रोजगारीका लागि दैनिक १६ सय नेपाली विदेशिन थाले

११ साउन, काठमाण्डौ । दैनिक १ हजार ६ सय नेपाली युवायुवती रोजगारीका लागि तेस्रो मुलुक जाने गरेको पाइएको छ । यो तथ्यांकले नेपाली युवाहरुको बढ्दो विदेश पलायनलाई छर्लंग पारेको छ । गत आर्थिक वर्षमा ६ लाख १६ हजार ४ सय ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो अवधिमा दैनिक सरदर १ हजार ६ सय नेपालीले वैदेशिक रोजगारीका लागि विभागबाट अनुमति पाएका छन् ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो आर्थिक वर्षभन्दा करिब ३७ प्रतिशतले वृद्धि हुनुमा पुनः प्रवेशको तथ्याङको पनि भूमिका छ । सरकारले गत वर्षदेखि घर बिदामा फर्किएर जानेहरुको रेकर्ड राख्न थालेको थियो ।
यो अवधिमा १ लाख ६२ हजार ९ सय ५४ जना नेपाली दोस्रो पटक वैदेशिक रोजगारीमा गएका छन् भने ४ लाख ५३ हजार ५ सय ४३ जना पहिलो पटक रोजागारीको खोजीमा विदेशिएका हुन् । पहिलो पटक विदेश जानेको संख्या अघिल्लो वर्षको तुलनामा १७ दशमलव ९० प्रतिशतले मात्र बढेको छ ।
सबैभन्दा धेरै मलेसियामा
यो अवधिमा सबैभन्दा बढी नेपाली कामदार रोजागारीको खोजीमा मलेसिया गएका छन् । विभागका अनुसार गत वर्ष १ लाख ५६ हजार ७ सय ७० जना नेपाली रोजगारीका लागि मलेसिया गएका छन् ।country-wise अघिल्लो वर्ष मलेसिया जाने नेपालीको संख्या ९८ हजार ३ सय ६७ थियो । एक वर्षकै अवधिमा मलेसिया जाने नेपाली कामदारको संख्या ६० प्रतिशतले बढ्नुमा इन्डोनेसिया, म्यानमार र बंगलादेशजस्ता ठूला स्रोत मुलुकबाट मलेसियामा कामदार आउन कम हुनु मुख्य कारण रहेको वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन् ।
मलेसियाले करिव चार वर्षदेखि बंगलादेशबाट कामदार लिन रोकेको छ । हालै सरकारीस्तरबाट बंगलादेशी कामदार ल्याउने प्रयास भए पनि निजी क्षेत्रको विरोधका कारण त्यो सफल हुन सकेको छैन । जसको फाइदा नेपाली कामदारहरुले लिएका छन् । यो अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामध्ये ३४ दशमलव ५६ प्रतिशत हिस्सा मलेसियाको रहेको छ ।
तथ्यांकअनुसार यो अवधिमा कतारमा ९० हजार ९ सय ३५, साउदी अरवमा ८६ हजार २ सय ७६, युएईमा ५२ हजार २ सय ९५ र कुवेतमा १४ हजार ४ सय १ जना नेपाली गएका छन् ।
मलेसियामा बढ्दैछन् महिला
यो अवधिमा मलेसियामा ७ हजार १ सय ६५ नेपाली महिला कामदारको पुगेको देखिन्छ । मलेसियामा नेपाली महिलालाई घरायसी काम गर्न अनुमति नभएका कारण त्यहाँ संगठित उद्योग रप्लान्टेसन क्षेत्रमा नेपाली महिला कामदारहरु गइरहेका छन् ।women-country-wise
यो अवधिमा युएईमा सवैभन्दा बढी ७ हजार ६ सय ८७, कुवेतमा ५ हजार ९ सय ८२ र ओमानमा ६ सय ४७ महिला कामदार पुगेका छन् । यस अवधिमा इजरायलमा जम्मा दुई नेपाली महिला कामदार पुगेका छन् भने लेबनानमा १ सय ६० जना पुगेका छन् ।
व्यक्तिगत श्रम स्वीकृति घट्दो
सरकारले वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि ल्याएको ३० बुँदे सुधार कार्यक्रमको प्रभावस्वरुप पछिल्लो आर्थिक वर्षमा व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । म्यानपावरले नै व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउने प्रबृत्ति निरुत्साहित भएको देखिएको छ । यो अवधिमा ५४ हजार ६ सय १९ नेपाली कामदार व्यक्तिगत श्रम स्वीकृतिमा गएका छन् भने संस्थागत तवरले जानेको संख्या ३ लाख ९८ हजार ९ सय २४ रहेको छ ।
धेरै कामदार पठाउने म्यानपावरहरु
यो अवधिमा एसओएस म्यानपावरले सबैभन्दा धेरै अर्थात ७ हजार ५ सय ३६ नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको छ । द रिभर ओभरसिजबाट ६ हजार ४ सय ९, लक्की एचआरबाट ४ हजार ३ सय २७, धनुष इन्टरनेशनलबाट ४ हजार ७८ र कोसी म्यानपावरबाट ४ हजार ७२ नेपाली कामदार विदेश गएका छन् । cp. onlinekhabar.commanpower

कमेन्टहरु
Loading...