आलमोण्ड खेतीमा लगानी गरे नाफा नै नाफा

पोखरा,११ साउन । पोखरामा ब्यवसायीक रुपले आलमोण्ड ( हाडेबदाम) खेती सुरु हुने भएको छ । आउँदो असोज÷कार्तिकबाट कास्कीको ल्वाङ घलेले गाविस–४, कोलेलीमा रहेको १ हजार रोपनी क्षेत्रफलमा आलमोण्डको ब्यवसायीक खेती गर्ने तयारी भएको हो । १५ सय मिटरभन्दा बढीको उचाइमा आलमोण्डको खेती हुन्छ । आरु प्रजातिको यो फलको अहिले बजार मूल्य एक किलोग्रामको ८ सयभन्दा बढी रहेको छ । वर्षेनी नेपालमा करीब ३० करोडको आलमोण्ड आयात हुने गरेको अनुमान गरिएको छ । आरु फुल्ने समयमा नै फूल्ने यो फल पाक्न भने पाँच महिना लाग्छ ।
नेपालको केही ठाउँमा आलमोण्डको बोट रहे पनि ब्यवसायीक रुपले नै खेती गर्न थालिएको भने यो पहिलो हो । कृषिलाई ब्यवसायीकरण गर्ने सिलसिलामा पोखरा उद्योग बाणिज्य संघले आलमोण्ड खेतीका लागि बृहत आलमोण्ड उद्योग स्थापनाको पहललाई सघाएको संघका अध्यक्ष संजिवबहादुर कोइरालाले जानकारी दिए । उनले व्यक्तिगतरुपले १ लाखको सेयर सदस्य लिने घोषणा पनि गरे । आलमोण्ड उद्योगको संचालन भने स्थानीय मर्दीखोला कृषि सहकारी संस्थाले गर्ने छ । संस्थाले आलमण्ड अध्ययन समूहसँग सहकार्य गरी भारतको कास्मिर क्षेत्रमा भएका आलमोण्ड फार्महरु तथा अनुसन्धान केन्द्रहरुको अवलोकन भ्रमण पनि गरेको छ ।
ल्वाङ घलेलेको माटो परिक्षण गराउँदा आलमोण्ड खेतीको लागि उपयुक्त देखिएको आलमोण्ड अध्ययन समूहका सदस्य सुन्दर अधिकारीले जानकारी दिए । उनका अनुसार आलमोण्डको विरुवाहरु भारतबाट ल्याउने पहल भएको छ । विरुवा सारेको ४ वर्षपछि नै फल्न थाल्ने आलमोण्ड बोटको आयू ४० वर्षको हुन्छ । एक रोपनी क्षेत्रफलमा ४० हजारभन्दा बढी विरुवा रोप्न सकिने आलमोण्डको एक बोटले सरदर ८ किलोग्राम उत्पादन दिन्छ । आलमोण्ड खेतीको लागि आवश्यक पर्ने जग्गा दिन ल्वाङ घलेल–४ कोलेलीका बासिन्दा तयार भएको र उनीहरुलाई जग्गा दिएकै आधारमा सेयर सदस्य दिइने मर्दी हिमाल सहकारी संस्थाका सदस्य वीरबहादुर कार्कीले जानकारी दिए ।
आलमोण्ड फार्म संचालनको लागि आवश्यक पर्ने झण्डै ९ करोड रकम सेयर सदस्यहरुबाट उठाइने उनले जनाए । रोपेको ४ वर्षपछि नै उत्पादन दिन थाल्ने भएकोले लगानीकर्ताले त्यही वर्षबाट प्रतिफल पाउने र छैटौँ वर्षमा ६१ दशमलव २६ प्रतिशत लगानी फिर्ता भई सक्ने उनको दावी थियो । मर्दी हिमाल कृषि सहकारी संस्थाका आलमोण्ड खेती संयोजक कुशुमकेशव पराजुलीका अनुसार आलमोण्ड उद्योगमा लगानी गर्नेहरुका लागि सेयर सदस्यदता वितरण समेत सुरु भई सकेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिए । एक जनाले १ लाखदेखि बढीमा २५ लाख रुपैयाँ बराबरको सेयर किन्न सक्ने उनको भनाई थियो ।

कमेन्टहरु
Loading...