मा १९ बर्षकी हुन भने युवा २० बर्षका । तनहुँ दुलेगौडा स्थित एक्लेखेतकी १९ बर्षीय रुपा मगर कक्षा १२ मा अध्ययनरत थिइन । भने स्याङ्जा बिचारी चौताराका २० बर्षीय त्रिलोचन शर्मा पोखरा मै जनप्रिय उच्च माविमा प्लस टु अध्ययनरत छन् ।आखिर के चाहान्थिन रुपा ? कास्की प्रहरी अनुसन्धानमा जुटेको छ । “किन यस्तो घटना भयो ? अनुसन्धान गर्दैछौं ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले भने ।
ती दुई युवा युवती करिब १२ बजे तिर होटलमा पुगेका थिए । होटल धनीले दिएको बयानका आधारमा डिएसपी सन्तोषले बताए अनुसार करिब १० मिनेट बाहिर बसेर दुवै जनाले चिसो पिए र होटल धनीसंग सस्तो कोठा दिन आग्रह गरे । त्यस लगत्तै कोठा नम्बर १०३ मा पसे ।  घटनाको पूर्ण विवरण संकलन गर्न कास्की प्रहरीले अझै सकेको छैन । टाउकोमा चार वटा र घाटीमा समेत चोट लागेका त्रिलोचन मणिपाल शिक्षण अस्पतालको आइसियुमा उपचाररत छन् । “पूर्ण होशमा छैनन, यस्तो अवस्थामा उनीसंग बयान लिने कुरा भएन, पूर्ण होशमा आउनासाथ बयान लिन्छौं त्यसपछि रहस्य सबै खुल्छन् ।’ डिएसपी सन्तोषले भने ।
यद्यपी प्रहरीले घाइते त्रिलोचनसंग मौकाको बयान भने लिएको थियो । त्यस क्रममा त्रिलोचनले रुपाले आफुलाई खुकुरी हानेर हत्या गर्ने प्रयास गरेको बयान दिएका छन् ।
“मलाई आँखा चिम्ल त्रिलोचन, तिमीलाई विशेष उपचार ल्याई दिएकी छु हातमा राखिदिन्छु भन्दै आँखा चिम्लन लगाईन ।’ त्रिलोचनले मौकाको बयानमा भनेका छन्–“म आँखा चिम्लेर हात थापेरै बसेको थिए, खुकुरीले टाउकैमा हान्न थालिन ।’
“मौकाको बयान र प्रारम्भिक अनुसन्धानबाट युवतीले नै हत्या गर्ने षडयन्त्र रचेको देखिन्छ ।’ डिएसपी सन्तोषले भने–“घाइते युवा फुत्केर बाहिर निस्के पछि रुपाले चुक्कुल लगाएर झुण्डिएकी छन् । उनको गल्ती थिएन भने झुण्डिनु पर्ने आवश्यकता थिएन ।’ खुकुरी पनि युवतीले नै लगेको अनुमान प्रहरीले गरेको छ ।
“फेरि एउटा होटलको कोठा भित्र दिउसै हत्या गरेर सजिलै भाग्न सक्ने अवस्था पनि थिएन, यस्तो काँचो निर्णय उनले कसरी र किन गरिन ?’ कास्की प्रहरी पनि अचम्ममा परेको छ ।
प्रहरीले उनीहरुबीच प्रेम सम्बन्ध भएको हुन सक्ने आशंका पनि गरेको छ । श्रोतका अनुसार त्रिलोचन रुपालाई भेट्न कहिले काँही कोत्रेसम्म पनि जाने गर्दथे । “त्रिलोचनको बयान पछि धेरै कुरा थाहा लाग्छ ।’ डिएसपी सन्तोषले भने ।

कमेन्टहरु
Loading...