कोईरालाको कसका जन्ती आए ? बजारमा

पोखरा, ११ साउन/लोकगायिका प्राज्ञ हरिदेवी कोईरालाको बालगीत संग्रह ‘कसका जन्ती आए ? बजारमा आएको छ । उनको यो आठौ प्रकाशित कृति हो । संग्रहमा ३४ गीत रहेका छन् । गीतप्रति बालबालिकालाई अभिरुचि जगाउन गीतसँग सम्बन्धित चित्रहरु पनि समावेश गरिएको छ ।
कलाकार पदम घालेको सुन्दर आवरण रहेको संग्रहको प्रकाशन रामबहादुर कोईराला र सम्पादन डा. यामबहादुर पौडेल क्षेत्रीले गरेका छन् । समालोचक रामबाबु सुवेदीले बालगीतलाई प्रभावकारी बनाउन चाहिने चित्र, संगीत र गायनको आवश्यक पर्ने र तीनै पक्षमा संग्रह सबल रहेको बताए ।
संग्रहमा बालवालिकालाई रोगविरुद्ध चेतना दिने, सरसफाई, देशभक्ति, अनुशासन र नैतिकताको शिक्षा प्रदान गर्ने खालका गीतहरु छन् । गीतकार कोईराला भन्छिन्–‘मैले यस कृतिमा बालबालिकाको मनोभावना र मनोविज्ञानसँग रमाउने एउटा सुक्ष्म प्रयास गरेकी छु ।’
हाल नेपाल संगीत नाट्या प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सभासद रहेकी कोईराला दर्जनौ साहित्यिक र सांगीतिक संघ–संस्थाहरुमा आबद्ध छिन् । उनका लोक तथा दोहोरी गीतका ८१ एल्बम, दुई दर्जन भिसिडी र रेडियो नेपालमा दुई सय जति गीत रेकर्ड भईसकेका छन् ।
 

कमेन्टहरु
Loading...