चितवन , २६ मंसिर यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीनजनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेलापरेका हुन् । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार बेपत्ता भएका अर्घाखाँची, सन्धिखर्क–९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैंडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेलापरेको हो ।
कार्की र थापाको शव घटनास्थलबाट केही तल तथा रेग्मीको शव मुग्लिनबाट नारायणगढतर्फ कालीखोला किनारमा फेलापरेको हो । दुर्घटनामा सातजना बेपत्ता भनिएकामा यसअघि सनाखत गरिएको भनिएका अमरबहादुर शाही नभइ नवराज बञ्जाडे रहेको प्रहरीले जनाएको छ ।
परिवारको निवेदनका आधारमा प्रहरीले बञ्जाडेसहित सातजना बेपत्ता भन्दै आएको थियो । बञ्जाडेका साथमा शाहीको परिचयपत्र भेटिएपछि सोही आधारमा सनाखत भनिएपनि सनाखत भएका व्यक्ति शाही नभएर बञ्जाडे भएको प्रहरीले जनाएको छ ।